१०-१६ साउन २०७२ | 26 July - 1 Aug

म टट्टु हुन्नँ!

Share:
  
- महेश थापा
सुनिजान्ने भएयता बूढापाकाले एकोहोरो सुनाएका थिए– हिनामी हुने रहर भए नेता बन्नू।

भानु भट्टराई
उसो त, नाम हुनेकै बद्नाम र गाँठवालाकै दिवालिया निस्किने हो, हामी जस्ता फाँकिमारालाई न नामको सुर्ता न कंगालीको डर! फेरि, नेतागिरीप्रति घनघोर लगाव भएको म जस्तो समर्पितले बूढाहरूको कुरालाई भाउ दिने कुरा पनि भएन। ट्यूसनका भरमा उम्दा नेता जन्मने'भे काठमाडौंका गल्लीहरूमा मन्डेला, गान्धी, विस्मार्कहरू लुँडो खेलिरहेका भेटिन्थे भन्ने कुरामा यथोचित ध्यान र गुरुको महत्तालाई उच्च महत्व दिंदै सफल नेताको वाञ्छनीय योग्यता हासिल गर्न लागें, ट्यूसन सेन्टरतिर।

गोजीको गर्मी अनुसार ट्यूसन सेन्टरमा छाँटछाँटका गुरु घन्टालहरू भेटिए'नि सुयोग्यको सान्निध्य पाउनु समुद्रमा मोती भेट्नु बराबर हुने रहेछ। तीमध्येका दाह्रीवाललाई गुहारें, “घच्चीको नेता बन्ने गुर सिकाइदिनुस्, प्रभु!”

“नेपालामा नेता भनेको सर्वज्ञ हुन्छ! अरूलाई गुरु थाप्नेले गरिखाँदैन।”

सम्भावित गुरुले भाउ नदिने दाउ देखाए, तर मैले उनको यही निरपेक्ष भावमा खुबीलिटीको गन्ध पाइहालें। अर्को सेकेन्डमा यो उँचो शिर उनको चरणागत हुन पुगेछ।

“तिमीलाई अचेल चिलाउने, सकसकाउने गर्छ कि गर्दैन?” गुरुको धोद्रो किंचित कर्कश थियो।

लुतो फाल्ने संक्रान्ति भर्खरै मनाएको अवस्थामा गुरुजीको प्रश्नमा हल्का गोक्तेपन पनि महसूस भयो। पुराना चर्मरोगी परेछन् कि क्या! उनीसँगको दूरी केही फराकिलो पार्दै भनें, “सबै खाले लुतेरियाबाट सर्वथा मुक्त छु, गुरुवर!”

“अर्कै पेशा खोज”, गुरुजीले ओठ लेप्य्राए, “अहिले पनि खुजली नहुने तिमी नेता बन्दैनौ।”

“नचिलाई नहुने विशेष के छ अहिले?”

“अहिले खुजली पर्व चल्दै छैन त?”

हो त नि! सुकेलुतोको सक्सक् खप्न नसकेका छोटे नेताहरू मध्यरातमा लैनचौर पुगी लडीबुडी गरेको भर्खरै हो। छिप्पट छालावाला बड्केहरू उपचार गराउन दिल्ली दरबारमा लस्कर लागेको धरी हेक्का नहुने तँ बन्लास् नेता, मैले आफैंलाई लप्पु ख्वाएँ।

महत्वपूर्ण राजनीतिक यज्ञ/अनुष्ठानको उद्घाटन र साङ्गे गर्नुअघि नेपाली नेताहरू दक्षिणायन हुने परम्परा नै छ। यस्तो मौकामा हाजिरी बजाउने उखरमाउलो नपलाए नेता नहोइने गुरुवाणीले मेरो घैंटामा झ्लमल्ल घाम लाग्न खोज्यो।
“हाम्रा नेताहरू यज्ञादि कर्म जान्दैनन् कि बीचमै मन्त्र भुत्ते भएर कान फुकाउन हिंड्छन्?” मैले जान्न खोजें।

“किन नजान्नु, भलिभाँती जान्दछन्, विधि/प्रक्रिया”, गुरुले खुलाए, “तर, हलकारा मतिले वशीभूत हुँदा आत्मविश्वास झिरिप् भएर आफूलाई बिर्सेर फेरी लाउन भौंतारिन्छन्। लौ भन, तिमी घोपाक्याम्पमा रम्न सक्छौ?”

रिकुटे भर्ती गर्न ब्रिटिशहरूले खोलेको सुविधासम्पन्न र रमणीय क्याम्पको सम्झ्नाले मेरो आँत हरहरायो। फुरुङ्गिदै सोधें, “धरानको घोपाक्याम्प दिल्लीमा सर्‍या हो र?”

“रिकुटेहरूले आफैं बन्दूक हान्छन्, नेताहरूले नाल अड्याउने काँध दिने हुँदा रिकुटे नेता भनम्!”

“क्याम्पमा के जादू गर्छन्?”

“मन्त्र फुकेर पठाउँछन्”, दाह्री मुसार्दै गुरु बोले, “फलदायी मन्त्रबाट दीक्षित हुनेहरू साँढे बन्छन्, बाँकी चाहिं स्याल झैं लस्याक्लुसुक गर्ने हुन्छन्।” ऐनवक्त हाम्रो ध्यान टीभीको भाँडोमा चल्या हल्लाले तान्यो। भर्खरै क्याम्पबाट फिरेका एक नेताजी स्त्रि्कनमा देखिए।

“देशमा जनताको राय बुझन छाडी छिमेकीको समर्थन बटुल्न बरालिनुभो, संविधान नेपालीको लागि बनाउने कि विदेशी महाजनको लागि, नेताज्यू?” पत्रकारहरूले सोधे।

“भोट दिएर जनताले हामीलाई कर्ताधर्ता बनाएकै हुन्, त्यसमाथि विघ्नहर्ताको आशीर्वाद थाप्नु अनिवार्य भएको स्थिति हो”, नेताजीले आङ मर्काए, “फेरि, लिपुलेकबारे 'कन्सर्न' राखेको हुँदा धेरै प्रश्न नसोधियोस्।”

“हाम्रो भूमि फर्काउने भए त?”

“प्रभुको कानमा खासै बतास लागे जस्तो लागेन!”

“दोहोर्‍याएर 'कन्सर्न' राख्ने हुती देखाउनुभएन?”

“तौवा–तौवा!” नेताजीले जिब्रो निकाले।

नेता भनेको त अरबी घोडा जस्तो हुन्छ– देशको लागि दौड जित्ने। विदेशीको खबरीलाल बनेर देशभित्र हिनहिनाउने त टट्टु पो हुन्छ। मैले प्रण गरें– आमाले भनेको जस्तो डाक्टर हुन्नँ, बुबाले चाहे जस्तो इन्जिनियर पनि बन्दिनँ। नेतै बन्छु, तर टट्टु जस्तो नभई अरबी घोडा जस्तो!

comments powered by Disqus

रमझम