१०-१६ साउन २०७२ | 26 July - 1 Aug

जैविक विविधतामाथि भूकम्पको प्रहार

Share:
  
- डा. तीर्थबहादुर श्रेष्ठ
महाभूकम्पले यहाँको जैविक विविधता माथि पारेको राष्ट्रिय क्षतिको गणना गर्न ढिला भइसकेको छ।

भूकम्पमा परेको रोल्वालिङ उपत्यकाको यो सुन्दर पुष्प मेकोनोप्सिस ध्वजीई नेपाल बाहिर कहीं पाइँदैन।
तीन महीना पुग्न लागिसक्दा पनि १२ वैशाखको महाभूकम्पका परकम्पन आउने क्रम जारी छ। दुःख, कष्ट र त्रासका बीच मान्छेले मान्छेलाई गर्ने सहयोगको सिलसिला चल्दैछ। मान्छेले अरू प्राणीप्रति समवेदना प्रकट गरिरहेको अवस्था भने छैन। तर, मान्छे मात्र बाँचेर वा बचेर यो पृथ्वी चल्दैन। जलचर, स्थलचर र नभचर सबै प्राणी र वन वनस्पतिले पनि बाँच्नुपर्छ। महाभूकम्पले हाम्रा ती प्राकृतिक सम्पदाको पनि विनाश गरेको छ।

भूकम्पको विनाश मूल्यांकन गर्दा जैविक विविधताको मूल्यांकनतर्फ हाम्रो ध्यान पुग्नसकेको छैन। अब विलम्ब नगरौं। यसपालिको महाभूकम्पबाट मनास्लु र गौरीशंकर संरक्षण क्षेत्र नराम्रोसँग प्रभावित भएका छन्। लाङटाङ राष्ट्रिय निकुञ्ज पनि क्षतिग्रस्त छ। यी क्षेत्रहरूको क्षति मूल्यांकन र पुनर्स्थापनाबारे आवश्यक कदम चालिएको छैन। मानवीय संवेदनशीलताको यो कमजोर पक्ष हामीले हटाउन सक्नुपर्छ।

राष्ट्रिय योजना आयोगको नेतृत्व र संयोजकत्वमा २५० सरकारी कर्मचारी एवं विशेषज्ञ तथा विभिन्न विकास साझेदारी संघ–संस्था समेतबाट क्षति र पुनर्स्थापनाको लेखाजोखा गरेर ६–७ खर्ब रुपैयाँको स्रोत जुटाउन अन्तर्राष्ट्रिय दाता सम्मेलन समेत सम्पन्न भइसक्यो। तर, प्राकृतिक सम्पदातर्फ रत्तिभर पनि ध्यान पुगेको देखिएन।

अन्नपूर्ण संरक्षण क्षेत्र सुरक्षित छ भनी पर्यटकहरूलाई आमन्त्रण गर्न व्यापक प्रचारप्रसार हुँदै गर्दा भूकम्पको केन्द्रबिन्दु समेत पर्न गएको सँगैको मनास्लु संरक्षण क्षेत्रबारे राष्ट्रिय प्रकृति संरक्षण कोष मौन छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पनि बाघ, गैंडा र डलर गन्ने काम सँगसँगै भूकम्पको प्रभाव मूल्यांकनतर्फ पनि लाग्नुपर्ने अवस्था छ। हाम्रो अमूल्य राष्ट्रिय सम्पदामा बाघ, गैंडा, हात्ती मात्र हैन मुसा पनि पर्न आउँछ।

गोर्खे मुसोको हालखबर

भूकम्पग्रस्त गोरखामा एउटा यस्तो मुसा प्रजाति छ, जुन नेपाल भन्दा बाहिरको विश्वमा पाइँदैन। हाब्रे, हिउँचितुवा अरू देशमा पनि पाइन्छन् तर गोर्खे मुसाको कथा–व्यथा वेग्लै छ। यो वन मुसाको वैज्ञानिक नामै पनि 'एपोडिमस गोर्खा' हो। नेपालमा पाइने १८१ प्रजातिका स्तनधारी प्राणीमध्ये स्थानीय प्रजाति यही एउटा गोर्खे मुसो हो।

प्राणीशास्त्रीहरूका अनुसार मुसा प्रजाति भूकम्प सूचक प्राणी हुन्। आजभन्दा दुई हजार ३८८ वर्ष पहिले ग्रीसमा विनाशकारी महाभूकम्प जानुभन्दा पाँच दिनअघि नै हेलेकी शहरबाट मुसाहरू भाग्न थालिसकेका थिए भन्ने कथन छ। यो वर्ष नेपालको महाभूकम्पमा पनि गोर्खे मुसाहरू निश्चय नै भागे होलान्। तिनका र तिनीहरूको बासस्थानको अवस्था के भएको होला? अब त चासो दिने कि!

डा. तीर्थबहादुर श्रेष्ठ
लाङटाङ सल्ला (लैरिक्स हिमालैका) यो तस्वीर लिंदासम्म सन् १९६६ मा यसको नामकरण पनि भएको थिएन। यो सल्लाको बासस्थान क्षेत्र गोरखा, रसुवा र सिमानापारिको केरुङभन्दा बाहिर अन्यत्र पाइँदैन।
महाभूकम्प प्रभावित उत्तरी गोरखा, लाङटाङ उपत्यका र त्यस आसपासको तिब्बती सीमा क्षेत्रमा मात्र पाइने स्थानीय सल्ला (लैरिक्स हिमालैका) को अवस्थाबारे पनि जान्ने केही काम भएको छैन। रसुवाका १२ हजार ८०० मध्ये ९० प्रतिशत घरधुरी क्षतिग्रस्त भए। लाङटाङको हिमपहिरोले वन, बस्ती र खर्क पुरिदियो, जसमा १७५ स्थानीय मानिस र १०० भन्दा बढी पर्यटक तथा पथप्रदर्शक परे। महाभूकम्पपछि लाङटाङ लिरुङ शिखरको भौगोलिक अवस्थितिमा फेरबदल भएको अनुमान गरिएको छ। यस्तो बृहत् प्रभाव परेको अवस्थामा दुर्लभ पशुपक्षी र वन–वनस्पतिबारे पनि चिन्ता लिनु मानवीय धर्म हो।

लाङटाङमा नेपाल बाहिर कहीं नपाइने दर्जनौं जडीबुटी–बिरुवा छन्, तिनको लेखाजोखा हुनुपर्छ। नेपालमा मात्र पाइने गुराँसका दुई प्रजातिमध्ये 'रोडोडे्रन्डन कोवानियानम' लाङटाङकै रैथाने हो। त्यही लेकमा पाइने विशेष प्रकारको घाँस 'पोवा लाङटाङ जेन्सिस' पनि नेपाल बाहिर कतै पाइँदैन। यी लगायतका एक दर्जन जति वनस्पति रसुवा क्षेत्रमा मात्र पाइन्छन्। तिनको हालखबर बुझनु हाम्रो कर्तव्य हो।

रसुवाको लाङटाङ राष्ट्रिय निकुञ्ज हाब्रे (रेड पाण्डा) को विशेष बासस्थान हो। कस्तूरी मृग लगायत दुर्लभ स्तनधारी वन्यजन्तुहरूको पनि बासस्थान रहेको यो निकुञ्जको अर्को विशेषता हो– चराहरूको बाहुल्य। यहाँ ३४५ प्रजातिका पक्षी छन्। हाम्रा यी अमूल्य जैविक विविधताको क्षति मूल्यांकनमा पनि ध्यान पुगोस्। यो वर्षको सबभन्दा बढी मानवीय क्षति भएको जिल्ला सिन्धुपाल्चोक हो। त्यहाँ ३ हजार ५३२ व्यक्तिले ज्यान गुमाए। त्यस्तै, रामेछाप र दोलखा पनि अति प्रभावित जिल्ला हुन्। सिन्धुपाल्चोक, रामेछाप र दोलखाका २२ गाविस समेटेर बनाइएको गौरीशंकर संरक्षण क्षेत्रमा ३४ प्रजातिका स्तनधारी वन्यजन्तु र २३५ प्रजातिका चरा छन्। यस संरक्षण क्षेत्रको व्यवस्थापन गर्ने जिम्मा पाएको राष्ट्रिय प्रकृति संरक्षण कोषबाट यहाँको जैविक विविधताको शीघ्र मूल्यांकन अपेक्षा गर्न सकिन्छ।

वनस्पति वैभवको दृष्टिले गौरीशंकर संरक्षण क्षेत्र विशिष्ट कोटिमा पर्न आउँछ। ८५ वर्षअघि सन् १९३० मा क्याप्टेन लाल ध्वजले ब्रिटिश म्यूजियमका लागि संकलन गरेका बिरुवामध्ये पहेंलो फूल फुल्ने सुन्दर लेकाली पुष्पले 'मेकोनोप्सिस ध्वजीई' भन्ने ध्वजप्रति नै समर्पित वैज्ञानिक नाम पाएको छ। यो बिरुवा पनि नेपाल बाहिर पाइँदैन र गौरीशंकर संरक्षण क्षेत्रमा केन्द्रित थुप्रै वनस्पति पत्ता लागेका छन्। तीमध्ये 'सौसुरिया रोल्वालिङ्जेन्सिस्', 'स्याक्सिफ्रागा रोल्वालिङ्जेन्सिस्', डा. समरबहादुर मल्लको नाम पाएको 'स्याक्सिफ्रागा मल्ली' र यस पंक्तिकारको नामको 'चामिसियम श्रेष्ठियानम' उल्लेख्य छन्।

लगभग १० प्रजातिका पुष्प–बिरुवा गौरीशंकर संरक्षण क्षेत्रभित्रका विशेष सम्पदा हुन्। यहाँबाट यी वनस्पति लोप भए भने विश्वबाटै लोप भएको ठहर्छ। त्यो कारण पनि, महाभूकम्पपछिको गौरीशंकर संरक्षण क्षेत्रको जैविक सम्पदाको हालखबर बुझन थप ढिलाइ गरिनुहुन्न।

अत्यावश्यक काम

इन्टरनेट तस्वीर
अति दुर्लभ प्राणीमा गनिने हाब्रे (रेड पाण्डा) को बासस्थान भूकम्प प्रभावित लाङटाङ र गौरीशंकर क्षेत्रमा पर्दछ।
नेपाल सरकारले सांस्कृतिक सम्पदामा पुगेको क्षतिको विवरण समयमै जनसमक्ष ल्याउने सराहनीय काम गरेको छ। पुरातत्व विभागले देशका २० जिल्लामा पूर्ण र आंशिक क्षति पुगेका ७२१ सम्पदाको तथ्यांक सार्वजनिक गरेको छ। सम्पदा पुनःनिर्माणका लागि रु.७ अर्बदेखि रु.१० अर्बसम्म लाग्ने अनुमान समेत गरेको विभागले काठमाडौंको धरहरा बनाउन रु.३० करोडको माग पनि गरेको छ। जैविक सम्पदाको विषयमा भने सरकारसँगै नागरिक समाज समेत मौन रहनु मानवोचित कुरा भएन।

राष्ट्रको बहुमूल्य निधिको रूपमा रहने संग्रहालयहरूबारे विभिन्न चासो–चर्चा सुनिनु आफैंमा सुखद् कुरा हो, तर प्राकृतिक सम्पदाका संग्रहालयहरूको अवस्था हेरेर तिनको सुरक्षा गर्न पनि अग्रसर हुनैपर्छ। सजीव संग्रहालयको रूपमा स्थापित वनस्पति उद्यान र चिडियाखानाहरूको भूकम्पपछिको वस्तुस्थिति मूल्यांकन अत्यावश्यक भएको छ।

गोदावरीको राष्ट्रिय वनस्पति संग्रहालय (हर्वेरियम), स्वयम्भूको प्राकृतिक विज्ञान संग्रहालय, पोखराको अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक संग्रहालय र विभिन्न शैक्षिक संस्थाका प्राकृतिक विज्ञान संग्रहालयहरूमा संकलित जैविक सम्पदामा परेको भूकम्पको प्रभाव मूल्यांकन अति आवश्यक हुन पुगेको छ। सम्पदा सुरक्षाको सन्दर्भमा निजी स्वामित्वका जैविक सम्पदाका नमूना (स्पेसिमेन) को महत्वलाई पनि बिर्सन मिल्दैन।

भूकम्पको विनाशकारी प्रभाव मान्छे सहित भूतलका सबै प्राणी र वनस्पतिमा पर्छ। उद्धार, राहत, पुनर्स्थापना र पुनःनिर्माणका काम–कर्तव्य मानिससम्म मात्र सीमित राख्नु मानवीय धर्म हैन। तसर्थ, भूकम्प प्रभावित क्षेत्रहरूको जैविक सम्पदाको विपत् मूल्यांकन गरेर अरू प्राणी र वनस्पतिलाई पनि सुनिश्चित–सुरक्षित भविष्य प्रदान गर्न सकौं, शुभकामना!

comments powered by Disqus

रमझम