न पुरुष महिला

Share:
  
- डम्बरकृष्ण श्रेष्ठ
समाजमा समलिंगी, लेस्बियन, गे आदिले कानूनी मान्यता पाइरहँदा 'अन्तरलिंगी' हरू भने त्यो अधिकारबाट वञ्चित छन्।

उनको नागरिकतामा र शैक्षिक प्रमाणपत्रको नाम पार्वतीकुमारी रेग्मी (२७) हो। तर, यिनी (हे.तस्वीर) कुनै पनि स्वरुपले महिला देखिंदैनन्। पढाइमा स्नातक गरिसकेका उनलाई प्रमाणपत्रले महिला देखाउँछ, तर जागीर दिने निकायहरूले पुरुष देख्छन्। “म आफैं पनि ईशान रेग्मीको नामले चिनिन चाहन्छु, तर त्यसोभन्दा प्रमाणपत्रको नामको कुरा निकाल्छन्”, उनी भन्छन्।

२०६८ सालमा आफ्नो यौनिकता खुलाएका ईशानले आफ्नो सम्पर्कमा १६ जना 'अन्तरलिंगी' रहेको बताए। तीमध्ये बर्दियाका नवीन चौधरी र अमृता बाँस्तोला तथा ललितपुरका करुण र कुसुम बिष्टले 'अन्य' पहिचानको नागरिकता लिएका छन्। तर, महिला जनाउने नागरिकता नसच्चिएकाले आफूले धेरै समस्या बेहोर्नु परिरहेको ईशानले बताए।

गोपेन राई
महिला कि पुरुषः नागरिकता र शैक्षिक प्रमाणपत्रहरुमा पार्वतीकुमारी रेग्मीको पहिचान भएका ईशान रेग्मी कुनै पनि नजरमा महिला जस्तो देखिंदैनन्। महिलाको नागरिकता भएकाले जागीर पाउन समेत उनलाई समस्या भएको छ।

पार्वती कि ईशान

बाजुराका ईशानले १३ वर्षको उमेरमा पार्वतीको स्वरुपमा ८ कक्षामा अध्ययनरत रहँदा आफू अरूभन्दा फरक भएको थाहा पाए। उनको शारीरिक विकास फरक भएपछि साथीहरूबाटै विभेदको शिकार भए। सधैं प्रथम भएका उनी यही चिन्ताले पढाइमा कमजोर भए। दोस्रो प्रयासमा एसएलसी उत्तीर्ण गर्दा उनको प्रमाणपत्र पार्वतीकुमारी रेग्मीकै नाममा आयो, त्यसैको आधारमा नागरिकता लिए। तर, जति उमेर बढ्यो उति पुरुष देखिन थालेका उनले अनेक लाञ्छना सहनुपर्‍यो।

दुवै लिंग लिएर जन्मिनुमा उनको केही दोष थिएन, तर समाज र प्रशासनले पार्वतीबाट ईशान बन्न नदिएपछि उनी धनगढी झ्रे। त्यसपछि ब्लू डाइमण्ड सोसाइटीको सम्पर्कमा आएका उनलाई आफू जस्ता फरक लिंग र पहिचान भएकाहरूबारे थाहा भयो। त्यसमा पनि आफू 'अन्तरलिंगी' भएको थाहा पाएपछि उनी समाजसामु खुले।

नेपालमा सर्वोच्च अदालतको फैसलापछि २०६४ सालबाट तेस्रोलिंगीहरूले त्यही लैंगिक पहिचान सहितको नागरिकता पाउन थालेका छन्, तर दोस्रो संविधानसभा निर्वाचनमा नेपाली कांग्रेसको समानुपातिक उम्मेदवार समेत रहेका ईशानको पुरानो नागरिकता सच्याउने प्रयास सफल हुनसकेको छैन।

'हाम्रा लागि दुवै ईश्वर'

ललितपुरको महालक्ष्मी नगरपालिका–१७ इमाडोलका करुण (२०) र कुसुम बिष्ट (१७) ले परिवार, आफन्त र समाजबाट अरू 'अन्तरलिंगी' ले जस्तो अपहेलना सहनुपरेको छैन। करुण र कुसुमका बाबु शशिकुमार र आमा सरु बिष्टले शुरूमा उपचार गर्दा ठीक होला भनेर धेरै अस्पताल चहारे, डाक्टरलाई भेटे, तर उपाय निस्केन। त्यसपछि प्रकृतिको लीला मानेर चित्त बुझाएका बाबुआमाले दुवैलाई छोरी नै मानेर पालनपोषण र शिक्षामा ध्यान केन्द्रित गरे। सरु विष्ट शुरू–शुरूमा आफ्ना सन्तानले घर बाहिर केही लाञ्छना सहनुपरेको बताउँछिन्। उनी भन्छिन्, “पहिले त उनीहरूले पनि चित्त दुःखाउँथे, अब चाहिं बुझने भएका छन्।”

सरुकी सासू राधा बिष्ट (६६) शुरूमा नातिनीहरूलाई जिस्क्याउनेसँग झ्गडा समेत गर्नुपरेको सुनाउँछिन्। आफूहरूका लागि दुवै जना ईश्वर भएकोले उनीहरूको रेखदेखमा कुनै कमी हुन नदिएको उनले बताइन्। नानीहरू हुर्कन थाल्दा बिष्ट परिवारले उनीहरूको अवस्थालाई लिएर सकस महसूस गरेकै थियो, तर करुण र कुसुमले आफ्नो भिन्नपनलाई आत्मसात् गरेपछि स्थिति सामान्य भएको छ। पूर्व वडाध्यक्ष समेत रहेका हजुरबा पूर्णबहादुर बिष्ट (६७) नातिनीहरूको फरक प्राकृतिक अवस्थाको पहिचान जन्मँदै भए पनि ६ वर्षअघि ब्लू डाइमण्ड सोसाइटीको सम्पर्कमा पुगेपछि धेरै बुझने अवसर पाएको बताउँछन्।

डम्बरकृष्ण श्रेष्ठ
परिवारको साथः जन्मँदै न महिला न पुरुषको रुपमा जन्मिएका अन्तरलिंगी करुण र कुसुम (बायाँ) आमा सरु बिष्टका साथ।

८ कक्षामा पढ्दा विद्यालयमा साथीहरूको विभेदबाट निराश भएको करुण बताउँछन्। आफू के हो भन्ने थाहा नहुने र घरमा सोध्न समेत नसक्ने अवस्थाले मानसिक रूपमा धेरै कमजोर बनाएको उनले बताए। तर, बुझदै गएपछि सहज भएको र परिवारको मायाले आत्मविश्वास बढाएको अनुभव उनी सुनाउँछन्। त्यस्तै, साथीहरूको विभेदले गर्दा कक्षाको सबभन्दा पछिल्लो बेञ्चमा एक्लै बस्नुपरेको कुसुम सम्झ्न्छिन्। एक पटक एसएलसी अनुत्तीर्ण भएकी उनी भन्छिन्, “अब त कसले के भन्छ, मतलब नराखी पढाइमा केन्द्रित भएका छौं।”

करुणको उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया जाने चाहना छ। आमा सरु आफ्ना सन्तान जस्ता अन्तरलिंगीहरूले बेहोर्नुपरेको विभेद र उनीहरूको हुर्काइबारेको आफ्ना अनुभवहरू सबैलाई सुनाउन चाहन्छिन्। उनी भन्छिन्, “महिला र पुरुषभन्दा फरक शारीरिक विशेषता भएकाहरूले समाजमा अनेकौं अपहेलना र विभेद खेप्नु परिरहेको छ, जुन हुनुहुँदैन।”

सरुको भनाइले सिर्जु थापा (३२) को अवस्था बताउँछ। बुटवलकी सिर्जुले घरमा आमालाई भेट्न समेत लुकी–लुकी जानुपरेको पीडा सुनाइन्। तेस्रोलिंगी सिर्जु शुरूमा पुरुष भए पनि महिला भएर हिंड्न थालेपछि समाजमा बस्न सकिनन्। राजधानीमा बस्दै आएकी उनले परिवारसँग दशैं–तिहार नमनाएको १५ वर्ष भयो। “हामीमाथि 'हिजडा', 'छक्का', 'नपुंसक' जस्ता बचनवाण हानिन्छ”, सिर्जु भन्छिन्, “मेरा दाइहरूले यस्तो रूप लिएर आए घरमा पस्न नदिने भनेका छन्।”

comments powered by Disqus

रमझम