१०-१६ साउन २०७२ | 26 July - 1 Aug

'भौगोलिक संघीयता नै उपयुक्त'

Share:
  

गोपेन राई
प्रा. टंकबहादुर सुब्बा, मानवशास्त्री
भारतमा रहेका नेपालीभाषीको जीवनका आरोह–अवरोह, संस्कार र चिनारीबारे गहन अध्ययन गरेका मानवशास्त्री प्रा. टंकबहादुर सुब्बा यतिवेला सिक्किम विश्वविद्यालयका द्वितीय उपकुलपति छन्। यसै साता राजधानीमा आयोजित कार्यक्रममा निम्त्याइएका सुब्बाले हिमाल सँग भारतीय नेपालीभाषीका सुखदुःख, उनीहरूको नेपाल सम्बन्ध र नेपाली राजनीतिका बारेमा खुलेर कुरा गरे। कुराकानीको संक्षेपः

उत्तरपूर्वी भारतमा बस्ने नेपालीभाषीको अवस्था कस्तो छ?

सबैको अवस्था उस्तै छैन। खासगरी अनपढ, गरीब र अल्पसंख्यामा रहेका नेपालीभाषीको अवस्था टिठलाग्दो छ। दार्जीलिङ, सिक्किम जस्ता ठाउँमा प्रवासी भने पनि उल्लेख्य संख्या भएकै कारण नेपालीभाषीलाई कसैले छुनेसम्म आँट गर्दैन। नयाँदिल्ली, बैंगलोर जस्ता ठूला शहरमा पनि नेपाली छन्। सेना, प्रहरीबाट निवृत्त भएर 'सेकेण्ड करिअर' मा जागिर खानेहरू पनि छन्।

भारतीय सेनामा १० वर्ष अघिसम्म नेपालीलाई ब्रिगेडियर जनरलभन्दा ठूलो पद नदिने अलिखित नीति नै थियो रे! देहरादुनस्थित नेशनल डिफेन्स एकेडेमीमा पहिलो, दोस्रो आउने प्रायः नेपालीभाषी नै हुन्थे। तर पनि ब्रिगेडियरमाथि लगिंदैनथ्यो। अहिले शक्ति गुरुङ चाहिं लेफि्टनेन्ट जनरलसम्म भएका छन्।
अहिले खाडी मुलुकतिर काम गर्न जाने बढेर होलान्, नेपाली भाषी टोलमा नेपालीहरू आउने क्रम घटेको छ। पहिले हाम्रै घरमा पनि दुई जना नेपाली कामदार थिए। पश्चिम नेपालबाट बढी आउँथे। कोइलाखानीमा काम गर्नेमा भने पूर्वेली बढी छन्।

नेपालीभाषी बारम्बार आक्रमणमा पर्ने र खेदिने कारण चाहिं के हो?

९५ प्रतिशत नेपालीभाषीमा मिलेर बसौं भन्ने भावना हुन्छ। तर पाँच प्रतिशत, खासगरी युवाहरूले विचार नपुर्‍याउँदा दंगा–फसादको निहुँ बन्छ। रक्सी, केटी र धर्म झ्ागडाका बीउ बन्ने गरेका छन्।

एक ट्रक कोइला संकलन गर्दा भारु ६–७ हजार पाउँछन्। रक्सी र जुवातासमै सक्छन्। त्यहाँका महिलाका पछि लाग्छन्। जसले गर्दा स्थानीयहरूसँग सम्बन्ध बिग्रन्छ। जबकि बंगलादेशीहरू त्यस्तो गर्दैनन्। रक्सी र केटीमा फस्दैनन्।
सन् १९८६/८७ तिर उत्तरपूर्वी भारतबाट दशौं हजार नेपालीभाषी लखेटिए। त्यसको जड रक्सी नै थियो। नबिनसङ भन्ने सानो ठाउँमा नेपालीभाषी र स्थानीय खासी मिलेरै रक्सी खाएछन्। रक्सी लाग्दै गएपछि उनीहरू कसको भगवान ठूलो भन्ने विवाद गर्न थालेछन्। 'तिमीहरूको भगवान ठूलो हो भने हेरौं के हुँदोरहेछ' भन्दै एउटा खासी केटाले मन्दिरमा पिसाब फेरिदिएछ। नेपालीले पिसाब गर्ने खासीलाई ठाउँमै छिनाएछन्। अनि हो, घटनाले रौद्ररुप लिएको।

तर, झगडामा सांस्कृतिक बाहेक राजनीतिक कारण पनि त होलान्, जसले दशकौंदेखि नेपालीभाषीलाई सताइरहेको छ?

हो। पुरानो अर्थात् दबेको रीस नभए त यस्तो घटना हुँदैनथ्यो। आसाम र मेघालयमा यस्ता घटना बारम्बार सुनिने गर्छ।

आसाममा सन् १९७९ मा गठित अल आसाम स्टुडेन्ट युनियन (आसु) ले 'एन्टी फरेनर्स मूभमेन्ट' चलायो, जहाँ नेपालीभाषी विद्यार्थी पनि सदस्य थिए। शुरुमा यो अभियान बंगलादेशी विरुद्ध हो भनियो। तर, जब आन्दोलन छेडियो, नेपाली पनि घानमा परे। सन् १९७९–१९८५ बीचमा धेरै नेपाली स्थानीयबाट खेदिए।

मणिपुरमा सन् १९४९ मा नेपालीलाई पनि जमीन किन्ने हक दिइयो। तर, त्यसैवेलादेखि स्थानीयलेे विरोध गर्न थाले। त्यो प्रकरणमा ७–८ सय नेपाली लखेटिए। जमीन किनेका नेपाली धपाएपछि त्यो जमीन आफ्नै हुन्छ भन्ने संकीर्ण मानसिकता स्थानीयमा देखिन्छ, जबकि जंगल फाँड्न, सडक बनाउन मान्छे चाहिंदा नेपालीलाई स्वागत गर्ने उनीहरू नै हुन्। त्यहीवेला मिजोरमबाट पनि केही नेपाली खेदिए।

सन् १९८० भन्दा पहिले यस्तो थिएन। स्थानीयसँग भाषा मात्र होइन, नाता पनि गाँसिइसकेको थियो। जब उनीहरूलाई जमीन पुगेन, बेरोजगारी समस्या देखियो अनि बाहिरकालाई दोष दिन थाले। ज्वाईं बनाउनेले पनि शत्रु ठान्न थाले।

अहिले चाहिं स्थानीय र नेपालीभाषीको सम्बन्ध कस्तो छ?

अहिले मानसिक र सामाजिक रुपमै नेपालीभाषी र भारतीय अलग अलग देखिन्छन्। निकट भविष्यमै सम्बन्ध सुमधुर बन्ला भन्ने जस्तो पनि लाग्दैन।
त्यसको मुख्य कारण इर्ष्या नै हो। नेपालीले उन्नति, प्रगति गरेको स्थानीयलाई नपच्ने रहेछ। गाडी किन्दा पनि स्थानीयलाई मन नपर्ने रहेछ। अरुका हकमा पनि यस्तै देखियो, सन् १९६० को दशकमा ग्रीन रिभोलुसनपछि शिखहरूले गाडी चढ्ने, केटी जिस्क्याउने हैसियत बनाए। त्यसपछि नै १९८४ को नयाँदिल्लीमा 'एन्टी शिख मूभमेन्ट' चल्यो।

त्यसो त ज्यानकै बाजी राखी नेपालीभाषी बचाउने स्थानीय नभएका होइनन्। एक जना खासी बोजुले नेपालीभाषीलाई एक हप्तासम्म खाटमुनि लुकाएको मलाई नै थाहा छ।

समस्या समाधानका लागि भारत सरकारले नै केही गर्नुपर्छ जस्तो लाग्दैन?

गर्नुपर्ने त हो। तर, खासै गरे जस्तो देखिंदैन। दुई पक्षको झगडामा त्यहाँको प्रहरी, प्रशासनले स्थानीयकै पक्ष लिन्छ। त्यसो गर्दा गल्ती नै नभएपछि भाग्नुपर्ने अवस्था आउँछ।

सिलोङका पूर्व कर्णेलका छोरा अनिल प्रधान मेघालयमा डाइरेक्टर जनरल अफ पुलिस भएर खटिएका थिए। तर, स्थानीयले विरोध गरेपछि उनी दिल्ली पठाइए। नेपालीभाषीले सुरक्षा नपाउन् भनेर नै यसो गरिएको हुनुपर्छ।

आफू जोगिन नेपालीभाषी स्वयंले चाहिं के गर्नुपर्ला?

हामीले अडान लिने ठाउँ हुँदैन। सरकारले पनि साथ दिंदैन। नेपालीभाषी आफैं जोगिने बाहेक अन्य विकल्प छैन।

नेपालीभाषी सम्हाल्न एउटा बलियो संगठनको आवश्यकता छ। यस्तो संगठन जसले युवालाई सम्झाउन सकोस्। भिन्नभिन्न जाति र समाजसँग कसरी मिलेर बस्ने भन्ने कुरा बुझाउन पनि संगठन चाहिन्छ। दुई समाजबीच पुल जस्तो संयन्त्र बनाउनुपर्छ, जसले समस्याका वेला कुरा मिलाउन सकोस्।

नेपालका नेपाली र मेचीपारिका नेपालीभाषीबीच राजनीतिक त छाडौं, अर्थपूर्ण सांस्कृतिक आदान–प्रदानको सम्बन्ध पनि कमै देख्न पाइन्छ। यस्तो किन भएको होला?

हाम्रा सम्बन्धका आधार भनेका भाषा, धर्म, संस्कृति र इतिहास हुन्। १९७० सम्म हामीमा भारतीय हौं भन्नेमै जोड देखियो। नेपालसँग सरोकारै छैन, सम्बन्ध नै छैन भन्ने प्रवृत्ति पनि थियो। खासगरी मध्यमवर्गीय बुद्धिजीवी नेपालबाट टाढिने मूडमा थिए। 'नेपालले हेप्छ, नोकरी पाउँदैन' भन्नेसम्मको झूटो प्रचार पनि तिनैले गरे। भारतको स्वतन्त्रता अभियानमा धेरै नेपालीको सहभागिता थियो। उनीहरूमा अति राष्ट्रवादी भावना त हुने नै भयो।

उसो भए नेपालीभाषीलाई नेपालसँग केले नजिक बनायो?

सन् १९७९ मा प्रधानमन्त्री मोरारजी देसाईले 'नेपाली भाषाको माग किन गर्छौ? त्यो त विदेशी भाषा हो' भनेदेखि नेपालीभाषी भारतीय नेपालसँग नजिकिन चाहेको देखियो। 'भारत नै हाम्रो मातृभूमि, पितृभूमि हो, ज्यान दिन तयार छौं' भने पनि भारतले हामीलाई भारतीय मान्दो रहेनछ भन्ने कुराको महसूस गर्न थाले। त्यसपछि नै हो भारतका धेरै नेपालीभाषी काठमाडौं आएर शिक्षा, संगीत जस्ता क्षेत्रमा काम गर्न थालेका।

अर्कोतिर, १९८० तिरै थुप्रै नेपालीभाषी भारतबाट खेदिन थाले। खेदिएकालाई नेपालले राम्रो व्यवहार गर्‍यो। शरण दियो। परेको वेला नेपालले सहयोग गर्दोरहेछ भन्ने भावनाको विकास त्यही वेलादेखि भयो।

प्रशान्त तामाङको उदाहरण हेरौं। तामाङलाई 'इन्डियन आइडल' जिताउन नेपालीभाषीले भोट हाल्छन् भनेर मेघालयमा भोट हाल्नै दिएनन्। कति ठाउँमा त घरको टेलिफोन लाइन नै काटिदिए। जबकि नेपालमा उनलाई भोट हाल्ने अभियान नै चल्यो। यो घटनाले पनि नेपालभित्र र बाहिरका नेपालीबीच निकटता ल्यायो जस्तो लाग्छ। नेपालमा गएको भूकम्पमा सिक्किम, गान्तोक, दार्जीलिङतिरका नेपालीभाषीमा सहयोगी भावना देखियो।

नेपालीभाषी भारतीयको दृष्टिबाट नेपालभित्रैका तराई/मधेशवासीको समस्यालाई कसरी लिनुभएको छ?

जसरी 'हामी भारतीय नै हौं, नेपाली होइनौं' भनिरहेका छौं, त्यसरी नै मधेशवासीले पनि 'हामी भारतीय होइनौं, नेपाली नै हौं' भनिरहेका छन्। यस अर्थमा हामीबीच समानता देखिन्छ। नेपालमा मधेशीमाथि अत्याचार भयो भने उता हामीमाथि पनि अत्याचार हुन्छ। भारतमा हामीले नेपाली भाषाको माग गर्दा 'नेपालले चाहिं हिन्दीलाई मान्यता नदिने हामीले चाहिं किन नेपालीलाई दिनुपर्ने?' भन्ने सम्मका कुरा उठे।

भारतीय नेपालीभाषीहरूको नेपालप्रतिको हेराइ चाहिं कस्तो छ?

नेपालले अपेक्षित प्रगति गर्न नसकेको देख्दा दुःख लाग्छ। समयमै संविधान बन्न नसक्दा र खुलेआम भ्रष्टाचार भएको देख्दा पीडाबोध हुन्छ।

नेपाल संविधान निर्माणको चरणमा छ, यतिवेला मेरो सुझाव चाहिं जाति, भाषा, संस्कृतिको संरक्षण हुने गरी भौगोलिक आधारमा प्रदेश बनाउनुपर्दछ भन्ने हो। यसलाई 'इथ्निक् फेडरालिज्म् विदिन टेरिटोरियल फेडरालिज्म्' भनेर बुझ्ो पनि हुन्छ।

'अरु जाति जतासुकै जाउन्, हाम्रो मात्रै मनपरी चलोस्' भनेर कसैले भनेका छैनन्। तसर्थ, त्यति ठूलो समस्या देख्दिनँ। कतिपय विषय क्षेत्र, जात, धर्मको हितमा नहोला तर त्यो राष्ट्रिय हितमा हुनुपर्दछ। राष्ट्रिय हितका लागि मसिना हित त्याग्न सक्नुपर्दछ।

प्रस्तुतिः सन्त गाहा मगर


नेपाल यस्तो होस्!

आजको नेपाल सम्पूर्ण रूपले अनिश्चितताले घेरिएको देखिन्छ। हुन त अनिश्चितता बोक्ने देश नेपाल मात्र होइन। धेरथोर समयका निम्ति प्रायः सबै देशमा अनिश्चितता रहेकै हुन्छ। कति बुद्धिजीवी अनिश्चिततालाई नै पुज्ने पनि हुन्छन्। नपुजून् पनि किन? अनिश्चिततामा जुन रोचकता, ताकत, कल्पना र नयाँ कुरा शुरू हुने सम्भावना हुन्छ, त्यो निश्चिततामा हुँदैन।

तर, एक आधुनिक राष्ट्रको नाता अनिश्चिततासित धेरै लामो हुन सक्दैन। केही महीना वा वर्षको अनिश्चितताले त्यति ठूलो नोक्सान गर्दैन तर अनिश्चितता नै राष्ट्रको मूलधार बन्न गएमा त्यो चिन्ता र चिन्तन दुवैको विषय बन्न जान्छ किनकि त्यसले धेरै प्रकारका अनिश्चितता सिर्जना गर्छ। र विस्तारै ती अनिश्चिततामा अन्तरनिर्भरता तयार हुन्छ, जसलाई तोड्न सबै राष्ट्र सक्षम हुँदैनन्। यस्तो अवस्थामा राष्ट्र विकासोन्मुख नभएर विनाशोन्मुख हुन जान्छ जुन अनिश्चितता ल्याउने तत्वका निम्ति पनि लाभदायक हुँदैन।

अनिश्चितताले लामो घेर्दा त्याग्न चाहेका–लागेका कतिपय व्यवस्थाहरूले फेरि शिर उठाउने मौका पाउँछन्, जुन नेपालमा शुरू भइसकेको छ। अतः आज नेपाल देशअघि कुनै अत्यावश्यक कार्य छ भने त्यो हो, अनिश्चिततादेखि बाहिरिनु। त्यसो हुन नसके 'देश वासीका निम्ति वा वासी देशको निम्ति' भन्ने प्रश्न उठ्न सक्छ। वासी नै नरहे देश रहन्न, तर विना देशको वासी हुन्छन्, यद्यपि विना देशको नागरिक भने हुँदैन।

अनिश्चिततादेखि बाहिरिने धेरै उपाय छन् तर ती उपाय खोज्न अनि अपनाउन आजका नेता औ बुद्धिजीवीले गरेका कोशिश पर्याप्त भए जस्तो लाग्दैन। उनीहरूले यथेष्ट मात्रामा स्वार्थ त्याग्न सकेका छैनन्। राष्ट्रहित अन्य हितभन्दा माथि, अलग्गै उभिएको देखिंदैन।

नेपाली आफंैमा मग्न हुने जाति हो, मूर्खलाई बुद्धिमान अनि गरीबलाई धनवीर नाम दिएर ढुक्क हुने जाति। दोहोरो हामी कम सोच्छौं। भविष्यवाणी गर्छौं तर भविष्यबारे कमै सोच्छौं। समालोचना गर्नेलाई शत्रु ठानिहाल्छौं। तर, आजको नेपालको हल यही जातिबाट निस्कनेछ। त्यो हल आकाशबाट टप्कने होइन, न उत्तर वा दक्षिणको हावासँग उडेर आउने हो। हल यहाँकै माटो र हावापानी सुहाउँदो हुनुपर्छ। आज नभए भोलि त्यो हुन कर लाग्नेछ।

अनिश्चितताबाट बाहिरिन आफ्ना जाति र देशप्रतिका कतिपय धारणा जति सजिलै त्याग्न सक्यो त्यति नै फाइदामन्द हुन्छ। नेपालीलाई 'वीर गोर्खा' भनेर अंग्रेजले सर्काउनसम्मै सर्काएर पुस्तक, लेख नलेखेका होइनन्। तर त्यसैलाई ध्रुवसत्य मानेर गजक्क हुन आजको नेपाली जातिलाई सुहाउँदैन। नेपाललाई कुनै विदेशी शक्तिले कहिल्यै अधीनमा ल्याउन सकेन भनेर गर्व नगरेर उपनिवेशवादले लिएको नयाँ अनि अदृश्य रूप देख्न सक्नुपर्छ। पहाड–मधेशको दूरत्व, स्त्री–पुरुष उँचनीच र जातपातको भेदभाव हटाउन नसके पनि कोशिश गर्नुपर्छ। तब नेपाल गर्व गर्न लायक हुन्छ।

बाहिरका नेपालीको निम्ति नेपाल एक गरीब, पछौटे देशको रूपमा खडा छ। त्यसैले मैलो, फाटेको झुम्रो लाएकी आमा नचिन्ने छोराछोरी झै नेपाल बाहिरका धेरै नेपाली स्वदेशसँगको नाता नकार्ने गर्छन्। तर यसमा नेपालका नेपालीले दुःख मान्ने कारण देख्दिनँ किनकि हार्नेसँग केवल सहानुभूतिको सम्बन्ध हुन्छ। गर्व भन्ने कुरो त जितसँगै जोडिएको हुन्छ।

सम्पूर्ण नेपालीको गर्व गर्न सक्ने बन्न नेपालले आर्थिक, सामाजिक, शैक्षिक लगायतका पछौटेपनमाथि विजय प्राप्त गर्नुपर्‍यो। आफ.नो खुट्टामा उभिन सक्नुपर्‍यो न कि अन्तर्राष्ट्रिय अनुदान नामक बैसाखी लिएर। खेल, साहित्य, संगीत, कला, विज्ञान वा ज्ञानको क्षेत्रमा ख्याति कमाउनुपर्‍यो। बुद्ध भगवान् जन्मेको देश भनेर मक्ख नपरेर शान्ति बहाल गर्न सक्नुपर्‍यो। संसारको उँचो माउन्ट एभरेष्ट भएको देश भनेर खुशी भएर होइन, जातपात, भेग–भेष, भाषाभाषीको उँचाइभन्दा माथि देखिन सक्नुपर्‍यो।

यति लामो इच्छा सूची देखेर नेपालका बुद्धिजीवी नअतालिए हुन्छ किनकि यी सब चाहँदैमा भइहाल्दैन। समय, धैर्य चाहिन्छ, तर सबैभन्दा पहिलेे यस्तो नेपालको कल्पना चाहिन्छ, सपना होइन।

(२०६३ सालको मदन पुरस्कार वितरण समारोहमा टंक सुब्बाद्वारा प्रस्तुत विद्वत् प्रवचनको सम्पादित अंश।)

comments powered by Disqus

रमझम