१०-१६ साउन २०७२ | 26 July - 1 Aug

गणतन्त्रका आदिपुरुष

Share:
  
- रघु पन्त
पुष्पलालको गणतन्त्र स्थापना गर्ने राजनीतिक कार्यक्रम नेपाली कांग्रेसको सहकार्यमा पूरा भए पनि यसले जनताले खोजेको सुशासन, जनउत्तरदायी सरकार र लोककल्याणकारी कार्यक्रम दिन सकिरहेको छैन।

भानु भट्टराई
राणाकालको अन्त्यदेखि नै नेपाली राजनीति दुई धारमा बाँडियो। एउटा धारलाई नेपाली कांग्रेसले र अर्को धारलाई कम्युनिष्ट पार्टीले नेतृत्व गरे। यी दुई धारको नेतृत्व गर्ने दुई व्यक्तित्वको देहावसान भएको वर्षौंपछि पनि दुवै धार वैचारिक तथा संगठनात्मक रूपले नेपाली राजनीतिमा स्थापित, चर्चित र सामयिक छन्।

यी दुई व्यक्तित्वमध्ये बीपी कोइराला आफ्ना राजनीतिक विचार र साहित्यका कारण अविस्मरणीय छन्। कांग्रेसमा उनी नै त्यस्ता व्यक्तित्व हुन्, जो सबैको सर्वस्वीकार्य वैचारिक नेता वा गुरु मानिन्छन्। त्यस्तै, नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक नेता समेत हुन्। पुष्पलालद्वारा प्रतिपादित 'संयुक्त जनआन्दोलन नीति' यस्तो सावित भयो, जसले नेपाली लोकतन्त्र स्थापनामा कम्युनिष्ट मात्र नभई कांग्रेसका नेता–कार्यकर्तालाई समेत बाटो देखायो। २०४६ सालको संयुक्त आन्दोलनको आधारभूमि रचना गर्न कांग्रेसका नेता गणेशमान सिंहले मह140वपूर्ण भूमिका खेले। २०४६ बाट शुरू भएको कांग्रेस–कम्युनिष्ट सहयात्रा बीचमा टुट्दै–जुट्दै अघि बढिरहेको छ।

दूरदर्शी पुष्पलाल

नेपाली कांग्रेसको नेतृत्व २००७ सालको परिवर्तनपछि पनि नेपाल कम्युनिष्ट पार्टीप्रति पूर्वाग्रही बनिरह्यो। राजा मान्दैन भन्ने आधारमा कम्युनिष्ट पार्टीमाथि २०१० सालमा प्रतिबन्ध लगाइयो। २४ चैत २०१२ मा नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट पुष्पलालले तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यलाई लेखेको चिठीमा भनिएको छ– '... जुन दिनदेखि पार्टीलाई गैरकानूनी गरियो त्यसै दिनदेखि आजसम्म हामीले आफ्नो सफाइ पेश गरी वैधानिक प्रजातान्त्रिक अधिकार प्राप्त गर्ने कोशिश गर्‍यौं। तर सबै प्रयास विफल भए। यहाँसम्म कि हाम्रो पार्टीका महामन्त्री मनमोहन अधिकारीले खुलापत्र लेख्नुभएको थियो। तर अपशोच, यस पत्रको पनि तपाईंले उत्तर दिनुभएन...।'

पत्रमा उल्लेख छ– 'यी सबै कारणहरूले गर्दा हाम्रो पार्टीलाई कानूनी गर्ने अर्को कुनै बाटो नभएको हुनाले आगामी वैशाख ४ का दिन नेपालका सबै प्रमुख स्थानहरूमा जनता र सरकारको समक्ष आफ्नो केश प्लीड गर्नको निम्ति खुला आउने निर्णय केन्द्रीय कमिटीले गरेको छ। यस कुराको सूचना तपाईंलाई पठाइरहेका छौं। ...हामीलाई आशा छ, तपाईंले आगामी वैशाख ४ गतेभन्दा अगावै यस विषयमा सन्तोषजनक उत्तर दिनुहुनेछ। यस पत्रको साथ केन्द्रीय कमिटीको प्रस्ताव पनि पठाइरहेका छौं।' (ऐतिहासिक दस्तावेज संग्रह, पहिलो भाग डा. सुरेन्द्र केसी)

प्रतिबन्ध तोड्न एकै पटक देशभर खुला हुने चुनौती दिएको पुष्पलालको पत्रले राजा महेन्द्र र प्रधानमन्त्री टंकप्रसाद आचार्यका सामु अप्ठ्यारो परिस्थिति सिर्जना गर्‍यो। तत्कालीन कांग्रेस नेतृत्वभन्दा टंकप्रसाद कम्युनिष्टहरूप्रति केही नरम थिए। त्यसरी प्रधानमन्त्रीसँग भएको राजाको वैधतालाई स्वीकार गरेर जाने र शान्तिपूर्ण राजनीति गर्ने सहमतिलाई लिएर नेकपाभित्र विवाद चर्कन थाल्यो। गणतन्त्र कि राजतन्त्र भन्ने विषयमा पार्टीभित्र चर्केको विवादमा पुष्पलालले गणतन्त्र पक्षको नेतृत्व गर्नुभयो।

संविधानसभाले संविधान बनाउनुपर्ने माग गर्दै देशमा आन्दोलन बढ्न थालेपछि राजाले संविधान दिएर संसद्को निर्वाचन गराउने घोषणा गरे। कांग्रेस संविधानसभाको पक्षमा रहे पनि अन्ततः राजाले दिएको संविधान स्वीकार गर्दै संसद्को निर्वाचनमा सहभागी हुनेभयो। पुष्पलालले राजाको संविधानको विरोध गरे। नेकपाले काठमाडौंमा गरेको विरोध सभालाई सम्बोधन गर्दै त्यसवेला उनले, 'यो संसदीय चुनावको नाटक राजाबाट आफैंले संविधान बनाएर गरिंदैछ। अतः यस्तो संसद् कुनै पनि वेला राजाले भंग गर्न सक्दछन्। अन्य देशहरूमा 'जनताले, जनताद्वारा र जनताका लागि' भन्ने छ भने यो हाम्रो दुर्भाग्य हो– हाम्रो देशमा 'राजाले, राजाद्वारा राजाका लागि' संविधान दिइँदैछ' भने। (नयाँ जनवाद, श्रद्धाञ्जली विशेषांकमा प्रकाशित बलराम उपाध्यायको लेख) नभन्दै, राजा महेन्द्रले संसद्को चुनावमा दुईतिहाइ बहुमत ल्याएर बीपीको नेतृत्वमा बनेको नेपाली कांग्रेसको सरकारलाई चल्नै नदिई १ पुस २०१७ मा विघटन गरेर दलहरूमाथि प्रतिबन्ध लगाए। माथिका घटनाहरूले नेपालमा राजतन्त्रलाई हेर्ने–बुझने पुष्पलालको दृष्टि क्षमता देखाउँछ।

गणतन्त्रका प्रणेता

नेपालको राजनीतिमा पुष्पलाल जनआन्दोलनको नीति अघि सार्ने, संसद्को पक्षपोषण गर्ने, लोकतन्त्रप्रति प्रतिबद्ध रहने कम्युनिष्ट नेताका साथसाथै राजतन्त्रकोे तानाशाही चरित्रलाई सही तरीकाले विश्लेषण गर्ने नेता मानिन्छन्। राजतन्त्रप्रति उनको आलोचनात्मक दृष्टिकोण र गणतन्त्रप्रतिको प्रतिबद्धता शुरूदेखि अन्त्यसम्म एउटै रह्यो।

उनले नेपालको कम्युनिष्ट आन्दोलनमा गणतन्त्रलाई सैद्धान्तिक रूपमा स्थापित गर्न र त्यसलाई पार्टीको नीति तथा कार्यक्रममा अघि बढाउन अग्रणी भूमिका खेले। गणतन्त्रमा जोड दिने नीतिकै कारण २०१० सालमा नेकपामाथि प्रतिबन्ध लागेको थियो। २००८ सालमा भएको नेकपाको प्रथम सम्मेलनमा पुष्पलालको 'नयाँ जनवादका निम्ति नेपाली जनताको बाटो' भन्ने दस्तावेज पारित भएको थियो।

तेस्रो सम्मेलनबाट पारित 'नयाँ जनवादी कार्यक्रम, नेपाली क्रान्तिको एक मात्र सही मूलबाटो' भन्ने दस्तावेजमा भनिएको छ, '...पञ्चायती व्यवस्था सामन्त वर्गको वर्गीय राज्यसत्ता अर्थात् सामन्ती अधिनायकत्व हो। तसर्थ नेपाल कम्युनिष्ट पार्टीले यस सामन्ती वर्गीय सत्तालाई खत्तम गरी देशमा सर्वहारा वर्गको नेतृत्वमा सम्पूर्ण क्रान्तिकारी वर्ग तथा जनसमुदायको नेतृत्वमा... यस्तो जनवादी गणतन्त्रीय राज्यसत्ता कायम गर्नेछ जसले देशमा सामन्ती व्यवस्थालाई समूल नष्ट गर्नेछ...।' (नेपाल कम्युनिष्ट पार्टी, दस्तावेज संग्रह भाग–२)

यसरी पुष्पलालले नेपालको राजनीतिमा गणतन्त्रको बीउ छरेर उमारे। उनी राजाले दिएका अनेकौं प्रलोभनलाई लत्याउँदै बनारसमा भोकभोकै निर्वासित जीवन बिताउन राजी भए, तर गणतन्त्रप्रतिको प्रतिबद्धतालाई कमजोर बनाउन तयार भएनन्। डा. केशरजंग रायमाझीले नेकपाको नेताको रूपमा राजाप्रति नरम नीति लिएकोमा असहमति जनाउँदै पुष्पलालले गणतन्त्रको वामपन्थी पुनर्गठन गर्ने काममा निर्णायक भूमिका खेले।

पुष्पलालले बनारसमै निर्वासनमा रहेका बीपीलाई भेटेर संयुक्त जनआन्दोलन शुरू गर्न बारम्बार आग्रह गरे, तर बीपीले यस्तो साहस जुटाउन सकेनन्। त्यसरी पुष्पलाल र बीपीको जीवनकालमा सम्भव नभएको राजाको अधिनायकवादी शासन अन्त्य गर्ने पुष्पलालको 'संयुक्त जनआन्दोलनको नीति' लाई २०४६ सालमा कांग्रेस–कम्युनिष्टले सफल पारे। पुष्पलालको गणतन्त्र स्थापना गर्ने राजनीतिक कार्यक्रम कांग्रेसको समेत सहकार्यमा २०६२–६३ पछि पूरा भयो। तर, गणतन्त्रले जनताले खोजेको सुशासन, जनउत्तरदायी सरकार र लोककल्याणकारी कार्यक्रम दिन सकिरहेको छैन। पुष्पलालले चाहेको जनताको हित, राष्ट्रिय स्वाधीनता, राष्ट्रिय आत्मसम्मान र समाजवादप्रति प्रतिबद्ध गणतन्त्र हो।

comments powered by Disqus

रमझम