मिथिलाञ्चलका पहाडी कवि

Share:
  
p60a
 
तस्वीरः मीनरत्न बज्राचार्य

चन्द्रशेखर उपाध्यायले धनुषाको फकिरचन्दगामी उमावि, वर्कुवामा ३४ वर्ष नेपाली भाषा पढाए। २०४९ सालमा सेवानिवृत्त भएपछि पनि ठिल्ला माविमा अर्को सात वर्ष पढाए। पछिल्लो समय उनी आफ्ना पाण्डुलिपि जोरजाम गर्ने, साहित्यिक भेला–जमघटमा जाने र सम्मानहरू थाप्ने गरिरहेका छन्। “काठमाण्डूले सम्झ्ेको चाहिं यसै पटक हो”, धनुषाको रघुनाथपुर–५ का रैथाने उपाध्यायले पूरै मधेशी लवजमा भने, “त्यो पनि इलाहावादको भाषा संगम र काठमाडौंको चिन्तनधारा प्रतिष्ठानले कार्यक्रम गरेको हुनाले।” 

लवज, लवाइखवाइ सबैले पूरापूर मिथिलाञ्चलवासी उपाध्याय धादिङको सिन्धुकल्लेरीबाट झ्रेका खतिवडा वंशका सन्तान भएको जान्न लामै भलाकुसारी गर्नुपर्छ। पुस्तौंदेखि उपाध्यायका गुरुदेखि चेला र छिमेकीदेखि समाजसम्मका सबै कुरा मैथिल रहे। भाषा संगम र चिन्तनधाराले ४ पुसमा प्रज्ञा–प्रतिष्ठानमा आयोजना गरेको संगोष्ठीमा 'भाषा भारती' सम्मानद्वारा सम्मानित मोफसलका यी साधक भन्छन्, “मलाई खाँट्टी मधेशी भनिलिए हुन्छ।” 
 
मधेशको दूर देहातमा चुपचाप शिक्षा र साहित्य साधना गरिरहेका उपाध्याय नेपाली, संस्कृत, मैथिली र हिन्दीका सिद्धहस्त कवि हुन्। संस्कृतमा साहित्याचार्य गरेर शिक्षण पेशा अँगाल्नुअघि काठमाडौं आएर विशिष्ट शास्त्री र डिप्लोमा इन एजुकेशनको उपाधि लिएका उपाध्यायका मौलिक र अनूदित १० कृति प्रकाशित तथा आधा दर्जन पाण्डुलिपि प्रकाशनका लागि तयार छन्। “तर, कोही प्रकाशक पाइरहेको छैन”, टाठो स्वरका उपाध्यायले सुस्केरा छाडे। 
७९ वर्षको उमेरमा पनि खिरिलो स्वस्थ शरीर, तिखा आँखा र चंख कान भएका उपाध्यायले खास गरेर महाकाव्य र खण्डकाव्यमा अनमोल काम गरेका छन्। उनले हिन्दीका महाकवि अयोध्यासिंह हरिऔधको प्रिय प्रवास महाकाव्य र रामधारी सिंह दिनकरको रश्मि–रथी तथा हरिवंश रायबच्चनको मधुशाला खण्डकाव्यका साथै संस्कृत साहित्यको लाक्षणिक ग्रन्थ चन्द्रलोक नेपालीमा अनुवाद गरेका छन्। कवि उपाध्यायका मौलिक खण्डकाव्य सुदामा चरित (मैथिली), जनकपुर मीमांसा (नेपाली), वीरगंज वैभव (हिन्दी), मटिहानी महिमा (हिन्दी), धनुषा धाममे जनकका धनुष यज्ञ (हिन्दी) आदि प्रकाशित छन्। मिथिलाञ्चलको धर्म, संस्कृति र जनजीवनको महिमा मण्डन गर्ने यिनका अनेक लेख र शोध प्रबन्धहरू मैथिली र नेपाली भाषाका छन्। 
 
तर, काठमाडौंले यिनका कृतिको सुवास लिनसकेको छैन। त्यही भएर हुनसक्छ, बल्लबल्ल काठमाडौं आउँदा उत्साहित भएर प्रज्ञा–प्रतिष्ठान पुगेका यी मधेशका कविलाई कुलपति बैरागी काईंलाले 'कहाँबाट, के कामले आउनुभो' भनेर सोधेछन्। “कुलपतिलाई प्रणाम भन्न थोडा कोही वैगन, भन्टावाला आउँछ?” त्यस्तो सोधनीबाट आगो भएका कवि प्रज्ञा परिसरको चौरमा बम्किए, “काठमाण्डूले नचिने पनि कोही बात छैन, मिथिलाले त मलाई कवि मानेकै छ नि!” 
 
राजधानीमा मात्र साहित्य फस्टाउँछ भन्नुलाई सरासर गलत ठान्ने यी कविलाई मिथिलाञ्चलका थुप्रै संघ–संस्थाले 'मिथिला गौरव' लगायतका सम्मान दिएका छन्। 'ग्रामीण जीवनयापन गरिरहे पनि कहिल्यै कलम सुताएर नराख्ने' कवि उपाध्यायको तत्कालको चिन्ता चाहिं पाण्डुलिपिहरूलाई कसरी पुस्तकाकार दिने भन्ने छ।
 
आनन्द राई 
comments powered by Disqus

रमझम