१०-१६ साउन २०७२ | 26 July - 1 Aug

भारतीयकै रजाइँ

Share:
  
भारतबाट सस्तो धान भित्रिन थालेपछि नेपाली किसान भुस र कनिकाभन्दा कम मूल्यमा धान बेच्न बाध्य छन्।

भारत, टेढागाछीका धान व्यापारी इरफान मियाँ।
भारतको टेढागाछीका इरफान मियाँ बिहानको १२ नबज्दै तीनपटक गरी साइकल मार्फत १२० केजी धान वारि फत्तेपुरका लालबाबु चौधरीलाई बेच्छन्। गाउँभरिको धान खरीद गरेर नेपाल भित्र्याउने मियाँ दर्जनौंमध्ये एक हुन्। सीमापारि प्रति क्वीन्टल भारतीय रुपैयाँ ६३० (रु.१ हजार ८) मा धान पाइन्छ। एक क्वीन्टल धान भित्र्याउँदा उनीहरू भारु १२० देखि २०० सम्म आम्दानी गर्छन्।

यता, जुरोपानी–१, झापाका पुरुषोत्तम लम्साल (६९) ले प्रति क्वीन्टल रु.१ हजार १२५ को भाउमा १२ क्वीन्टल धान बेचे। गत वर्ष यही समयमा कान्छी मंसुली भनिने मोटा धान क्वीन्टलको रु.१ हजार ८७५ मा उनैले बेचेका थिए। “अन्न हो, खेतमै कुहाउन मनले नमानेर मात्रै उठाएको हुँ”, विरक्त लम्साल भन्छन्।

गौरादह–१ का बुद्ध कार्की (५९) ले पनि केजीको ११ रुपैयाँ २५ पैसाको भाउमा २५ मन धान बेचे। दश कट्ठामा लगाएको चैतेधान उठाउञ्जेलसम्म बीउ, खनजोत, रोपाहार, गोडमेल, मलखाद र थ्रेसर लगाउँदासम्म उनको रु.१५ हजार जति खर्च भएको थियो। आफ्नो र खेतालाको खर्च त त्यसमा जोडिएकै छैन। तर, आम्दानी भने रु.११ हजार २५० मात्र भयो। उनी भन्छन्, “मिहिनेतको मूल्य छैन, सवासयको खर्चमा सय कमाइको स्थिति छ।”

फत्तेपुर सीमा नाकाबाट चार किलोमीटर उत्तर खजुरगाछीदेखि छोटी भन्सारसम्मको दायाँ–बायाँ आठ वटा काँटा छन्। यो नाकाबाट दैनिक सरदर २५ क्वीन्टल धान भारतबाट नेपाल आइरहेको छ, जुन खरिदार दरबन्दीको छोटी भन्सार गौरीगञ्जको रेकर्डमा देखिंदैन। भारतीय सरकारले किसानलाई दिएको सहुलियत र मजदूरको न्यून ज्यालाले भारतमा धानको मूल्य नेपालको तुलनामा सस्तो छ।

भन्सारको रेकर्डमा नदेखिने यस्तो आयात अलग गर्ने हो भने पनि पूर्वी सीमा काँकडभिट्टास्थित मेची भन्सारबाट आर्थिक वर्ष २०७१/७२ को शुरूको दश महीनामा रु.४० लाखमा ७४ हजार ४१५ केजी भारतीय धान भित्रिएको देखिन्छ, जसको मूल्य रु.९ करोड ९० लाख ८५ हजार थियो। जबकि आ.व. २०७०/७१ मा १ लाख ३७ हजार ५०० केजी मात्र धान आयात भएको थियो। (हे.टेबुल) आयातीत धानमा पाँच प्रतिशत भन्सार महसुल लाग्ने गरेको छ।

स्रोतः मेची भन्सार कार्यालय

महँगो भुस र कनिका

धानको मूल्य अघिल्लो वर्षको भन्दा आधा भए पनि भुस र कनिकाको मूल्य भने घटेको छैन। दमक–११ स्थित इलाम लघु उद्योगले भुस प्रतिकेजी रु.१९ मा बेचिरहेको छ। ब्रान भनिने मसिनो भुस र जाँडरक्सी बनाउन प्रयोग गरिने कनिका (खुदी) को मूल्य भने प्रतिकेजी रु.२४ छ।

२०१७ सालमा स्थापित उद्योगका व्यवस्थापक पवनकुमार अग्रवाल धानको मूल्य दशकयताकै न्यून भएको बताउँछन्। मेची र कोशीका पहाडी जिल्लामा चामल लैजाने उनी यो वर्ष धानको भाउ घट्नाले करीब रु.४० लाख घाटा भएको बताउँछन्।

दमक–१ स्थित नवोदय राइस मीलले गत वर्ष मंसीरमा रु.५७ लाखमा ३० ट्रक धान खरीद गरेको थियो, जुन आजको भाउमा रु.४० लाख जतिको मात्र हो। मीलका प्रबन्धक नवीन बराल भन्छन्, “किसान मात्र होइन हामी जस्ता व्यापारीले पनि ठूलो नोक्सानी व्यहोरिरहेका छौं।” गत मंसीरमा प्रति क्वीन्टल रु.२ हजार ६५० भाउ पाएको रञ्जित मंसुली अहिले रु.२ हजार ३००, रु.२ हजार २०० परेको सोना मंसुली अहिले रु.१ हजार ९५० र रु.४ हजार परेको बासमती रु.३ हजार २०० को भाउमा बजारमा पाइन्छ। पछिल्लो भाउले 'स्टक' गरी नाफाको सपना बुनेका व्यापारीको दाँतमा ढुंगा लगाएको छ।

कृषि विकास कार्यालय, झापाका अनुसार यो वर्ष किसानले १९ हजार ८०० हेक्टरमा चैते धान लगाएका थिए, जसबाट ९५ हजार ४० टन उत्पादन गरेका छन्।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम