१०-१६ साउन २०७२ | 26 July - 1 Aug

कठै पुस्तकालय

Share:
  
- भीष्म बाँस्कोटा
कम्तीमा त्यसवेलाको दोलखाकै इतिहास थाहा पाउन पनि भीम पुस्तकालयको संरक्षण जरुरी छ।

महाभूकम्पसँगै दोलखा जिल्लाको चर्चित भीमेश्वर मन्दिरको चिन्ता धेरैले गरे, तर छेवैमा रहेको भीम पुस्तकालयलाई कमैले सम्झिए। भूकम्पले गर्दा ६ दशक पुरानो यो पुस्तकालयले पनि दुर्दिन भोग्नुपर्‍यो।

भीमेश्वर नगरपालिका–२ स्वयम्भूस्थानमा रहेको दुई तलाको पुस्तकालयको दलिन भूकम्पअघि नै धमिराले खाइसकेको थियो। जीर्ण संरचनालाई भूकम्पले कामै नलाग्ने बनाइदियो। भित्र, बाहिर दुवैतिर चर्किएर धराप बनेको भवनमा आवतजावत गर्नै डरलाग्दो भएको पुस्तकालय सञ्चालक समितिका कोषाध्यक्ष भरत श्रेष्ठ बताउँछन्।

भीम पुस्तकालय।

भीष्म बाँस्कोटा

त्यसो त पुस्तकालयको जन्म पनि विपत्सँगै जोडिएको छ। स्थानीय राजकुलेश्वर निमाविका शिक्षक तीर्थनारायण जोशी २००८/०९ सालतिरै स्वयम्भूस्थानमा स्थापित भैरव र त्रिपुरा पुस्तकालय २०२३ सालको आगलागीमा ध्वस्त भएको बताउँछन्। दुवै पुस्तकालयका बचेखुचेका र केही नयाँ पुस्तक भेला गरी २०२४ सालमा भीम पब्लिक हाईस्कूल (हाल उमावि) को एउटा कोठामा भीम पुस्तकालय स्थापना गरिएको हो। जसमा हाईस्कूलका तत्कालीन शिक्षक रामबहादुर श्रेष्ठ (कविताराम) र अमरकुमार प्रधानले विशेष योगदान दिएका थिए। सोही वर्ष प्रधानपञ्च भरतबहादुर श्रेष्ठले भवन बनाई अहिलेको स्थानमा पुस्तकालय सारेका थिए।

पुस्तकालयमा नेपाली, हिन्दी र अंग्रेजी भाषामा लेखिएका एक हजार ७६३ वटा पुस्तक छन्। भारतको बृहत् इतिहास (१९५१) प्रथम र द्वितीय खण्डदेखि भानुभक्त आचार्य, लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला लगायतका रचना छन्। दोलखाको इतिहास बताउने विभिन्न कालखण्डका पुस्तक र पत्रपत्रिका पनि पुस्तकालयमा छन्। पुस्तकालयका कोषाध्यक्ष श्रेष्ठ पुस्तकालयमा प्रथम विश्वयुद्धबारे लेखिएका धेरै पुस्तक हराएको बताउँछन्।

ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक, व्यापारिक, राजनीतिक दृष्टिले पूर्वमध्यकालदेखि चर्चित दोलखाको खोज, अध्ययनका लागि आउनेका लागि भीम पुस्तकालयको विकल्प कम्तीमा अहिलेका लागि छैन। त्यसैले तत्काल पुस्तकालयको संरक्षण र व्यवस्थापनमा जुट्नुपर्छ।

(बाँस्कोटा पुरातत्व विभागमा कार्यरत छन्।)

comments powered by Disqus

रमझम