१०-१६ साउन २०७२ | 26 July - 1 Aug

जिजीविषा मन्थन

Share:
  

अद्वैत वेदान्त भन्छ– 'ब्रह्म सत्य जगत मिथ्या।' यसरी हेर्दा जब मानिस ईश्वर बुझ्ने प्रयत्न गर्छ तब ईश्वरका रुपमा ब्रह्म पुजिन थाल्छ। ईश्वरीय सत्यका अघि सांसारिक कर्म मूल्यहीन हुन पुग्छ– जे छन्, ईश्वर छन्, कर्ता र कारक उनी नै हुन्।

जर्मन दार्शनिक फ्रेडरिक नित्सेले आफ्नो बहुचर्चित कृति दी गे साइन्स मार्फत ईश्वरको मृत्यु भइसकेको तर्क गरे। आधुनिक विश्वको नैतिक सिद्धान्त रक्षा गर्न मानिआएको 'ईश्वर' असमर्थ भएको उनको धारणा थियो।

पुस्तक मृत्यु संग्रह

प्रकाशक विवेक सिर्जनशील प्रकाशन प्रालि

पृष्ठ ८०

मूल्य रु.१२०

लघुकथाकार सुमन सौरभको जिकिर भने अलि फरक छ। 'मानिसको मन र मृत्यु उस्तै–उस्तै हुन्छन्, जति बुझe पनि रहस्य बाँकी नै रहन्छ। दुवै उस्तै चञ्चल हुन्छन्, एकअर्कालाई झुक्याइरहन्छन्', मृत्युबारे उनको मत छ।
मृत्यु जीवन जस्तै सत्य हो, तर मान्छे जीवन रहेसम्म मृत्युको हारको कामना गरिरहन्छ। त्यो अपराजित मृत्युमाथि सौरभले चौथो लघु कथासंग्रह मृत्यु संग्रह प्रकाशित गरेका छन्। शीर्ष पात्र नै 'मृत्यु' भएको यो संग्रहले काल अर्थात् मृत्युको जीवनको चर्चा गर्छ।

मृत्यु खबरै नगरी आयो भन्ने मान्छेहरूको गुनासो सुनेपछि एकदिन मृत्यु नृत्यरत भुईंचालो बन्छ। सुसेल्दै बाढी बन्छ, बाँसुरी बजाउँदै आँधी बनेर फैलन्छ र महामारी बनेर ताली बजाउँदै बस्तीमा पस्छ। उसलाई लाग्छ– अब मान्छेको गुनासो सकिनेछ। तर, क्षणभरमै निराश बनेको ऊ आमासँग गुनासो गर्छ, “भोग्नेहरूले त हल्ला मच्चाए नै, भाग्नेहरूले पनि हल्ला गरे। सुन्ने मात्रैले पनि यति मरे, उति मरे भन्दै भएनभएका हल्ला गरे।'

पुस्तक एकलव्य दृष्टि

प्रकाशक फाइनप्रिन्ट

बुक्स पृष्ठ १०६+

मूल्य रु.१५०

'सल्लाह' शीर्षकको यो सहित उनका ४८ वटा लघुकथा मृत्यु र मानिसमा केन्द्रित छन्। कथाहरूमा मृत्युलाई जिल्याउने मान्छेको माया, लोभ र भयका आयाम छन्। अनि छन्, गरीबी–मृत्यु सम्बन्धका पाटा। यो मृत्यु वृत्तान्तले कतिपय पाठकलाई झिजो लगाउन सक्छ। कतिलाई मृत्युको 'पोट्रेट' रंगहीन लाग्न सक्छ। यद्यपि, हास्यचेतले भरिएका कथाले थाहै नपाई जीवन र मृत्युको दर्शन बुझाउँछ। यो संग्रहले सौरभलाई समकालीन लघुकथाकार बीचमा फरक देखाएको छ।

पेशाले प्रजनन् तथा बालस्वास्थ्य विशेषज्ञ रवीन्द्र समीरको आठौं संग्रह एकलव्य दृष्टि मा ८२ थान लघुकथा छन्। प्रायः सबै कथामा समीर कुसंस्कारको विरोध र सार्थक परिवर्तनको वकालत गर्छन्। कथाको प्रमुख पात्र डा. शर्मा आफ्ना बिरामी, साथी र अन्यपात्रका मद्दतले चिकित्साशास्त्रकै निर्मम शल्यक्रिया गर्छन्।

'बुचर चिकित्सा' कथामा डा. रवीन्द्र समीर जन्डिसग्रस्त बालकको पित्तथैलीको शल्यक्रिया गरेर लाखौं कुम्ल्याउँछन्। 'कमाइ र घाटा' कथामा दुई चिकित्सक मदिरा वार्ता मार्फत बिरामी बढाउने योजना बनाउँछन्। त्यस्तै, 'बहिष्कार' शीर्षकको कथामा हिन्दूबाट खि्रष्टियन बनेका पात्रको विरोधाभास छ। 'लत' मा छोराकोे फेसबुक लतप्रति चिन्तित बुबा आफैं फेसबुके पारामा बोल्न थाल्छन्।
लघुकथामा लामो यात्रा गरे पनि समीरका कथाले शिल्प र प्रस्तुतिमा अझ परिष्कार माग गर्छन्। थुप्रै कथाका शीर्षक चोटिला छन् तर कतिपय कथा, कथा जस्तो लाग्दैनन्। कथामा निहित सन्देशको अधिकताले भने एकलव्य दृष्टि लाई सफल संग्रह बनाएको छ।

रविन गिरी

comments powered by Disqus

रमझम