१०-१६ साउन २०७२ | 26 July - 1 Aug

चरित्रको वैतरणी

Share:
  
आफूलाई असल चरित्रमा ढाल्नु नै जुनी फेर्नु, वैतरणी क्याफेको सन्देश हो।

गोपेन राई
“मान्छे भएपछि के बन्न चाहनुहुन्छ?” जुनी फेर्न तम्तयार मृत प्राणीहरूलाई सोधिन्छ। उनीहरू भन्छन्, 'लेखक, वकील, अभिनेता...।'

कलाकार दयाहाङ राईको लेखन तथा निर्देशन रहेको नाटक 'वैतरणी क्याफे' ८ साउनदेखि अनामनगरस्थित मण्डला नाटकघरमा मञ्चन भइरहेको छ। नाटकमा मृत्युलोकको काल्पनिक संसार निर्माण गरिएको छ, जहाँ पशुपक्षीको एक समूह जुनी फेर्न चाहन्छ। मान्छे बन्न लालायित उनीहरूलाई एउटा सामूहिक काममा लगाइन्छ। फरक–फरक गुण, स्वभाव र क्षमता भएका उनीहरूबीच सहकार्य हुन गाह्रो हुन्छ तर एउटै उद्देश्य भएकाले मिल्नुको विकल्प पनि हुँदैन।

“समूहमा काम गर्नु चुनौतीपूर्ण कुरा हो”, निर्देशक राई भन्छन्, “तर, एक–अर्कालाई बुझेर र आपसको गुणदोष स्वीकारेर काम गर्ने हो भने सजिलो पनि हुन्छ।” विषम् परिस्थितिमा एक भएर मात्र परिवर्तन पहिल्याउन सकिने नाटकको सन्देश छ।

नाटकमा सिंह, रानीमौरी, बारुला, लाटोकोसेरो, बाघ, कमिला, खरायो, गिद्ध जस्ता पात्र छन्। जसमा वाल्मीकि पोखरेल, सिर्जना सुब्बा, विजया कार्की, विजय बराल, उमेश तामाङ, मोहम्मद नाजिर हुसेन, विकास जोशी, आर्जेश रेग्मी, संयोग गुरागाईं, रियर राई, अनुप न्यौपाने, मिलन कार्की, रोहित पौडेल र अंकित खड्काले अभिनय गरेका छन्।

'आधा सुर' समूहको सांगीतिक सहकार्यले नाटकमा ओज थपेको छ। पात्रहरूका तर्क/कुतर्कले वेला–वेला हँसाइरहन्छ। कतिपय दृश्य अनावश्यक लामा छन्। कमिलाको फोटोग्राफी र बारुलासँगको उसको प्रेम–प्रसंग अस्पष्ट लाग्छ।
“पात्रहरू धेरै भएकाले पनि नाटक बहकिएको छ”, नाटक हेरेका कवि श्यामल भन्छन्, “सामान्य दर्शकलाई निचोड निकाल्न मुश्किल पर्न सक्छ।”


सल्मा सौन्दर्य

बुर्का र गृहस्थीमै सीमित अधिकांश मुसलमान समुदायका महिलामाझ सल्मा आगा (२८) भने फरक चिनारी बनाउने प्रयत्नमा लागेकी छन्। आरुघाट, गोरखामा जन्मे–हुर्केकी उनले काठमाडौंको कपुरधारामा हालै 'रुपश्रृंगार लेडिज ब्यूटीपार्लर' खोलेकी छन्। उनी ब्यूटिसियन बन्ने सपना पूरा भएकोमा खुशी छन्।

तर, उनको समुदायमा महिलाको सौन्दर्यलाई अझै पनि अनावश्यक ठान्नेहरूको कमी छैन। “महिलाले कोरीबाटी, मेकअप गर्ने/गराउने कुरा हाम्रो समुदायमा बञ्चित जस्तै छ”, उनी भन्छिन्, “धेरैले त यो क्षेत्रमा प्रवेश गर्ने आँट पनि गर्दैनन्।”

एक छोराकी आमा सल्मा काम–धन्दा भ्याएर पार्लर आउँछिन्। परिवारको सहयोगले नै यो पेशा अँगाल्ने हिम्मत बढेको बताउँदै उनी अन्य मुसलमान महिलालाई पनि स्वाबलम्बी बन्न आग्रह गर्छिन्। “हामी सधैं परनिर्भर भएर हुँदैन, जानेका कुरा गर्न अघि सर्नैपर्छ”, उनी भन्छिन्।

comments powered by Disqus

रमझम