१७-२३ साउन २०७२ | 2-8 August 2015

थ्रीजी महाराजकी जय!

Share:
  
- महेश थापा
हुल्लडबाजी गरेर लाठीवालकै भैंसी पार्नेमा अब राजनीतिकर्मी एक्ला रहेनन्।

भानु भट्टराई
निकुञ्जको जग्गा अतिक्रमण गरेकोमा एक जना स्वामीभक्त पक्राउ पर्दा मुस्तण्डहरूले सडक अवरुद्ध पारे। समातिनेका स्वामीले पत्रकार सम्मेलन नै गरे। “म सुतेको बाघलाई जिस्क्यायौ, अब चाख्छौ!”

स्वामीजीको बलिष्ठ पाखुरी हावामा लहरायो।

“अब तरबार उठ्छ, धर्मयुद्ध छेडिन्छ।”

स्वामीजी खुँखार मुद्रामा देखिए।

“प्रधानमन्त्री, मन्त्री जस्ताहरू मेरो द्वारमा पसारिन आउँछन्, मेरो एक झिम्के इशारामा राजीनामा ठेलेर सडकमा आउन माननीयहरू लालायित छन्।”

स्वामीले दह्रै जोते। लंगुर माफिक बुर्कुसी मार्दै आइपुगेका एक माननीयले साष्टाङ्ग दण्डवत्मा स्वामीभक्तिको 'डेमो' देखाउँदा मलाई खुस्कुँला कि जस्तो भयो।
“को हुन् यी महापुरुष?” हतप्रभ मैले भीडमा एक भक्तलाई कोट्याएँ। मैले एक नाम सोधेको उनी सातपुस्ते फलाक्न थाले।

“भो, सास्ती नबेसाऊ!” बीचैमा मैले रोकें। यो नाथे नामको गोलचक्करमा रुमल्लिंदा स्वामीजी अलप हुनलाई हेलिकप्टर चढिसकेछन्।

भारतवर्षमा अचेल स्वामीहरूको गतिलै चहलपहल छ। जोसुकै चण्डालले पन्डाल टाँगेर प्रवचन दिन थाले'सि मन्त्रमुग्ध भई सुन्नेहरूको कौनो कमी हुन्न। जीवनमा तरक्की गर्ने लालसाले पत्नी/प्रेमिका त्यागेका (नत्यागेका र पत्नी/प्रेमिका गोप्य राखेका पनि छन्) यस्ता चण्डालहरूप्रति लक्ष्मीमाताको उस्तै अनुकम्पा देखिन्छ। मोबाइल थिचेको भरमा ऐश्वर्यको रास लगाउने यस्ता बाबाहरू लोकको कष्ट हरणका लागि आफूले यो दुःख उठाएको बताउँछन् र त्यसलाई पत्याउने भक्तहरूको भीड तयार हुन्छ। तिनले त्यो धनविज्ञानै बताइदिए लोकले आफ्नो कल्याण आफैं गर्दो हो!

योग–साधनामा तल्लीन हुनेहरू साधु/सन्त कहलिन्छन्, पत्रकार सम्मेलन गर्ने स्वामीजीको रुचि चाहिं सरकारी तथा सामुदायिक जमीनमा भोगाधिकार कायम गर्नेमा रहेछ। यिनको इशारामा मन्त्रीहरू राज्यको ढिकुरो फोर्न तुलबुलाउँदारहेछन्, अदुवा अड्डाका जिम्मुवाल हिसाब मिलान गर्न उत्सुक हुँदारहेछन्। स्वामीजीको महिमा सुनेर म पनि तुल्बुलिंदै राष्ट्रिय निकुन्जमा निर्मित राजसी गोल दरबारमा पुगें। उहिले ठूला साधुसन्तहरू वनको कुटीमा बस्थे रे, अहिलेका स्वामीजी जङ्गलमा पृथ्वीतलको सबै सुखसुविधा र सुरक्षा भएको महल बनाएर बसेका रहेछन्। पाँचसितारा आश्रमको चकाचौंधले तिलमिलाएको आँखा मिच्दै गर्दा मेरो मनमा झवास्स् झ्स्कना पस्यो– निकुन्जको जमीनमा भोगाधिकारको बलठेल गर्दा दुनियाँले भोगी भएको आरोप लाउन्नन्?

तदनुरूपको जिज्ञासा राख्दा स्वामी महाराज बोले, “मेरै आश्रमको प्रतापले देशको सीमा साबुत छ।”

“त्यसो'भे त कालापानी, लिपुलेकतिर पनि विस्तार हुनुपर्‍यो स्वामीजी”, म उत्साहित भएँ।

“म भन्छु, हाम्रो धर्ममाथि नियोजित आक्रमण गर्ने खालको कुरा गर्दै नगर।” “लिपुलेकतिर पनि अर्थ जोडिएको महाराज!”

“हिन्दू राष्ट्र कायम भएन भने नेताहरूलाई भुतभुते लाएर खेदिन्छ।” “यो राजनीतिक विषय नेताहरूले सल्टाउँछन्, स्वामीजी किन बिटुलिने? “क्रिस्थानीहरूले हिन्दू राजाको शासन फालिदिंदा बेथिति आएको देखेनौ?” स्वामीजीले खाउँला झैं गरे।

“वन मास्दा, सार्वजनिक सम्पत्ति हडप्दा, अदृश्य स्रोतबाट दाम कमाउँदा, देशको ढिकुटीमा धक्का दिंदा, किर्ते बिलबिजक बनाउँदा पो अनाचार, भ्रष्टाचार र बेथिति मौलाउँछ भन्छन् त स्वामीजी!”

स्वामीजीको नयन कोमल देखिएन। र पनि, हल्का आँट कस्दै थपें, “नियम/कानूनको पालनाबाटै धर्मको पनि जगेर्ना हुन्छ पनि भन्छन्।”

स्वामीजी कमल जस्ता पनि देखिएनन्, बरु हातपाउ फाल्ने मूडमा पो देखिए। भयातुर मैले लघुशंकाको बहानामा धाइफल दिनु उत्तम ठानें। दौड्दा दौड्दै भीडको गगनभेदी स्वर कानमा पर्न गयो– “श्री स्वामीजी महाराजको जय!”

अनि मेरो भेजामा पनि बिजुली चम्क्यो। ठिङ्ग उभिएर विचारें– आचार, विचार, व्यवहार र समृद्धिको रफ्तार समेतलाई हेर्दा स्वामीजी थ्रीजी महाराज हुनुहुँदोरहेछ– उत्तरआधुनिक साधु। स्मार्टफोनको सफ्टवेयरमा दैनिक अपलोड–डाउनलोड दनक दिने ऋषि संस्कृतिको मोर्डन भर्सन। दिनहुँ नेतालाई बोकेर समाजलाई टोक्नु यो भर्सनका स्वामीको विशेषता हुन्छ। पुरानो नेपालमा हामीलाई खप्तडबाबा, शिवपुरीबाबा, बालगुरु षडानन्द आदिले धर्मको अर्थ र विचारको विज्ञान बताए। नयाँ नेपालले पनि केही थान हाइटेक बाबा जन्माउन सक्नु गौरवकै बात हो। नत्र त, देशको अनुहारमा धब्बै लागेर मर्थ्यो। यो त चानचुने उपलब्धि होइन नि! यसरी पुलकित हुँदा पर पुगिसकेको विचरा म एक्लै कराएँ, “थ्रीजी महाराजकी...”

आश्रममा भीडले सुनेछ क्यार, गगनभेदी समर्थन आयो, “जय!”

comments powered by Disqus

रमझम