१७-२३ साउन २०७२ | 2-8 August 2015

भोटलाई चन्द्रशमशेरको अर्ति

Share:
  
- ज्ञानमणि नेपाल
आफ्नो अडानमा अडिग भोटलाई चन्द्रशमशेरले जति सम्झाए पनि भोट–अंग्रेज युद्ध टरेन।

चन्द्रशमशेर।
भारतीय शासकहरूको सत्ता लुछाचुँडी, राजनीतिक चातुर्यहीनता र कुशासनका कारण इष्ट इण्डिया कम्पनीका अधिकारीहरूले सजिलै राजकाज हत्याउन थालेका थिए। वि.सं. १८१४ मा बंगालको राजसत्ता हत्याएका कम्पनी कोठीका अधिकारीहरू त्यसको सातै वर्षमा दिल्लीको तखतलाई दक्खल दिन समर्थ बने।

त्यसवेला अंग्रेजसँग जुध्ने शक्ति भएका उत्तरमा गोर्खाली, पश्चिममा शिख र दक्षिणमा मराठा थिए। परन्तु त्यो त्रिशक्ति कहिल्यै साथ भएन। एक्लाएक्लै लड्दा गोर्खालीले तै बरु अस्मिता अस्तित्वसम्म जोगाउन सके पनि कुनै भारतीय शक्तिले गोरासँग लोहा लिन सकेनन्। आखिर सय वर्षको अवधिमा अंग्रेज शक्ति विश्व विजयमा उन्मुख भयो।

भारत अब इष्ट इण्डिया कम्पनीबाट नभई सोझै इङ्गल्याण्डबाट शासित हुने महारानीको राजमा परिणत भइसकेको थियो। गभर्नर जनरलका ठाउँमा वायसराय नियुक्त हुन थाले। एशियामा अंग्रेजको उपनिवेश नभएका देशमा नेपाल, भोट, चीन र जापान मुख्य थिए। नेपाललाई राणाले जस्तै जापानलाई शोगुनहरूले जकडेर राखेका थिए। शोगुन निरंकुशताबाट उम्कनासाथ जापानले विज्ञान–प्रविधि अपनाएर विकेन्द्रीकरण सहितको शासनद्वारा तीन दशकमै पश्चिमाहरूलाई चुनौती दिनसक्ने राष्ट्र बन्यो, चीनबाट खोसेर फार्मोसा टापुमा आधिपत्य जमायो।

त्यसैवेला व्यापारिक र राजनीतिक प्रभाव जमाउन युरोपीय राष्ट्रका जंगी बेडाहरू चीनका बन्दरगाह आउन लागे। याङ्सी नदीमा अंग्रेजले अधिकार जमायो। विश्वमा अंग्रेज प्रभाव यतिमाथि पुगिसकेको थियो कि अंग्रेजराजमा सूर्य अस्ताउँदैन भनिन्थ्यो। चन्द्रशमशेरले भोटमा काजीलाई चिठी लेख्ता यही कुराको बढाइँ गरेका थिए। त्यसवेला चीन र नेपालको प्रभावक्षेत्र भित्र रहेर बाँकी विश्वबाट विल्कुल अलग्गिएको एक मात्र भोट देश थियो। नेपालमै व्यापारीकोठी खोल्न नपाएका अंग्रेजले भोटमा आँखा गाडे पनि हात हाल्ने औसरै पाएको थिएन। अंगे्रजले अघि चीनको माध्यमबाट भोटमा व्यापार प्रतिनिधि राख्ने कुरा गरेकोमा हाम्रो सहमति छैन भनेर भोटले मान्दै मानेन।

यस्तै अवस्थामा वायसराय भएर भारत आएका लर्ड कर्जन रूसको प्रभाव कम पार्न आफैं इरान गएर वाणिज्यदूत राख्ने सम्झौता गरेका थिए। तर, भोटमा आफ्नो सम्पर्क व्यक्ति नभएकाले ब्रिटिशहरूले भोट वा रूसका कुरा बुझन नेपालकै माध्यम अपनाउनुपर्थ्यो। कर्जनले भने पहिलेको सम्झौताको आड लिएर यङ्ग हज्वेन्डको नेतृत्वमा सुखिमको नाथुला भञ्ज्याङ्गबाट एउटा दल पठाए। तर, भोटका अधिकारीले यङ्ग हज्वेन्डलाई खाँवाजुङ्गमै रोकेपछि युद्धको स्थिति आयो।

युद्ध भए १२ सालको सन्धि बमोजिम नेपालले भोटलाई सहयोग दिनुपर्ने हुनाले चन्द्रशमशेर संकटमा परे। उनी अंग्रेजलाई चिढ्याउन चाहँदैनथे। युद्ध टरोस् भनेर उनले भोटका चार काजीलाई लामो उपदेश दिंदै मिल्न चिठी लेखे। उनले अंग्रेजसँग मिलाप गर्दा हामीलाई लाभै भएको छ, हाम्रा प्रतिनिधि, चीनका प्रतिनिधि बसेर सल्लाह गरेर तिमीहरूको भलो हुने गरी सम्झौता गर, युद्ध नगर भनेर सम्झाए। परन्तु, भोटले आफ्नो ढिपी छाडेन, युद्ध भइछाड्यो।


श्री ३ चन्द्रको ४ काजीलाई चिठी पठाई अंग्रेजसँग लड्नु सम्भव उचित छैन भनी सम्झाएको

१९६० भाद्र २० गते रोज ७

स्वस्ति श्री मद्दति प्रचराड भजदण्ड त्यादि श्री श्री श्री महाराज चन्द्रशमशेर जंगराणा बहादुर थोङ लिन्पिम्बाको काङ वाङ स्यान् प्राइम् मिनिष्टर अैण्ड मार्शल मुलुक नेपाल कस्यरुका ...

स्वस्ति श्री सर्वोपमा योग्य त्यादि राज भारा सामर्थ श्री ल्हासाका ४ काजिहरूको सलाम् पूर्वक पत्रमिदं. याहा कुशल ताहा कुशल चाहिये. आगे यांहाको समाचार भलोछ उप्रांत. हाल् भोट सर्कारले सन् १८९० साल्मा र १८९३ साल्मा अंग्रेज सर्कारसंग गरेका अहद बमोजिम्को काम् नगर्दा सौही अहद वमोजिम्को काम कुरा गरी चलाउनलाई अंग्रेज सर्कारका भारदारहरू खाम्वा गोङ भने ठाउंमा आई बस्याको धेरै दिन भयो. भोट सर्कारबाट पुरा अखत्थार पाई ठुला भारदारहरू सो ठाउंमा नपठाउंदा र ताहा रहाको भारदारहरूले पनी राम्रा हिसाब संग काम कुरा केही नगर्दा कुरोको केही ठेगान् नलागी अंग्रेज सर्कारबाट खटी आयाको भारदारहरू तेसै बस्याका छन् भन्या हाल् सुनिन्छ भनि हाम्रा दोसाध नजिक्मा रहाका भारदारहरूले जाहेर गरी पठायाकोबाट र अरु अखवार छापाहरूबाट पनी जाहेर भयो. तिमीहरूनै तेस्तर्फको हाल् सुरथ केही लेखी नपठाउंदा मनमा ताप लागीरहेछ. अघिदेखि गोर्खा भोट र सर्कार दाज्यु भाई जस्तो मिलीजुली काम् गरी आयाको हुनाले येसवेलामा तिमीहरूलाई बढीया हुन्या हाम्रा चीत्तले देख्याको कुरा लेखी सम्झाई पठायाको छ. अघि भोटले रुससंग भित्री बरवंदोबस्त गर्न लाग्या भंन्या खबर सुन्दा पनी यो कुरा कसो हो भनी राम्रा हिसाब संग १९५८ साल भाद्र वदि ८ रोज ६ मा सोधनि गरी लेखी पठायाको थियो. तेस्का जवावमा तिमिहरूले पनी यो कुरा होइन गोर्खा भोट र सर्कारका बीचमा फाटो पार्नालाई मात्र तेस्तो कुरा छापामा छापियाको हो भनी १९५८ साल मार्ग शुदी ५ रोज २ मा लेखी पठायौ यस्तो आफ्नु मुलुक विग्रन्या कुरा तेस्ता बुदिवंत तिमीहरूबाट कैल्हे हुंथ्यो भन्या निश्चय मानी तिमीहरूले लेखी पठायो कुराको प्रतित्मानीः अघिको झै दोस्ती प्रीति मन मानी रह्याका छौ ...

आजकाल् फेरी अंग्रेज सर्कारबाट भोट सर्कारसंग अघि भयाका अहद बमोजिम काम् हवस् भना निमित्त छलफल गरी दुवैतरफ का चित्त बुझाई कुराको ठेगाना लाउने मंन्सुवा राखी आफ्ना ठुला भारादारहरू खांवा झुङ्मा खटाई पठायाको धेरै दीन भयो र पनि तिमिहरूले आफ्ना ठुला वुद्धिवंत पुरा अखत्यार पायाका भारादारहरू नपठाई यतिका दीनसम्म पनि मुनासिव माफिक्को कुरा कहानि मिलाउन्या हिसावका काम् केही नगर्‍याको अथवा मिलाउन नसकेको देखदा यस्तो वेहिसावको काम्ले केही चमक् उठी केही उपद्रव हुन जालाकि भंन्या साह्रै मन् हडबडाई रहेछ...

१२ साल चैत्र वदि ३ रोज २ मा गोर्खा भोट् र सर्कारका विचमा भयाको अहदमा भोट सर्कारलाई वाहिरीया मुलुक्का राजाहरूले भोट्मा चढाई गर्‍या भन्या गोर्खा सर्कारले ग्वाहार दिनु भंने लेखियाको छ तेसो हुनाले कसैसंग तिमिहरूको कुरा नमिलन्या हिसाव देखियो भन्या पैल्हेदेखि हामिले तिमिहरूलाई सो कुरा नमिलनाले आपत् आउन नपाउने भरमगदुर गरी सरसल्लाह वोत वेहोराको मद्दत दिनु पर्ने हुनाले र तिमिहरूबाट भयाका हाल्का काम्को ढांचा राम्रो नदेखिनाले तिमिहरूमाथी यस्तो आफैले वेसायको कष्ट पर्‍यामा हामिबाट मद्दत् बक्सिन्या कुरा क्या हो भन्या भोटको वेहत्तर हुन्या सल्लाह दिनु सो सल्लाह तपसिल्मा लेखी बक्स्याको छु. सो बमोजिम् गर्नालाई आफुले सल्लाह मिलाई पोतला लामाज्युसंग विंति गरि चांडो ठेगाना गर्‍यैछौ भंन्या हामिलाई ठुलो भरोसा लाग्याको छ. लेखीयाका कुराको सल्लाह लियेनौर पछि तिमिहरूलाई दुख परी आयो भन्या हामिले भन्याको कुरा नमानी आफ्नु मन्पर्दो गरी तिमिहरू आफैले पार्‍याको दुखमा हामिबाट अरु मद्दत् दिन्या बाटो रहन्या छैन. सो बुझ्नु किनभन्या अंग्रेज सर्कारले भोट माथि केही अंन्याय गर्‍याको देखिदैन. अहदै बमोजिम्को काम् चलाउने कोसिस्मा मात्र लागेका हुन्. भयाका अहद बमोजिम् काम् चलाउने कोसीस्मा लागनु सबैको हकै हो. सो हक् पुरा गराउन आयाका तेत्रा ठुला सर्कारका भारादारलाई सत्रु जस्तो समझि कुरा नमिलाउनु अहद र नीतिको विपरीत हो. यो सेवानाका काम वादशाह १ बाट तिमिहरूको मेल होस् भंन निमित्त ठुला मान् भयाका अम्बाहरू समेत खटाइ राखी बक्सेको छ भंन्या नीज अम्बाहरूले दियाका सल्लाहमा समेत् नलागी अंग्रेज सर्कारका भारदारहरू संग राम्रो गरी कामकुरा नगर्नु तिमिहरूको ठुलो भुल हो...

तपसिल

अंग्रेज सर्कार यस्ता ठुला छन् भंन्या तिमिहरूले जान्या बुझेकै छौ. तेस्ता ठुला सर्कारबाट र सर्कारका बीचको अहदको कुरा गर्न पटी आयाका भारदारहरसंग वास्तै नराखे जस्तो गरी अनादर गर्नु नीति विपरीत् कुरा हो...१

आफुले १ पल्ट गरी सक्याको अहद कायम् राख्न सबैको धर्म हो सो कुरो हवस भंन्या मात्र इच्छा राख्न भयाका तेस्ता बलिया अंग्रेज सर्कारसंग सोझो मुनासिव माफिक्को कुरा नगरी विरोध बढाउन्या हिसाव गरी आफ्ना दुनीया माथि आपत्ति पर्न आयो भन्या ठुलो अधर्मको कुरा हुन जान्छ...२

अंग्रेज सर्कारसंग सन् १८९० सालमा भयाका भोट् सर्कारको अहदलाई हामीले गर्‍याको होइन चिनियांहरूले गरेको अहद हो सो अहद हामी मान्दैनौं भनि तिमिहरूले भन्यौ भंन्या सुनिंछ सो कुरा तिमिहरूले भन्याका हौ भन्या वहुतै नराम्रो कुरा गरेछौं वादशाहलाई तिमिहरूले अघिदेखि मानी आयाको हो. यो कुरा गोर्खा र भोट् सर्कारका बीचको १९१२ साल्को अहदमा पनी प्रष्टै लेखीयाको छ भने अघि भयाका अहदलाई चीनीयाले गर्‍याको हामी मांदैनौ भंनु हुदैन. जो भया पनि तिमिहरूकै निमित्त भयाको भयापछि तेस्तो कुरा गर्नु मुनासिव छैन...३

हेर १९७२ सालदेखी गोर्खा सर्कारको र अंग्रेज सर्कारसंग अहद भै दुवै सर्कारका तर्फबाट दुवै तिर वकील रही सो भयाको अहदमा घटि बढी नपारी काम् चलाई आयाको हुनाले बराबर गोर्खा सर्कारलाई फाइदा भयाको कुरा सबै लेखी निर्वाह छैन. अहद भया पछि वर्षत् वर्षत्मा अंग्रेज सर्कारले लाखौ रुपमा आम्दानी हुन्या अघी लउयीं हुदा गोर्खाबाट गुमायाको मुलुक् पनि फिर्ता गरी दिया. सो कुरा तिमिहरूलाई पनी थाहा हुनुपर्छ...४

यो कुरो पनी तिमिहरूका मनमा वेसगरी बोध हवस् कि अैल्हे तिमिहरूको वास्ता परी आयाको अंग्रेज सर्कारमा येकै जनाको मन पर्दो काम हुन सक्दैन. धेरै जना कौसलीयाहरूकै येकै राये मिलाईकन मात्र काम हुंछ. यतिका दीनसम्म हाम्रो मुलुक स्वतंत्र रहन दियाकोले पनि येस्कुराको प्रमाण पुग्छ केन भन्या अंग्रेज सर्कारले हामीसंग जथाभावी गरी अंन्याये गर्न्या मन गर्‍र्याको भया हाम्रो स्वतंन्त्रता सजीलै संग जाइ सक्ने थियो. अंग्रेज सर्कारसंगको हाम्रो काम कुरामा सबै भंदा ठुलो क्या देखिंछ भन्या तिमिहरूले हाम्रो धर्म सन्वंधी र हाम्रो चलेको विधि वेवहार सन्वंधी काम कुरामा रत्तीभर पनी खड्बड् पारेको छैन. तसर्थ तिमिहरूले अझै पनी औसर छोपी अंग्रेज सर्कारसंग सम्बंघ राखनाले जो फाइदा भयाको छ तस्तै फाइदा भोटलाई पनि हुन्याछ भन्या मलाई निश्चये छ. हाम्रो झैं तिमिहरूको पनी अंग्रेज सर्कारसंग मेल् मिलापको संबध हुन गयो भन्या मलाई अति खुशी लाग्नेछ भने बुझ्न्यै छौ सो कति लेखुं...५

अंग्रेज सर्कारले भोट माथी केही खराब नियेत राखेको कतैबाट देखिदैन. अंग्रेज सर्कारको मुलुक्मा र कैल्है सूर्य अस्ताउन पाउंदनं भन्या कुरा सबैलाई प्रख्यातै छ. तेस्ता ठुलो मुलुकका अधिपतिले वेहिसाव गरी तिमिहरूको जस्तो पहाडी मुलुक आफ्ना कबुजा गरौला भंन्या अभिप्रायले आयाका छन् भनी कदापि नदेखनु. भोट भन्याको ठुलो बुद्धधर्मको मुलुक हो सो मुलुकमा अंग्रेज सर्कारले धर्म लोप गराउनन् भन्या संका पनि लिनु पर्ने कुरा होइन. किनभन्या अरुका धर्ममा हातहालन्या उनीहरूको वानि छैन. उल्टो बुद्धधर्मका निमित्त पुराना पुराना पुस्तक केही बुद्ध भागवानको जन्म स्थल कपीलवस्तु भंन्या सहर यंही नेपालको मुलुक बुटौल जिल्लामा छ भनें ठहराई हामीलाई खवर दिंदा सोही बमोजिम् ठाउं पहिल्याई खनीहेर्दा पुराना घरका जगहरूपाई यो बुद्धमतमा प्रख्यात भयाको लुमिनि बगैचामा रहेको बौध भगवान उप्तन भयाको मायादेवीको मुर्ति पनी पत्ता लगाईदिया...७

अंग्रेज सर्कारसंग नचाहिंदा कुरामा विरोध गर्नु जोहो नदुखेको कपाल् आफैले डोरी लगाई दुखाउनु जस्तो हो भंया सम्झि आफ्ना मनमा आयाको कुरा तिमिहरूलाई लेखेको छु सो कुरा लियानौ भन्या तिमिहरू माथी ठूलो आपत्ति आई पर्ने देख्दछु...८

तिमिहरूको बढिया हवस् भंना निमित्त खाम्वा झोङ्मा भोट्का भारादारहरू संग राम्रो गरी कुरा कहानी सर्सल्लाह दिनालाई यांहाबाट पनी ठुला दर्जाका भारदार खटाई बक्सन्याछौं. तिन्ले पनि तिमिहरूका भलो हुन्या अस्ल सल्लाह दिन्या छन्...९

तिमिहरूको अस्ल खवर चाडो सुन्न पाउंला भंन्या भरोसा राखेको छु...१०

इति सम्बत् १९६० साल मिति भाद्र २० गते रोज ७ शुभम्

comments powered by Disqus

रमझम