नाकमा कुनै अवरोध, घाँटीको कमजोरी, घाँटी वरिपरि जमेको बोसो, मोटो घाँटी, नमिलेको बङ्गारा, मोटो जिब्रो, टन्सिलको सुजन, मद्यपान वा कुनै औषधिको प्रभावमा घाँटीको मांसपेशीमा खुकुलोपना आउँदा, तकियामा टाउकोको अवस्थिति असजिलो हुँदा र उत्तानो सुताइमा श्वास–प्रश्वास नलीको माथिल्लो भागका तन्तु एकआपसमा जोडिंदा श्वासनली साँघुरिई नाकबाट लिएको वायुको संचालनमा अवरोध आएर घुर्ने समस्या आउँछ। यस्तो परिस्थितिमा स्वतः हल्का जोडले सास तानिंदा आंशिक रूपले बन्द हुने नाकका कारण घाँटीको तल्लो भागमा झ्न् दबाब बढ्छ। त्यस्तो वेला श्वास नलीका भित्ता एकापसमा जोडिएर घुर्ने समस्या बढ्छ।
निदाएको समयमा श्वास नलीमा साँघुरोपना आउने तथा त्यसमाथि उत्तानो सुत्ने बानी भएको व्यक्तिको जिब्रो पछाडि धकेलिन सक्ने हुनाले श्वास–प्रश्वास पूरै बन्द हुन बेर लाग्दैन। घुर्ने समस्या भएका कतिपय व्यक्ति अक्सिजनको अभावमा अत्तालिएर उठ्ने हुन्छन्। निदाएको वेला सास बन्द हुने समस्याको पहिलो संकेत घुर्ने समस्या हुन सक्छ। त्यसैले यो समस्यालाई खेलाँचीको रूपमा लिनुहुँदैन।
करीब ५० प्रतिशत मानिस कहिलेकाहीं घुर्छन् भने २५ प्रतिशत जति नियमित घुर्छन्। बढ्दो उमेर र अधिक मोटोपनासँगै घुर्ने समस्या बढ्न थाल्छ। एक अध्ययन अनुसार ६०–६५ वर्ष पछि घुर्ने समस्या तीन गुणाले बढ्छ। घुराइको समस्या भएको व्यक्ति नजिकै सुत्ने अरूलाई पनि चैनको निद्रा सम्भव हुँदैन। राति गहिरो निद्रामा सुत्न नपाउँदा दिनभर झुम्म हुने, अल्छी लाग्ने, एकाग्रता नहुने, र्झ्को लाग्ने, रीस उठ्ने हुन्छ। अनिंदोकै कारण व्यक्तिविशेषको कार्यक्षमता, इच्छाशक्ति र व्यक्तित्वमा ह्रास आउँछ।
उपचारबाट समाधान
घुर्ने र श्वास रोकिने समस्या मुटुसँग जोडिएको हुन्छ। घुर्ने समस्या भएकाहरूलाई हृदयघात र पक्षाघात हुने सम्भावना बढी हुने अध्ययनहरूले देखाएका छन्। यसले उच्च रक्तचाप पनि निम्त्याउन सक्छ। यो समस्याको निदान खोज्दा श्वास लिने प्रक्रियामा अवरोध पुर्याउने पक्षहरूको खोजबिन गरिन्छ। राति सुतेको वेला विशेष मेशीनबाट मस्तिष्कको गतिविधि, मुटुको चाल, खुट्टा संचालन, शरीरमा अक्सिजनको स्तरसँगै सास आउजाउको अवस्था जाँच गरिन्छ। यस्तो जाँचबाट स्वास्थ्यलाई पुर्याइरहेको हानिको स्तर हेरेर उपचार विधि निर्क्योल गरिन्छ।
घुर्ने समस्या भए पनि श्वास–प्रश्वासमा अवरोध पुर्याएको छैन भने शारीरिक तौल घटाउन, धुम्रपान वा मद्यपान नगर्न, कोल्टे सुत्न तथा नाक सफा राख्न सल्लाह दिइन्छ। नाकमा मासु पलाएर वा नाकको पर्दा बाङ्गो भएर घुर्ने समस्या भएको रहेछ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ। यसको अलावा मुखभित्रको तालु र घाँटीको माथिल्लो भागमा रेडियो फ्रिक्वेन्सीबाट ताप पैदा गरी कडापन ल्याइन्छ। विशेष खाले धागो छिराएर पनि तालुको खुम्च्याइमा कडापन ल्याइन्छ। प्रायशः सबै उपचारमा श्वासनलीको अवरोध हटाउने कोशिश गरिन्छ।
चर्को घुर्ने समस्या भएकाहरूलाई सुत्ने वेला श्वास प्रश्वासको अवरोध हटाउन अक्सिजन सहितको हावा फ्याँक्ने मेशीन आवश्यक पर्न सक्छ। निरन्तर हावाको चापले श्वासनलीको भित्ता खुम्चिन दिंदैन। यस्तो समस्या भएकाहरूलाई स्युडोइफेड्रिन, डोमपेरिडोन लगायतका औषधि पनि दिइन्छ। यसमा चाखलाग्दो पक्ष के छ भने, व्यावसायिक गायक/गायिकामा घुर्ने समस्या विरलै हुन्छ, श्वास नलीको माथिल्लो भागलाई चलायमान बनाइरहने रियाजको कारणले। यस्तो सांगीतिक रियाजको अभ्यास अरूले पनि गरेर फाइदा लिन सकिन्छ।