१७-२३ साउन २०७२ | 2-8 August 2015

ब्यूटीफुल बाली

Share:
  
- दीर्घराज उपाध्याय, बाली, इन्डोनेशियाबाट फर्केर
मुस्लिम राष्ट्र इन्डोनेशियाको हिन्दूबहुल बालीद्वीपले गरेको हिन्दू धर्म–संस्कृतिको अभ्यास अनुकरणीय छ।

समुद्र किनारको मन्दिर।

साना–ठूला १८ हजार ३०७ टापुको इन्डोनेशिया जनसंख्याका आधारमा विश्वको चौथो ठूलो देश हो भने मुस्लिम जनसंख्याका हिसाबमा सबैभन्दा ठूलो। इन्डोनेशियाको २५ करोड ६३ लाख ३३ हजार ६२८ जनसंख्या विश्वको कुल जनसंख्यामा ३.५ प्रतिशत हुन आउँछ। भूपरिवेष्ठित नेपालबाट ६ हजार १४० किलोमीटर दक्षिणपूर्वको यो टापु मुलुक पुग्दा नेपाल वा भारतको कुनै सुरम्य प्राचीनस्थलमा ओर्लेको भान हुन्छ।

इन्डोनेशियाको राजधानी जकार्ताबाट दुई घण्टाको हवाई यात्रापछि पुगिने बाली भने हिन्दूबहुल टापु हो। रामायणका एक पात्र बाली सम्झाउने यो टापुमा ८४.५ प्रतिशत बासिन्दा हिन्दू छन्। विश्वकै एउटा प्रमुख पर्यटकीय द्वीप बालीको मुख्य विशेषता हो, हिन्दू सम्पदा–संस्कृति। चोक–चौराहा, पसल–मल सबतिर राम, सीता, अर्जुन, कृष्ण लगायतका साना–ठूला मूर्ति छन्। त्यसो त, जकार्तामै पनि रथमा सवार कृष्ण र अर्जुनका विशाल मूर्तिहरू हेर्न पाइन्छ।

लंका दहन गर्दै हनुमान।

इन्डोनेशियाको सर्वाधिक चल्तीको टापु बालीमा विश्वस्तरीय कार्यक्रम भइरहन्छन्। २०११ को एशियन समिट, २०१२ को एपेक सम्मेलन र २०१३ को मिस वर्ल्ड यहीं भएको थियो। मनमोहक समुद्री तटहरूले भरिएको बाली जति रात छिप्पिंदै जान्छ, त्यति जाग्दै जान्छ। चोक, बजार, समुद्री तट (बिच) जता हेर्‍यो त्यतै मस्ती र निष्पि्कक्री देखिन्छ। लाग्छ, बालीले २००२ अक्टोबरमा अतिवादी इस्लामिक समूह जेमाह इस्लामियाले गरेको श्रृंखलाबद्ध बम हमला बिर्सिसकेको छ। त्यो आतंकवादी हमलामा ११ वटा पर्यटकस्थलमा २०२ जनाको ज्यान गएको थियो।

मुस्लिमबहुल देश भए पनि पश्चिमा जीवनशैली अँगालेको इन्डोनेशियामा एक हजारसम्मका मुद्रा त सिक्कैमा चल्दारहेछन्। बालीमा यस्तो पैसाको खोलो बग्छ– एक बोतल मिनरल वाटरलाई २० हजार, खाजालाई एक लाख रुपिह। नेपाली रुपैयाँ ७५० पचास बराबर एक लाख हुने रुपिहको सबभन्दा चल्तीको नोट नै २० हजार, ५० हजार र लाखका रहेछन्। यहाँको प्रहरीलाई भने उति जाँगरिलो नमानिंदो रहेछ। चुल्ठेमुन्द्रेहरूले सवारी साधनहरूबाट रकम लिएर ट्राफिक व्यवस्थापनको काम सम्हालेको दृश्यले पनि त्यही बतायो। राजधानी जकार्ताको ट्राफिक जाम विश्वमै कुख्यात रहेछ। लागूऔषधको मामिलामा भने इन्डोनेशिया ज्यादै कठोर छ। लागूऔषध ओसार–पोसार र प्रयोग गर्नेको लागि दण्ड एउटै छ– मृत्यु।

मन्दिरको मूलढोका।

बालीमा रावण बध

राम, सीता, गणेश, बुद्ध आदिका हजारौं वर्ष पुराना विशाल मूर्ति जकार्ताको नेशनल म्युजियमका मुख्य आकर्षण हुन्। जकार्ताबाट ६० किमी पश्चिमको तमन सफारीमा चाहिं बाघ, जिराफ, अर्ना, गैंडा, जेब्रा, कङ्गारु, पेन्गुइन लगायत जीव–जन्तुलाई छुन र डल्पि्कनसँग पौडिन पाइन्छ। पूर्वी जाभास्थित ब्रोमो पहाड र ज्वालामुखीले बनाएको विश्वकै ठूलो तोवा ताल रहेको जाभाबाट अझ् पश्चिममा पर्ने दक्षिणी सुमात्रामा पनि संसारभरका पर्यटक ओइरिन्छन्। सुमात्राको मेडान तमिल हिन्दूबहुल क्षेत्र हो। तर, सांस्कृतिक पर्यटनको हिसाबले बाली बढी हिन्दू केन्द्र लाग्छ।

बालीका धेरै धार्मिक स्थलमध्येको एक उलुवातुमा रामायण हेर्ने पर्यटकको भीड लाग्छ। समुद्री किनारमा अवस्थित हजारौं वर्ष पुरानो उलुवातु मन्दिरमा वर्षैभर रामायण देखाइन्छ। बालीभरका मन्दिर प्रवेश गर्नेले महिला हुन् कि पुरुष, लुङ्गी फेर्नैपर्ने रहेछ। लम्बे समुद्र किनार रहेको सुन्दर उलुवातुमा सूर्यास्तको मनमोहक दृश्यसँगै पहाडजत्रा छाल दृष्टिगोचर हुन्छन् र क्षणभरमै हराउँछन्। निरन्तर चलिरहने यो प्राकृतिक प्रक्रियाका बीच मन्दिरमा हरेक साँझ् राम–सीता विवाह सम्पन्न हुन्छ, जसमा रामको वनवास, रावणद्वारा सीता हरण, जटायुको प्रतिरोध, हनुमानको लंका प्रवेश, लंका दहन, राम–रावण युद्ध, रावण बध र राम–सीता मिलन हुन्छ।

बालीमा पूजा गर्र्दै हिन्दू।

बालीमा रावणको छवि नेपालमा जस्तै छ– १० टाउका, डरलाग्दो अट्टहास। सीता पनि उस्तै छिन्– सुन्दर, सुशील र शालीन। राम पनि उही छन्– मान्छेको भेषमा विष्णुका अवतार। फरक भाषाको मात्र छ।

बालीको ड्रिम ल्याण्ड समुद्री तट सफा पानी र दृश्यावलोकनका लागि प्रसिद्ध छ भने लोभिना तटमा डल्पि्कन हेर्नेको भीड लाग्छ। डाँडामा अवस्थित किन्तामणि तालले फरक मोहकता बोकेको छ। जिम्बारन तट सी फूडको लागि प्रख्यात छ भने तान्जुङ बिनुआका र नुसा दुआ टापु वाटर स्पोर्टस्का लागि चर्चित छन्। लोमबोक, कोमोडो, गिली, राजा आम्पथ टापु पनि बालीका चर्चित पर्यटकीय स्थल हुन्।

छैन नेपाल कनेक्सन

सन् १९५५ को बाङडुङ सम्मेलनपछि नेपाल–इन्डोनेशिया कूटनीतिक सम्बन्ध स्थापना भए पनि अहिलेसम्म जकार्तामा नेपाली दूतावास छैन। इन्डोनेशियाले भने काठमाडौंमा कन्सुलेट अफिससम्म खोलेको छ, जसले इन्डोनेशिया आउन चाहने नेपालीलाई भिसा उपलब्ध गराउँछ। कन्सुलेटमा पासपोर्ट बुझाएपछि कम्तीमा १५ दिन पर्खेर बढीमा एक महीनाको भिसा पाइन्छ। इन्डोनेशियाको लायन एयरमा प्रशिक्षक पाइलट रहेका क्याप्टेन वेद उप्रेती दुई देशबीचमा जनस्तरको सम्बन्ध खासै नभएको बताउँछन्। आवागमन सहज भए वर्षेनि लाखौं इन्डोनेशियाली नेपाल जाने सम्भावना रहेको उनले बताए।

हनुमान।

क्याप्टेन उप्रेतीका अनुसार, इन्डोनेशियालीहरू अहिले धेरै पैसा कमाइरहेका छन्। घुमघाम मन पराउने हिन्दू र बौद्ध धर्मावलम्बी इन्डोनेशियालीहरूका लागि नेपाल महत्वपूर्ण गन्तव्य हो। मन्दिर, चोक, पसलमा पूजा नगरी दैनिकी नथाल्ने र दिनमा तीन पटकसम्म पूजा गर्ने इन्डोनेशियाली हिन्दू–बौद्धहरूलाई काठमाडौंको संस्कृतिले मुग्ध पार्ने क्याप्टेन उप्रेतीको अनुमान छ। “सांस्कृतिक रूपमा निकट रहेका इन्डोनेशियालीहरूलाई नेपालसँग कसरी जोड्ने, सोच्ने वेला भएको छ”, क्याप्टेन उप्रेती भन्छन्।

इन्डोनेशियालीहरू नेपाली अनुहार देख्दा भारतीय ठान्छन्। इन्डोनेशियामा भारतीय सिनेमाको पनि ठूलै प्रभाव छ। ११ वर्षदेखि जकार्तास्थित जापानी निर्माण कम्पनीमा कार्यरत इञ्जिनियर टंक पन्त नेपालबारे धेरथोर थाहा पाएका इन्डोनेशियालीले जनकपुर र लुम्बिनीको माटो ल्याइदिन आग्रह गरेको बताउँछन्। इन्डोनेशियाको व्यापार–वाणिज्यमा पकड जमाएको चिनियाँ मूलका बौद्धमार्गी जनसंख्याको लागि नेपालको लुम्बिनी ठूलो महत्वको धार्मिक स्थल हुने उनले बताए। “यहाँको जुत्ता र गार्मेन्ट गुणस्तरीय मानिने हुनाले नेपाल र इन्डोनेशियाबीच व्यापारिक सम्भावना पनि देखिन्छ”, पन्त भन्छन्।

comments powered by Disqus

रमझम