१७-२३ साउन २०७२ | 2-8 August 2015

सुगन्धको अपूर्ण खोजी

Share:
  

२०६८ सालको मदन पुरस्कार विजेता सेतो धरती का लेखक अमर न्यौपानेको पछिल्लो उपन्यास करोडौं कस्तूरी को मूल सन्देश हो– शिक्षाभन्दा इच्छा ठूलो। आफूलाई भित्रैदेखि मन लागेको काम नगरेर कनिकुथी औपचारिक शिक्षाका लागि घोत्लिनु समयसँगै जीवनकै बर्बादी हो। आफूमा निहित क्षमता चिन्न नसकेर दौडधूप गरिरहेका नरनारीलाई लेखकले आफ्नै नाभीबाट सुगन्ध फालिरहेको बिनाको खोजीमा भौंतारिने कस्तूरीसँग तुलना गरेका छन्।

करोडौं कस्तूरी को अर्को पाटोमा अवैज्ञानिक शिक्षा पद्धतिमाथि तीखो व्यङ्ग्य छ। उपन्यासका पात्र संयोग सर 'शिक्षाले विद्यार्थीमा निहित क्षमताको नभई अरुले भनेका कुरा उनीहरूको दिमागले कसरी रेकर्ड गर्छ भन्ने आधारमा मूल्यांकन गर्ने' बताउँछन्। शिक्षाविद्हरू यस्तो शिक्षाले सबभन्दा चुत्थो ज्ञान दिने बताउँछन्। आफूले पढ्न नसकेको विषय पढ् भन्ने अभिभावक र पाठ्यपुस्तक मुखाग्र गर्न लगाउने शिक्षकलाई पनि सुगन्ध थाहा नपाउने कस्तूरीको कोटिमा राखेका छन्, उपन्यासकारले। उनको तर्क छ– चरा, जनावर र अरुको हुबहु आवाज निकाल्न वा चित्र कोर्न जान्ने विद्यार्थीलाई पढाइमा बाध्य पार्नुहुँदैन।

पुस्तक करोडौं कस्तूरी

लेखक अमर न्यौपाने

प्रकाशक फाइनप्रिन्ट बुक्स

पृष्ठ ३७१+१५,

मूल्य रु.४५०

उपन्यासकारले कलाकार हरिवंश आचार्यलाई छाया पात्र बनाएको भूमिकामा खुलाएका छन्। नभन्दै, पाठकलाई हरिवंशलाई नै पढे जस्तो लाग्छ। हरिवंशको चिना हराएको मान्छे सम्झाउने वाक्यांशहरू पनि थुप्रै छन्। गिजुभाईको दिवास्वप्न र चेतन भगतको 'फाइभ पोइन्ट समवन' मा आधारित हिन्दी फिल्म थ्री इडियट्स को सन्देश पछ्याइएको उपन्यासका पात्र संयोग सरले प्रोफेसर वाल्टर रेलाईको 'परीक्षामा विद्यार्थीको बौद्धिकता होइन, पढाइएका सूत्र–तथ्यांक कण्ठस्थ भए/नभएको जाँचिन्छ' भन्ने विचार बोल्छन्।

'फरकफरक प्रश्नपत्र' शीर्षकको अन्तिम अनुच्छेदमा उपन्यासकार भन्छन्, “स्कूल पढ्दा सबै बराबर जस्ता लाग्ने हामी, यतिका समयपछि आएर हेर्दा एकदम फरक भएका थियौ। समयले सबैसँग फरक प्रश्नपत्र बनाएर परीक्षा लिंदोरहेछ।” चर्चित पुस्तक 'ब्ल्याक स्वान' मा प्रोफेसर नसिम निकोलस तलेबले प्रश्न गरेका छन्– 'विद्यालयमा अत्यन्त राम्रो भनिएको विद्यार्थी व्यावहारिक जीवनमा पछिपर्ने तर, लद्दु भनिएकाले जीवनमा धेरै राम्रो गर्ने किन हुन्छ होला?' तलेबको धारणा छ– 'औपचारिक पढाइमा दिइने ज्ञान र वास्तविक संसारमा तालमेल नमिल्दा यस्तो भएको हुनुपर्छ।'

यसरी स्थापित विषयमाथि आफ्नो सन्देश दिन खोजेको करोडौं कस्तूरी ले सबै कस्तूरीलाई न्याय नगर्न सक्छ। सपनामा आएका हेडसरले हरिवंशलाई 'एजुकेसनभन्दा इमोसन ठूलो कुरा भएको र संसारमा महान् भएका सबै मानिसलाई इमोसनले त्यहाँ पुर्‍याएको' बताउँछन्। अन्त नभएर सपनामा आएर दिएको हेडसरको यस्तो अर्तिले अलान ब्लोमको 'एजुकेसन इज दि मूभमेन्ट फ्रम डार्कनेस टु लाइट' भन्ने भनाइलाई आदर्श मानेर पढ्न लागेकाहरूमाथि गतिलो असर पार्ने आशा गर्न सकिन्न। बरु, 'पढी गुनी के काम, हलो जोती खाने माम' भन्ने सोचलाई सघाउ पुर्‍याउँछ।

त्यस्तै, उपन्यासमा जोड दिएर भनिएको 'मेरा लागि शिक्षा भनेको बोराको बीचमा कुहिएको आलु जस्तै भयो' भन्ने वाक्यको सन्देशले हरिवंशको जस्तो प्रतिभा नभएका कस्तूरीहरूमाथि न्याय गर्दैन। उपन्यासले जुनसुकै क्षेत्रमा जान आवश्यक आधारभूत औपचारिक शिक्षाको महत्वलाई पूरै नकारेको छ। त्यसक्रममा मायावी भेष र नरभेडा शीर्षकको अपत्यारिला घटनाक्रमको तारतम्य मिलाइएको छ। शैक्षिक विषयको उपन्यासमा यस्तो नलेखेको भए पनि हुने भने जस्तो लाग्ने वाक्य र शब्दहरू पनि परेका छन्।

उपन्यासकारले शिक्षक, अभिभावक र नीति निर्माताहरू गम्भीर हुनैपर्ने थुप्रै प्रश्न उठाएका छन्। जस्तो, पाइलट बन्ने सपना बोकेका विद्यार्थीलाई 'जहाज चलाउने तरीका नसिकाउने पुस्तक' पढाइन्छ। परीक्षा बिग्रिंदा शिक्षक र अभिभावक विद्यार्थी बिग्रियो भन्छन्।

सन्त गाहा मगर


किताब सुन्ने एप

पत्रकार खगेन्द्र नेपालीले विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त वाचन गरी 'अडियो बुक' सुरुआत गरेका थिए। त्यसपछि उनले डायमनशमशेर राणाको 'सेतो बाघ', रमेश विकलको 'अविरल बग्दछ इन्द्रावती', योगी आनन्द अरुणको 'सन्त गाथा', लक्ष्मीप्रसाद देवकोटाका उत्कृष्ट कविताका साथै झमक घिमिरेको 'जीवन काँडा कि फूल' लाई पनि सुन्न सकिने प्रारुपमा तयार गरिसकेका छन्।

पत्रकार नेपालीको अडियो बुकको अवधारणालाई फराकिलो बनाउन कस्सिएका छन्, जमुने–७ तनहुँका पदम श्रेष्ठ (३०)। (हे. तस्वीर) फिनल्याण्डमा सूचनाप्रविधि विषय पढिरहेका उनले यसका लागि 'नेपाली अडियो बुक' एप बनाएका छन्।

दुई वर्षअघि शुरु गरिएको उनको 'नेपाली अडियो बुक' अहिलेसम्म एन्ड्रोइडमा ५० हजार, आइफोनमा २० हजार र विन्डोजमा करीब १५०० पटक डाउनलोड भएको छ। जसमध्ये ४० प्रतिशत डाउनलोडकर्ता नेपालकै छन्।

एपमा लक्ष्मीप्रसाद देवकोटा, विश्वेश्वरप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, इन्द्रबहादुर राई, दौलतविक्रम विष्ट, कविताराम श्रेष्ठ, कृष्ण धरावासी लगायतका उपन्याससँगै अन्य थुप्रै लेखकका कथा, कविता, निबन्ध सुन्न सकिन्छ। एपमा चर्चित गीत, गजल तथा विभिन्न रेडियो कार्यक्रम पनि समावेश छन्।

एप डेभलपर श्रेष्ठ भन्छन्, “एपका सामग्री डाउनलोड गरी अफलाइन पनि सुन्न सकिन्छ।” नेपाली कलालाई धेरै पाठक/श्रोतासमक्ष पुर्‍याउने उद्देश्यले एप बनाएको बताउने उनको अबको रुचि चाहिं नेपाली गीतसंगीतको अनलाइन अर्काइभ बनाउने छ।

श्रेष्ठले एपमा पत्रकार नेपालीले झ्ौं आफैं वाचन र उत्पादन गर्ने नभई अरुले वाचन गरेका रचना 'सेयर' मात्र गर्छन्। तीमध्ये धेरै चाहिं श्रेष्ठ आफैंलाई मन पर्ने रेडियो कार्यक्रम उत्पादक अच्युत घिमिरेका छन्। “हाम्रा कार्यक्रम पछिसम्म सुन्न चाहनेका लागि एप सहयोगी बनेको छ”, घिमिरे भन्छन्।

तुफान

comments powered by Disqus

रमझम