१७-२३ साउन २०७२ | 2-8 August 2015

बिर्सिएका 'अरनिको'

Share:
  
- शुक्रसागर
देहत्यागसँगै लगभग विस्मृत हुनपुगेका काजीमान कर्माचार्य १३औं शताब्दीका अरनिको जस्तै बीसौं शताब्दीका महान् कलाकार थिए।

सन् १९९७/९८ मा नेदरल्याण्डको सहयोग संस्था एसएनभी र फ्रेन्डस् अफ साँखुले संचालन गरेको बज्रयोगिनी मन्दिर जीर्णोद्धार परियोजनामा यो पंक्तिकार संयोजक हुने मौका पाएको थियो। त्यसक्रममा सर्वप्रथम अभिलेखीकरण गर्ने सिलसिलामा मन्दिरको पूर्वप्रमाण तथा फोटो–नक्शा खोज्न थालेको वेला मित्र पुरन्दरमान वैद्य (अहिले स्वर्गीय) ले भक्तपुरको एउटा पसलमा बज्रयोगिनीको पुरानो पेन्टिङ बेच्न राखिएको सूचना दिए।

काजीमान कर्माचार्य।

एक दिन पनि विलम्ब नगरी बस चढेर मित्रले भने अनुसार इनाचो टोलको तस्वीर तथा क्यालेन्डर बेच्ने पसलमा पुग्दा खोजेको चिज भेटी पनि हालियो। बज्रयोगिनी मन्दिरको पेन्टिङ नियाल्दै जाँदा म चकित हुँदै गएँ। वास्तवमा त्यो पेन्टिङ नभई पेन्टिङको फोटो थियो र थियो, परिदृश्य समायोजन (पर्सपेक्टिभ ड्रईङ) को उत्कृष्ट नमूना।

पसलमा करीब ७५ वर्षअघिको त्यो पेन्टिङको फोटोसँगै उनै कलाकारको चाँगुनारायण मन्दिर प्रांगण र बनेपा चण्डेश्वरीको पेन्टिङको फोटोहरू पनि रहेछन्। पसलेले तीन वटा तस्वीरको मूल्य रु.३००० राखेका रहेछन्। बल्लबल्ल रु.२५०० मा मनाएर म बाटो लागें। घरमा आएर थप नियाल्दा ती कृतिहरू पर्सपेक्टिभ ड्रईङको मास्टरपिस भएकोमा कुनै शंका रहेन। चित्रहरू ५५ एमएमको लेन्सले खिचेको तस्वीर जस्तो परिष्कृत थिए। (हे. तस्वीरहरू) काजीमानसँग मेरो पहिलो चिनारी यसरी भयो।

चित्रको पादपीठ अभिलेख अनुसार, काजीमानको जन्म वि.सं. १९२७ चैतमा भक्तपुर तुलाछें टोलका भैरवमान कर्माचार्यका जेठी श्रीमतीको कोखबाट जेष्ठपुत्रको रुपमा भएको थियो। नेपालीहरूले चिन्नै नपाएको कलाकार काजीमानलाई खोज्दै जाँदा १७ वर्षअघि मैले भक्तपुरबाट नेवारी भाषामा प्रकाशित हुने पत्रिका पाशुका मा यी कलाकारबारे लघु लेख छपाएँ। त्यसपछि काठमाडौंबाट प्रकाशित हुने सन्ध्या टाइम्स मा भक्तपुरका ओम धौभारीले अर्को लेख छपाएर भक्तपुरेबीच बचेखुचेका काजीमानबारेको सम्झनाहरूको जानकारी दिए। यो आलेख बृहत् नेपाली जनमानसको जानकारीको लागि छ।

जानकी मन्दिरः स्केच र तस्वीर।

विलक्षण कलाकार

काजीमान कर्माचार्यभन्दा करीब एक शताब्दीअघि राजमान सिंहले यो विधामा ब्रस चलाएका थिए, तर उनी त्यति परिष्कृत हुन सकेनन्। राजमान ब्रायन हड्सनले ल्याएका विदेशी चित्रकारहरूबाट दीक्षित चित्रकार थिए भने काजीमान स्वनिर्मित कलाकार। ठूल्ठूला आँखा, चहकिलो अनुहार भएका कलाकार काजीमानको कपाल र मुठ्ठे जुँगा फुले पनि आँखीभौं कालै थिए। उनी खैरो दौरा सुरुवालमा नीलो–कालो इस्टकोट र त्यसमाथि कोट लगाउँथे। निधार बीचमा चामलको सेतो टीका धारण गर्ने उनले टोपी लगाएको बुझिंदैन। आठ दशक नाघेका व्यक्तिले ऐनामा अनुहार हेरेर तयार पारेको सेल्फ पोट्रेट नेपाली पोशाक लगाएका कुनै अंग्रेजको जस्तो पनि लाग्छ।

उनले चित्रमा आफ्नो प्रशस्ति समेत उत्कीर्ण गरी बाबुको कुन श्रीमतीबाट आफू जन्मेको भन्ने तथ्यसम्म समावेश गर्न भ्याएका छन्। उनले पहिलो सेल्फ पोट्रेट २००७ सालमा तयार पारेको सूचना चित्रमा छ। त्यसबखत उनी ८० वर्षका भैसकेका थिए। काजीमानले ऐनामा अनुहार हेरेर दुइटा स्वचित्र बनाए, जसलाई हेर्दा भन्न करै लाग्छ– उनी विलक्षण प्रतिभाका धनी थिए।

उनको दोस्रो पोट्रेट पढ्ने मौका भने सदाको निम्ति चुकिसकेको छ। कारण, केही वर्षअघि उनका पनातिहरूले रङ थपेर राम्रो पार्न खोज्दा मौलिक चित्रको 'इन्जेनुईटी' नष्ट पारिदिएछन्। काजीमानले ती पोट्रेट एक वर्षभित्र बनाएका थिए। दोस्रो चित्र बनाएपछि शायद उनी धेरै बाँचेनन्। रङ थप्नुअघि मैले दोस्रो चित्रलाई एक पटक नियाल्न पाएको थिएँ। मैले पाशुका मा दुवै चित्रको तुलनात्मक समालोचना गर्दा लेखेको थिएँ– 'उनको दोस्रो चित्र पनि प्रस्तुत गर्न पाएको भए पाठकलाई मैले अतिशयोक्ति गरे जस्तो लाग्दैनथ्यो, तर उक्त चित्रका मालिकले फोटो खिच्न दिएनन्। ऐनामा अनुहार हेर्दै चित्र लेख्नुपर्ने समयका यी दुई चित्रको अध्ययन गर्दा काजीमानको अनुहारमा त्यो समयावधिमा आइसकेको फरक प्रष्टै देखिन्छ। पातलिएको नाक तथा जुँगाका मुठा अनि अलिकति सेलिएको आँखा समेत प्रष्टै पढ्न सकिने गरी चित्रण गर्न भ्याए काजीमानले। अनुहारमा पातलिएको छाला र छालाको रङमा आएको परिवर्तन समेत सबल तरीकाले चित्रण गरिएको छ। यो सूक्ष्म दृष्टि र सक्षम चित्रण नै काजीमानको विलक्षणताको कसी हो। नेपालमा बनेको सेल्फ पोट्रेटमध्ये यो नै प्रथम र मास्टर कपी पनि हो।'

२०औं शताब्दीको कलाकार समाजमा काजीमान एक जना विलक्षण प्रतिभा भएको मेरो धारणा छ। उनी जस्ता नेपाली चित्रकार पछि नहोलान् भन्न सकिन्न, तर 'नभूतो' अवश्य हो। उनले नेपालमा सर्वप्रथम सेल्फ पोट्रेट बनाए, त्यो पनि परिदृश्य कलाको उच्चतम सबलका साथ। उनीभन्दा अलि अघि भाजुमान र पृथ्वीमान जस्ता चित्रकारहरूले पनि दृश्यचित्र बनाए। उनीहरूका चित्रमा जतिसुकै सौन्दर्य भए पनि दृश्यचित्रको गूढ पक्ष– परिदृश्य गयलै थियो, जसको अधिकता काजीमानका चित्रहरूमा छ।

चण्डेश्वरी मन्दिर, काभ्रेः तस्वीर र तस्वीर (तल)।

काजीमानका कृति

महान् कलाकारहरूको कृतिले देशलाई सानो वा ठूलो, प्रत्यक्ष वा परोक्ष सहयोग पुर्‍याइरहेको हुन्छ। जस्तो, बनेपाका प्रसिद्ध लेखक ज्ञानकाजी मानन्धरले बनेपा स्तवन पुस्तक लेखिसिध्याएपछि त्यसको अग्रपृष्ठमा राख्न बनेपाकै कुनै एउटा राम्रो तस्वीर खोज्दै हिंडेका रहेछन्। उनले त्यो कुरा भन्दा मैले १५/२० वर्षअघि रु.८०० मा किनेर राखेको चित्र सम्झ्ों। मैले त्यो चित्रको प्रस्ताव राख्दा बनेपाली लेखक खुशी भए। उनले काजीमानको सुनसान चण्डेश्वरीको दृश्य चित्रमा कम्प्युटर प्रविधिबाट स्थानीय सांस्कृतिक टोली समायोजन गरेर पुस्तकको अग्रपृष्ठ बनाएको देख्दा मलाई पनि आफ्नो संकलनको सदुपयोग भएकोमा आनन्द लाग्यो।

पुरातत्व विभागले चाँगु परिसरको दक्षिणतर्फको अमात्य सत्तल पुनःनिर्माण गर्दा पनि लगभग यस्तै भएको थियो। जगै भत्किसकेको सत्तल कस्तो थियो र त्यसको पुनःनिर्माण कसरी थाल्ने भन्ने अप्ठ्यारो परेको वेला म विभागमा टुप्लुकिन पुगेछु। महानिर्देशक विष्णुराज कार्कीले जागिर छाडिसकेको साथीसँग समस्या राख्दा मैले झल्यास्स सम्झिहालें– आफूसँग भएको काजीमानको पेन्टिङ। आफूसँग अमात्य सत्तलको पुरानो दृश्य भएको बताउँदा महानिर्देशक हुनसम्म खुशी भए। फोटो लगेर दिएपछि प्राविधिकहरूले सत्तलको नक्शा तयार पारिहाले। त्यसरी बनेको अमात्य सत्तलमा कसैले खोट लगाउन सकेनन्, जहाँ अहिले संग्रहालय छ। झ्ाट्ट हेर्दा मामुली लागे पनि काजीमानका दुवै चित्रले नेपाललाई त्यो सहयोग गर्‍यो, जुन अरुबाट हुनु सम्भवै थिएन।

भनिन्छ, नेपालको पहिलो नोटको डिजाइन काजीमानले नै गरेका थिए। त्यस्तै, भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आउँदा भक्तपुरमा गरिएको प्रदर्शनीमा मुख्य आकर्षण काजीमानका चित्रहरू भएका थिए। राजा महेन्द्रले पाहुनालाई दिन उपहारमा काजीमानकै न्यातपौ (पाँचतले न्यातपोल) मन्दिरको पेन्टिङ छानियो। त्यो पेन्टिङमाथि नेहरूले गरेको समालोचनाको चर्चा पछिसम्म चलेको थियो। दिल्ली जाँदा यो पंक्तिकारले दुई पटक गरेको त्रिमूर्ति भवनमा त्यो पेन्टिङ हेर्ने कोशिश भने निष्फल भयो। त्यो चित्र शायद नेहरू परिवारको इलाहावादस्थित कुनै आवासमा सजिएको हुन सक्छ।

बज्रयोगिनी, साँखुः तस्वीर र चित्र (तल)।

रथी धनशमशेरले लेखेको बृहत्पुरश्चर्यार्णव पुस्तकमा समेटिएका सबै तान्त्रिक देवदेवीका चित्रहरू काजीमानकै सिर्जना हुन्। धनशमशेरलाई चित्रहरू मात्र उपलब्ध नगराई तन्त्र सम्बन्धी धेरै ज्ञान पनि हस्तान्तरण गरेका काजीमानको बहुप्रतिभा बखान गर्ने ८० माथिका बूढापाकाहरू अब धेरै छैनन्, भक्तपुरमा। उनीहरू २००२ सालमा देखाइएको नाटक माहाद्यः या ईहिपा (महादेवको शुभविवाह) अझ्ौ नबिर्सेको बताउँछन्, जसको निर्देशक काजीमान थिए। त्यो नाटक मञ्चनका लागि न्यातपौ मन्दिर अगाडि बनाइएको कैलाश पर्वत, ३०० भन्दा बढी जन्ती लिएर आएका महादेव उनीहरूका आँखामा झल्झली छ। काजीमान कर्माचार्य एक कुशल नृत्य निर्देशक पनि थिए।

भक्तपुरका बूढापाकाहरूका अनुसार, काजीमान रिसाहा पनि थिए। जात्रा हेर्न बनेपा जाँदा जुत्ता फुकाल्न लगाइएपछि रिसाएर बाटैबाट फर्केका काजीमानले अर्काे साल राजा भएर घोडामा बनेपा पुगेर जुत्तामाथिको प्रतिबन्ध हटाउन लगाए रे! राजसी पोशाकमा खसोखास राजा देखिने व्यक्तित्व थियो, काजीमानको। तर, त्यसपछि उनी गुप्त भए अनि चार/पाँच वर्षसम्म घटना गोप्यै रह्यो। जुद्धशमशेरले थाहा पाएको भए उनको छाला काढिने थियो। प्रजातन्त्र आएपछि १२ वैशाख २००८ मा स्वर्गवास भएका यी महान् कलाकार विस्मृतिमा पनि गए।

comments powered by Disqus

रमझम