१७-२३ साउन २०७२ | 2-8 August 2015

लाहुरेको साहित्यिक अवतार

Share:
  
१३ वर्षे सैनिक जीवनपछि 'आइन्दा पैसाका लागि मात्र काम नगर्ने' कसम खाएका टिम आई गुरुङ साहित्यकार बनेका छन्।

३० असारदेखि ५ साउनसम्म हङकङको कन्भेन्सन एन्ड एक्जिविसन सेन्टरमा आयोजित बृहत् पुस्तक प्रदर्शनीमा एउटा नेपाली अनुहारले अनपेक्षित चर्चा पायो। साउथ चाइना मर्निङ पोस्ट ले त उनीबारे फिचर नै छाप्यो। त्यो फिचरले उनी पाठक मात्र होइन, लेखक र प्रकाशकमाझ समेत चर्चाका पात्र बने।

त्यसो त धम्पुस, कास्कीका टिम आई गुरुङ र उनको लेखनीबारे स्वदेशीलाई कमै थाहा छ। हङकङमा बसेर आधा दर्जन उपन्यास लेखिसकेका उनीबारे पत्तो नहुनुका कारण पनि छन्, १७ वर्षकै उमेरमा (२०३७ साल) लाहुर लागी उनी बेलायत पुगे। र, २० वर्षदेखि हङकङमा बसिरहेका छन्। सबैभन्दा महत्वपूर्ण कुरा चाहिं अंग्रेजीमा लेख्छन्।

हङकङ व्यापार विकास परिषद्द्वारा आयोजित उक्त पुस्तक मेलामा ३३ देशका ५८० भन्दा बढी प्रकाशकका बुथहरू प्रदर्शनीका लागि राखिएका थिए। त्यसैमध्येको एउटा बुथमा आफ्ना उपन्यासहरू 'मिसिनरी अर मर्सिनरी', 'अ ट्री कल्ड टेनाल्पा', 'दि क्रस्ड नेशन', 'फाइभ स्टेप्स्', 'आफ्टरलाइफ' र 'अ नेशन फर रेफ्युजीज्' का साथ गुरुङ अटोग्राफ दिइरहेका थिए। विश्वभरका लेखक, प्रकाशक र पुस्तकप्रेमीले भरिएको मेलाले गुरुङलाई सर डेभिड टाङ, प्रसिद्ध टीभी प्रस्तोता तथा लेखक एलेन डी बोटन, बेलायती पूर्व प्रधानमन्त्री मार्गरेट थ्याचरपुत्री विख्यात आत्मकथाकार क्यारोल थ्याचरसँगै ठूला प्रकाशन गृहसँग पनि भेट्ने मौका जुर्‍यो।

गुरुङ हङकङबाट प्रकाशित स्थानीय अखबारमा पनि आक्कलझ्ाुक्कल लेख्छन्। अनलाइन कुराकानीका क्रममा ५१ वर्षीय गुरुङ भन्छन्, “आफ्नै पुस्तक प्रवर्द्धन र चिनारीका लागि पनि अखबारी लेखन जरुरी रहेछ।”

१० कक्षासम्म मात्रै अध्ययन गरेका उनमा सानैदेखि लेखक बन्ने इच्छा थियो। त्यसैले भर्ती भएको ६ वर्षपछि नै जागिर छाड्न चाहेका थिए रे! तर, सम्भव भएन।

१३ वर्षपछि (२०५०) मा भने अवकाश लिइछाडे। त्यसपछि उनी 'पुरानो प्रेम' अर्थात् लेखनतर्फ लागे। स्वाध्ययनमा जुटे। “म जस्ताका लागि सैनिक रुचिको पेशा होइन, मैले त्यहाँ 'म' भेटिनँ। तरबार र बन्दूकभन्दा कलम बलियो भन्ने कुरा महसूस गरिरहेको छु”, उनी भन्छन्।

लाहुरे जीवनले नै गुरुङलाई लेखनीको विषय दिइरहेको छ। उनी मात्र शब्द र शिल्प थपिरहेका छन्। जापानको ओकिनावा, लोप हुन लागेको तिब्बती मृग, विवादित कश्मीर, शरणार्थी जस्ता विश्व समस्या उनले लेखिसकेका विषय हुन्। भन्छन्, 'अब म हङकङमाथि लेखिएको उपन्यास निकाल्दैछु।”

विश्वविद्यालय नै नदेखेका गुरुङका लागि सैनिक जीवनमा सिकेको अंग्रेजी भाषाका भरमा साहित्य लेख्नु कम चुनौतीपूर्ण थिएन। तर, उनको आत्मविश्वास अचम्मको छ। उनी भन्छन्, “भगवानले नै मलाई लेखनकला दिएको छ, खेर जान दिन्नँ।”

लेखन उनका लागि सन्तुष्टि हो, साधना हो। त्यसैले लेखनबाट प्राप्त रकम परोपकारमा लगाउने उनको योजना छ। आईएसएसएल केयर फाउण्डेसन नामक संस्था मार्फत उनले जन्मथलो कास्की–८ को विद्यालयका विपन्न विद्यार्थी पढाउने अभियान शुरु गरिसकेका छन्। यसका लागि उनले प्रत्येक वर्ष दुइटा पुस्तक निकाल्ने सोच बनाएका छन्।

चुनबहादुर गुरुङ

comments powered by Disqus

रमझम