काठमाण्डू लगनटोलका डिट्ठा भैरवबहाडुर अधिकारीको संरक्षणमा रहेको र २०१३ सालमा योगी नरहरिनाथले प्रकाशित गराएको 'देवमाला वंशावली' मा जनरल भीमसेन थापाले यो धरहरा बनाउनाको कारण यस्तो बताइएको छ– 'श्री कम्याण्डर इनचीफ जनरेल भीमसेन थापाबाट देशी अंग्रेजहरू आउँदा इज्जत खातीर र दुष्टजन लाग्दा हेर्ना निमित्त आपतकालमा पल्टनहरू जम्मा गर्ना निमित्त बिकुली लाउना के समेत ठूलो परिश्रमले मजबुतसँग जग राखी बिक्रम सम्वत् १८८२ सालमा अति उचो धरहरा बनाई तयार गरी धन्ने कहलायो।'
'देवमाला' ले अरू जे भने पनि धरहराको मुख्य काम भनेको 'बिकुली' अर्थात् बिगुल लगाउने नै थियो। समय समयमा परेका वेला सिपाही सामेल गराउने एक मात्र साधन थियो सरकारका हातमा– 'धरराबाट बिगुल'! त्यसैले त राष्ट्रकवि माधव घिमिरेले गाएका हुन्ः
“नेपालीलाइ डाक्ला बिगुल धरहराबाट कुर्ली कमाल
प्यारीले बाँधिदेलिन् झ्टपट खुकुरीलाइ रातो रुमाल।
रातो झ्ण्डा उठाई फरहर अगुवा वीर भर्लान् कमान
बाजाले ताल देलान् चल चल चल रे देशका नौजवान!”
त्यति मात्र होइन, महाराज चन्द्रशमशेरका दाहिने हात मानिएका 'माहिला पण्डित' काशीनाथले पनि आफ्नो 'भएका कुरा' मा 'बयालीस साल' पर्वको बयान गर्दै भनेका छन् (पृष्ठ १२)– '... सरासर ढोकामा गयौं। बाटामा १ जना सिपाहीले 'बीर सम्सेर महाराजकी जय' भन्यो र दौड्यो। त्यो सुनेर क्या हो के भयो भन्ने यस्तै विचार गर्दै ढोकामा पुग्यौं। टुडीखेलमा धमाधम बिकुल लाग्न थाल्यो। मानिसको दौडादौड चल्न थाल्यो। हामी चपटमा पुग्दा गोरे बैठकेले ढोका बन्द गर्न लागेको रहेछ र उस्को आवाज सुनी गोरे भाइ भनी बोलायौं हजूर भनेर ढोका खोलीदिए, भित्र पस्यौं। गोरेले भने कि जेठा जनरल महाराज, माहिला जनरल कम्याण्डर इन चीफ हुनुभयो, लौ आनन्दसित बस्नोस् भने...' इत्यादि।
'देवमाला वंशावली' मा भनिएका अरू कुरा भए/गरेको लिखत कतै पाउन सकिएन। तर, बनेको सय वर्ष जतिपछि अचम्मसँग त्यो धरहरा एउटा नयाँ काममा प्रयुक्त भएको देखियो। पर्सिभल ल्याण्डनको किताबका लागि इण्डियाबाट झिकाइएका अंग्रेज फोटोग्राफरले महारानी त्रिपुरासुन्दरीको धरहरा प्रयोग गरे काठमाण्डू शहर वरिपरिका तस्वीरहरू खिच्न। त्यहाँ माथिबाट उनले चारैतिरका ती सानासाना झयालहरूमा क्यामरा घुमाई–घुमाई वरिपरि फोटो खिचेको बुझ्िन्छ। त्यसो गर्न पनि उनलाई कति सकस परुर्यो होला अनुमान गर्न सकिन्छ। तर, उनले त्यहाँबाट पैले धरहराका नजिकैका फोटो खिचे, अनि काठमाण्डू वरपर र पाटनसम्म पनि क्यामराको दृष्टि पुरुर्याएछन् जस्तो लाग्छ। त्यो जे भए पनि उनले महाराज चन्द्रलाई चढाएको याल्बममा भएका ६/७ ओटा फोटो चाहिं त्यही धरहराको माथिबाट खिचिएको हो भनी ढुक्कै भन्न सकिन्छ। तीमध्येबाट हामीले यहाँ धरहराको सबभन्दा निकट, त्यहीं मुन्तिरको एउटा फोटो दिएका छौं, खिचापोखरी र गणबहाल वरिपरिको। (हे.फोटो) अरू फोटोहरू हेर्न चाहनेले मपुपु–को वेबमा पसेर त्यसको फोटो अर्काइभ 'ब्राउज' गरे हुन्छ।
यस फोटोमा पनि हामीले ऐले चिन्नसक्ने केही भवनहरू देखिन्छन्। केही टाढा बसन्तपुर दरबार र तलेजुको मन्दिर दृष्टिगोचर हुन्छ। खिचापोखरीको घुमेको बाटो र पाको क्षेत्र पनि पैले कस्तो रहेछ थाहा हुन्छ। बीचमा ऐले नरहेको, पैलेको नामूद 'घोडा तबेला' ले सबभन्दा टड्कारो भएर हाम्रो आँखा तान्छ। भैंचालापछि घोडाहरू बालाजुतिर सारिए अनि खाली रहेको टहरामा नयाँ खोलिएको जुद्धोदय पब्लिक स्कूलले क्लास चलाउने स्वीकृति पायो। केही वर्ष त्यहाँ चलेपछि क्षेत्रपाटीमा जग्गा किन्न पैसा दिए महाराजले अनि त्यो स्कूल उतै सरेको थियो। खाली भएको घोडा तबेलामा पूर्वपट्टि गोरखापत्र छापाखाना र दक्षिणपट्टि नेपाल ब्याङ्कले आवास पाए। बीचको खाली जग्गा र पोखरी पछि रहँदाबस्दा ब्यांकले नै भोगचलन गर्न पायो र त्यहाँ उसैले चारतले भवन बनायो।
धरहराको माथिबाट खिचिएका अरू फोटोहरूमा पनि कुनै यस्तै चिनिने भवनहरू छन्। केही भने अब देख्न नपाइने, नष्ट भैसकेका सम्पदाहरूको दर्शन पाइन्छ। उदाहरणार्थ, सुन्धाराको 'कम्प्लेक्स' तलैसम्म र पानी आइरहेको धारो समेत देखिन्छ। अर्कोपट्टि बागदरबार परिसरका दुई मन्दिर र भवन देखिन्छन्। यो सीमित ठाउँमा ती सबै कुरा ल्याउन सकिएन। त्यसै हुँदा पैले र ऐलेको तुलना गर्न माथि धरहराको बार्दलीबाट देखिने ऐलेको खिचापोखरी 'एरिया' को परिदर्शन गराएका छौं।
यो लेखोट पनि यहाँसम्म लेखेर टुंग्याइएको थियो २०७१ साल नटुङ्गिदै। तर, गत वैशाख १२ को भैंचालाले मेरो त्यो लेखलाई 'कीर्ते' जस्तो बनाइदियो, किनभने हाम्रा फोटोग्राफरले त्यो भनिएको फोटो खिच्न पाएनन्। उनीहरूले त्यो धरहरा चढ्नै पाएनन्। उनीहरू त्यहाँ जानुअघि नै त्यो सम्पदा ढलेर पाताल भयो (यसको चर्चा यसअघि पनि एउटा प्रकरणमा भैसकेको छ)। त्यसै हुँदा ऐले त हामीले त्यही याल्बमका फोटो हेरेर चित्त बुझाउनुपरुर्यो।