विध्वंसक अवसरवाद

Share:
  
- रघु पन्त
समर्पित नेता–कार्यकर्ता भए पनि सही नीति नहुँदा एउटा राजनीतिक दल कसरी अवसरवादको भासमा जाकिन्छ भन्ने उदाहरण बनेको छ, वैद्य माओवादी।

भानु भट्टराई
राजनीतिबाट नीति झिकिदिएपछि बाँकी रहन्छ राज। राजको आकांक्षा मात्र बाँकी रहेको राजनीतिक दलले जस्तो खेल पनि खेल्न, जता पनि दगुर्न र जे पनि गर्न सक्छ। छाडा साँढे जस्तो बन्न पुग्छ नीति र उद्देश्य विनाको राजनीतिक दल। राज गर्ने इच्छालाई सही विचार, नीति र लक्ष्यले डोर्‍याउने आवश्यकता यही कारण परेको हो।

मोहन वैद्य 'किरण' नेतृत्वको नेकपा–माओवादी नेपाली राजनीतिमा एउटा यस्तो दल भएको छ, जसको उद्देश्य केवल भाँड्नु मात्र रहेको छ, यतिवेला। वैद्य आफैं भने नेपाली राजनीतिमा लामो इतिहास, समर्पण र सक्रियता भएका व्यक्ति हुन्। उनले नेतृत्व गरिरहेको दलमा त्याग, समर्पण र संघर्षको इतिहास बोकेका अरू पनि थुप्रै नेता–कार्यकर्ता छन्। कुनै कालखण्डमा संघर्ष, सक्रियता र समर्पणका योद्धा मानिने उनीहरू अहिले पार्टीमा खुम्चिएर निराश छन्।

कुण्ठित यात्रा

मोहन वैद्य शारीरिक हिसाबले सक्रिय नै छन्। उनको पार्टीका अन्य नेता–कार्यकर्ता पनि सक्रिय छन्, तर राजनीतिक दिशा र उपलब्धि शून्य छ। यतिवेला जडता, निराशा, क्षोभ र कुण्ठाले आक्रान्त छ– वैद्य नेतृत्वको माओवादी पार्टी। कमरेड 'किरण' आफ्नो पार्टीको लागि किरण त परै जाओस् अँध्यारोमा पिलपिलाउने जूनकिरीसम्म बन्न सकेका छैनन्। यस्तो हुनुको कारण उनले लिएको राजनीतिक दिशा र कार्यनीतिमा लुकेको छ।

राजनीतिक दलले ठम्याउनैपर्ने कुरा भनेको जनताको तत्कालीन आवश्यकता र आकांक्षा हो। त्यसलाई बेवास्ता गर्दै आफ्ना नीतिहरू थोपर्न खोज्दा जनताले त्यस्तो भारी बोक्दैनन्। अहिले नेपाली जनता लामो समयको राजनीतिक अस्थिरता सकेसम्म छिटो सकियोस्, संविधान छिटो आओस् र राजनीतिक सुशासन दिने सरकार बनोस् भन्ने चाहन्छन्। स्थानीय निकायमा चाँडो निर्वाचित प्रतिनिधि पाइयोस् भन्ने जनताको चाहना छ। दोस्रो संविधानसभाले अधिकतम सहमतिको संविधान देओस् भनेर जनता व्यग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन्, जुन वैद्यको माओवादी दल पटक्कै चाहँदैन।

वैद्य नेतृत्वको माओवादी र जनताको चाहनाबीच जुन बेमेल छ, त्यसको समाधान खोज्ने काम वैद्य समूहकै हो। तर, जडता र दृष्टिदोषले गर्दा वैद्य माओवादी जाँतो जस्तो जहाँको त्यहीं घुमेको घुम्यै छ, कहीं पुगिरहेको छैन। कहीं पुग्न नसक्नुको पीडाबोधले वैद्य माओवादी रन्थनिएको छ। उसले लिएका नीति र अघि बढाउन खोजेका गतिविधिलाई जनताले अस्वीकार गरिदिएका छन्।

आफ्ना व्यवहार र मान्यताले गर्दा वैद्य माओवादी समकालीन राजनीतिमा एक्लिएको छ। उसले यो एक्लोपनबाट मुक्त भएर राजनीतिक मूलधारमा स्थापित हुने प्रयत्नस्वरुप नामै नसुनिएका दलहरूलाई सामेल गरेर '३३ दलीय मोर्चा' नबनाएको होइन। तर, त्यसले पनि उसलाई दुई पाइला अघि बढाउन सघाएन। र, खुला समाजमा 'राजनीतिक निर्वासन' भोगिरहेको जस्तो अवस्थाबाट वैद्य माओवादीले मुक्ति पाएको छैन।

आत्मघाती बाटो

पुष्पकमल दाहाल नेतृत्वको एमाओवादीसँग चलिरहेको एकता वार्ता समेत टुटेपछि त नेकपा–माओवादीको औचित्यमै प्रश्न उठ्न थालेका छन्। यस्तै अवस्थामा वैद्यले मधेशका विभिन्न दलसँग मोर्चाबन्दी गर्ने आत्मघाती बाटो रोजेका छन्।
संविधान जारी गर्ने कार्यको खुला विरोधमा उत्रेका मधेशका केही दलसँग मोर्चाबन्दी गर्ने वैद्य माओवादीको निर्णय पनि चरम राजनीतिक निराशाको परिणाम हो। यिनै दलहरूसँग दाहाल नेतृत्वको एमाओवादीले मोर्चाबन्दी गर्दा वैद्य माओवादीले मधेशकेन्द्रित दलहरू दक्षिणपन्थी भएको र भारतीय इशारामा चल्ने गरेको आरोप लगाउने गर्थ्यो। त्यही कारण उसले दाहालको राष्ट्रियताप्रतिको प्रतिबद्धतामा समेत प्रश्न उठाएको थियो। अहिले भने दाहाल संविधान निर्माणको काममा अलिकति गम्भीर हुनासाथ विरोधमा उत्रिएका मधेशका ती दलहरूलाई वैद्य माओवादीले दौडेर अंकमाल गरेको छ। यसको अर्थ के हो? वैद्य माओवादी पनि अब दक्षिणाभिमुख भएको त होइन?

वैद्य समूहले जसरी हुन्छ संविधानसभाबाट संविधान बनाउन नदिने प्रतिगामी उद्देश्य लिएको देखिन्छ। त्यसका लागि घोर दक्षिणपन्थी, जातिवादी, क्षेत्रीयतावादी, विखण्डनवादी जोसँग होस्, मोर्चाबन्दी गर्ने अत्यन्त अराजक र अवसरवादी चरित्र देखाएको छ, वैद्य माओवादीले। नेपालको वामपन्थी राजनीतिमा मौलाएको जड, दिशाहीन र चरम अवसरवादलाई प्रतिनिधित्व गर्ने समूह बन्दैछ, वैद्य माओवादी। र नेपाली राजनीतिमा किरण फैलाउने पात्रको सट्टा प्रदूषण फैलाउने विकिरण सावित हुने अवस्थामा पुग्दैछन्, मोहन वैद्य 'किरण'।

वाम आन्दोलनमा राष्ट्रवादी नीति र अडान लिने काम शिथिल हुँदै गएको वेला विगतमा वैद्यको माओवादीले केही आशलाग्दा लक्षण देखाएको थियो। भारतले नेपालप्रति लिएको थिचोमिचोको नीति विरुद्ध यो समूहले विरोध जनाएको थियो। त्यसप्रति देशभक्त नेपालीको समर्थन रहन्थ्यो। छिमेकीको इशारामा चल्ने दक्षिणपन्थी दलहरूसँग मोर्चाबन्दी गर्ने हर्कतले भने वैद्य माओवादीको हिजोका अडानहरू देखाउने दाँत मात्र रहेको प्रमाणित गरेको छ।

राजनीतिक लक्ष्य, कार्यदिशा र कार्यनीति गलत भएपछि एउटा राजनीतिक दल कसरी अन्त्यहीन जडतामा फस्छ भन्ने ताजा नमूना बनेको छ, वैद्य नेतृत्वको माओवादी। सही नीति लिन नसकेपछि समर्पित नेता–कार्यकर्ता भएको राजनीतिक दल कसरी अवसरवादको भासमा भासिन्छ भन्ने कुराको उदाहरण पनि यतिवेला वैद्य माओवादी भएको छ। संविधान बन्न नदिएर देशलाई नै अप्ठ्यारोमा पुर्‍याउने कार्यमा समेत विध्वंसक अवसरवादी बनेर वैद्य माओवादी अघि बढ्न खोज्दैछ। यो दुर्भाग्यपूर्ण दृश्य हो।

comments powered by Disqus

रमझम