मेलोडीलाई अर्केष्ट्राले खायो

Share:
  
p62a
 
तस्वीरः ऋषिराम कट्टेल

संखुवासभाको मादीमा जन्मिएका होमनाथ उपाध्याय (६८) ले चौध वर्षको उमेरमा बनारस पुगेर गुरु परम्परामा १६ वर्ष तवलाको साधना गरे। नेपाली शास्त्रीय संगीतका यी मूर्धन्य कलाकार १४ वर्षदेखि अमेरिकाको युनिभर्सिटी अफ क्यालिफोर्नियामा भिजिटिङ प्रोफेसर छन्, पूर्वीय संगीतको महत्वपूर्ण साज तवलाको। अमेरिकामा उपाध्याय नै यो तहको एक्लो नेपाली प्रोफेसर हुन्। 

नेपालमै पनि शास्त्रीय संगीतको माहोल उपाध्यायकै चेलाचेलीले धानिरहेका छन्। स्व. अतुल गौतम, स्व. महेन्द्र लाखे, रविनलाल श्रेष्ठ, सरिता मिश्र, मनोज गौतम, अच्युत भण्डारी लगायतका शास्त्रीय संगीत साधकहरू उनकै शिष्य हुन्। अमेरिकामा समेत आफ्ना चेलाहरू प्रसिद्ध कलाकार भइसकेको उनी बताउँछन्।  
 
ख्यातिप्राप्त सांगीतिक समूह सुकर्मका तवला वादक प्रमोद उपाध्याय पुत्र हुनुले नेपालमा पनि साङ्गीतिक घरानाको विकास हुन लागेको देखाउँछ। सितारका साधक डा. धु्रवेशचन्द्र रेग्मी, उपाध्याय नेपाली शास्त्रीय संगीतमा एउटा संस्था भएको बताउँछन्। “ललितकला क्याम्पसको उप–प्राध्यापक रहेका बेला अमेरिका नित्याइएका उपाध्याय गुरुले तवलामा नेपाललाई यो उचाइ दिनुभएको छ”, रेग्मी भन्छन्, “यो चानचुने सफलता होइन।”  
 
प्रस्तर र एकेडेमी  
कुनै समयको चर्चित प्रस्तर सांगीतिक समूह उपाध्यायकै नेतृत्वमा थियो, जुन उनी अमेरिका गएपछि निष्त्रि्कय भएको छ। डा. रेग्मी, गुरुदेव कामत, नुर्वु शेर्पा, उमा थापा लगायतका साधकहरू सदस्य रहेका प्रस्तरलाई अबको एक वर्षमा नेपाल फर्केपछि सक्रिय बनाउने उपाध्यायको योजना छ।  
 
तवला वादनका लागि तीन दर्जन मुलुकमा निम्त्याइएका उपाध्याय नेपाल फर्केर एउटा ठूलो संगीत एकेडेमी खोल्न चाहन्छन्। यसका लागि केही विदेशी र स्वदेशी साथीहरूसँग कुरा भइरहेको उनले बताए। “नेपाललाई संगीत सिक्ने एउटा गतिलो थलो बनाउने चाहना हो”, उपाध्याय भन्छन्। 
 
शास्त्रीय संगीतलाई संगीतको आधार मान्ने उनी संगीतको गहिरो अध्ययन र साधना विना कलाकार भएर टिक्न गाह्रो पर्ने बताउँछन्। शास्त्रीय संगीतको अध्ययन गरेकाहरू चाहिं जस्तो संगीतमा पनि जम्ने उनको भनाइ छ। नेपालमा शास्त्रीय संगीतको अवस्था विगतको तुलनामा अहिले राम्रो भएको उनको अनुभव छ। “पहिला कम दर्शक–श्रोताका बीच कोठे कार्यक्रमहरू हुन्थे, अहिले यस्ता कार्यक्रममा भीड लाग्छ”, उपाध्याय भन्छन्, “पूर्णिमामा किराँतेश्वर जाने जो–कोहीले शास्त्रीय संगीतप्रतिको क्रेज सजिलै बुझछ।”  
 
नेपाली संगीतको अवस्था 
नेपाली संगीतले राम्रै प्रगति गरे पनि दुई–चार महीना सा रे ग म रटेर आउनेहरूको बोलवाला कमजोर पक्ष भएको प्रोफेसर उपाध्याय बताउँछन्। यसले गर्दा पछिल्लो दशकमा उम्दा गीत–संगीतको सिर्जना कमै भएको छ। प्रविधिले फड्को मारेको २०५० र ६० को दशकमा हजारौं गीत–संगीत आए पनि पहिला जस्तो कालजयी सिर्जना नआएको बताउँछन्, पण्डित उपाध्याय। “अहिले मेलोडीलाई अर्केष्ट्राले खाइदिएको छ”, उनी भन्छन्, नेपालमा मात्र हैन संसारमै यस्तै छ।”  
 
राज्यले पनि संगीतलाई मनोरञ्जनको साधन मात्र मानेको यो अवस्थामा डिग्री हासिल गरेर व्यावसायिक संगीतमा जानेहरूलाई अप्ठ्यारो भएको छ। तर, अर्कोतिर केही महीना सा रे ग म रटेकै भरमा नेपाली संगीतको श्रीवृद्धि नहुने अवस्था रहेको उपाध्याय बताउँछन्। “अहिले संगीतमा डिग्री गर्नेहरूले न विश्वविद्यालयमा जागिर पाउँछन् न त संगीतमै जम्न सक्छन्”, उपाध्याय भन्छन्, “तर हामीले यो चरण पार गर्नैपर्छ र गरिन्छ।” 
 
तहगत विकासको आधार भएकोले नेपाली संगीतले अहिलेको अप्ठ्यारो चरण सहजै पार गर्ने उपाध्यायको विश्वास छ। नेपाली संगीतमा पाश्चात्य प्रभाव बढेको कुरा उनी मान्दैनन्। “किनभने, पूर्वीय संगीत अथाह सागर हो”, उनी भन्छन्, “केहीले ड्रम–गितार बजाएर होहल्ला गर्दैमा त्यो सागरमा खासै फरक पर्दैन।” 

 

comments powered by Disqus

रमझम