२४-३० साउन २०७२ | 9-15 August 2015

देख्नेकै संसार!

Share:
  
आँखा देख्नेहरूले नै बेवास्ता गरेपछि भूकम्पपीडित दृष्टिविहीनले थप पीडा भोग्नुपर्‍यो।

१२ वैशाखको महाभूकम्प आउँदा सविता थापा डेरा गरी बसेको ललितपुरको ठैबस्थित घरको भुईंतलामा थिइन्। घर हल्लिन थाल्नेबित्तिकै उनले ८ वर्षीय छोरो सम्झिइन्। “बोलाउँदा बोलेन, आफैं खोज्न जाऊँ भने आँखा देख्दिनथें”, त्यो भयावह सम्झ्ँदै दृष्टिविहीन थापा भन्छिन्। थापाका पति फुर्गेल शेर्पा पनि दृष्टिविहीन हुन्। भूकम्पमा जहाँ थिए, त्यहीं सम्हालिएर बसे। आँखा देख्ने छोरा भने बाहिर खेल्दै रहेछन्।

काठमाडौं, साँखुका दृष्टिविहीन मंगल बुढाथोकी महाभूकम्पका वेला दुई तलामाथि थिए। सबै कराउँदै बाहिर निस्के। तर, उनका लागि त्यो विकल्प थिएन। उनी भन्छन्, “मरे पनि मरियोस् भनेर जहाँ थिएँ, त्यहीं बसिरहें।” दृष्टिविहीन गायक उत्सव नेपाल दुई साथीसहित ठमेलको चारतले घरको तेस्रो तलामा थिए। उनी सम्झ्न्छन्, “सबै जना भाग्न थाले, हामी भने एक–अर्कालाई समातेर त्यहीं बस्यौं।”

श्रीमती दुर्गा र छोरीका साथ साँखु काठमाडौंका मंगल बुढाथोकी।

सिन्धुपाल्चोककी सविता थापा।
महाभूकम्पको विपत्तिमा दृष्टिविहीनले भोगेको पीडा कारुणिक छ। “यस्तो विपत्तिमा हामी बाँच्नु भनेको भाग्य हो”, नेत्रहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरे भन्छन्।

नेपाल अन्धा कल्याण संघ र नेत्रहीन संघले संयुक्त रूपमा निर्माण गरेको 'भूकम्पपीडित सहयोग समिति' का संयोजक कुमार थापाले भूकम्पमा परी देशभर पाँच जना दृष्टिविहीनको मृत्यु भएको बताउँछन्। उनका अनुसार भूकम्पबाट प्रभावित दृष्टिविहीनको संख्या भने ४३५ छ।

२०६८ सालको जनगणना अनुसार नेपालमा ९४ हजार ७६२ दृष्टिविहीन छन्। दृष्टिविहीनको क्षेत्रका संस्थाहरूले भने देशभर तीन लाखभन्दा बढी दृष्टिविहीन भएको दाबी गर्र्दै आएका छन्।

राहतमा विभेद

भूकम्पले सविता थापा डेरा गरी बसेको ठैबको घर चर्कियो। त्रिपाल नहँुदा उनीहरूले भूकम्पको वेला खुला आकाशमुनि रात काटे। “आँखा देख्नेहरूले आफ्नै व्यवस्था गरे”, थापाको दुःखेसो छ, “हामीलाई 'यो ठाउँ जाऊ' सम्म कसैले भनेनन्।”

अन्धा कल्याण संघका अध्यक्ष समेत रहेका कुमार थापा आँखा देख्नेले दौडेर राहत लिएको तर नदेख्ने निरीह बन्नुपरेको बताउँछन्। “बाँड्नेले पनि दृष्टिविहीन पनि पीडित छन् भनेर सोचेनन्”, उनी भन्छन्। क्रिकेट संघका अध्यक्ष घिमिरे भने दलित, जनजाति भनेरै राहत वितरण गरिंदा दृष्टिविहीन वा अपांगता भएका भनी कसैले नभनेको गुनासो गर्छन्।

आँखा देख्नेकै आँखा दृष्टिविहीनमा नपुगेपछि दृष्टिविहीनकै क्षेत्रमा कार्यरत संस्थाहरू राहतमा जुटे। नेपाल अन्धा कल्याण संघले उपत्यकाका भूकम्पपीडित ५० दृष्टिविहीनलाई त्रिपाल र खाद्यान्न वितरण गरेको छ भने ललितपुरको खोकना र बुङ्गमतीका १७ दृष्टिविहीन परिवारका लागि टहरा बनाइदिएको छ।

नेपाल नेत्रहीन संघका निर्देशक अमृत राईका अनुसार सिन्धुपाल्चोक, काभ्रे, नुवाकोट, गोरखा र उपत्यकाका तीन जिल्लाका २५० भूकम्पपीडित दृष्टिविहीनलाई त्रिपाल तथा खाद्यान्न वितरण गरिएको छ। संघले १०० जनालाई सेतो छडी पनि उपलब्ध गराएको थियो। दृष्टिविहीन गायक नेपालले पनि विभिन्न समूह र व्यक्तिसँग मिलेर दृष्टिविहीन बालबालिकालाई कापी, कलम बाँडेका थिए।

इन्गेज नेपाल र परिलक्षित नेपालले सिन्धुपाल्चोक र धादिङका दृष्टिविहीनलाई खाद्यान्न सहयोग गरेको थियो। स्वावलम्बी जीवन पद्धति केन्द्रले ललितपुरस्थित जावलाखेलमा जिल्लाभरका अपाङ्गता भएका व्यक्तिलाई बसोबासको सुविधा प्रदान गरेको थियो। भूकम्पबाट संकटग्रस्त १२ क्षेत्रका दृष्टिविहीन पढ्ने अधिकांश विद्यालय भत्किएका छन्।

घर भत्किएर, चर्किएर बस्न नमिल्ने भएका दृष्टिविहीनलाई निकै समस्या परेको छ। “कतिपयले जग्गा भाडामा लिएर टहरो बनाएर बसेका छन्”, थापा भन्छन्। उपत्यका बाहिरका दृष्टिविहीनले टहराभित्र आगो बाल्न जोखिम भएकाले ग्यास–चूलो उपलब्ध गराइदिन आग्रह गरेको थापा बताउँछन्।

दृष्टिविहीनहरू भूकम्पले कुन घर ढल्न लागेको, कुन बाटो चिरा परेको छ देख्दैनन्। बाटाभरि निर्माण सामग्री थुप्रेको, हिलो, खाल्डो पनि उनीहरूलाई थाहा हुँदैन। “आँखा देख्ने धेरैले बाटो देखाउन पनि आनाकानी गर्छन्”, नेत्रहीन क्रिकेट संघका अध्यक्ष घिमिरेको आक्रोश छ।

चीना थापा

comments powered by Disqus

रमझम