२४-३० साउन २०७२ | 9-15 August 2015

'रोलमोडल' किसान

Share:
  
- जीवनप्रसाद राई
राम्रै तलब दिने गैससको जागिर छाडेर तरकारी रोप्न थालेका काभ्रेका प्रताप लामा घरै बसी–बसी १५ वर्षमा करोडपति बनेका छन्।

परिवारः बायाँबाट क्रमशः प्रताप लामा, छोरी सिर्जना, श्रीमती उमालक्ष्मी, कान्छी छोरी सदीक्षा, छोरा प्रदीप र बुहारी सुमिना।
सिप्रेड नेपालले २०५२ सालमा अरनिको राजमार्ग वरपरका किसानलाई व्यावसायिक तरकारी खेती सिकाउन थाल्दा धुलिखेल–१ पकुचाका ४६ वर्षीय प्रताप लामा एड्रा नेपालको गरीबी न्यूनीकरण कार्यक्रमको फिल्ड सुपरभाइजर थिए। त्यो वेला व्यावसायिक तरकारी खेतीले ध्यानाकर्षण गरेपछि उनी ठूलो सोचमा परे। बसोबास क्षेत्र, जातीय–सांस्कृतिक विशेषता, पारिवारिक पृष्ठभूमि सबैले उनलाई सुधारिएको खेतीमा हौस्याइरहेको थियो, तर बाबुआमा, दाजुभाइ, छरछिमेक सबैले जागिरमा जोड दिइरहेका थिए। अन्त्यमा उनले फ्याट्ट जागिर छाडेर लुसुलुसु तरकारी रोप्न थाले।

आधा रोपनीबाट नयाँ पेशा थालेका प्रतापले दोस्रो चरणमा तीन रोपनीमा तरकारी लगाए। छोराको ताल देखेर दिक्क बनेका बुबा कालुमान तामाङ 'पेट भर्ने मकै हुने ठाउँमा यसले खान नहुने सुन फलाउने भयो' भन्दै हिंड्न थाले। घरमा ठूलै शीतयुद्ध चल्यो। बाबुआमाको चिन्ता बुझेका प्रतापले होशियारीपूर्वक बजार नियाल्दै चूपचाप दशनङ्ग्री खियाइरहे। श्रीमती उमालक्ष्मीले उनलाई दिलोज्यानले साथ दिइरहेकी थिइन्। समय, बजार सबै उनीहरू अनुकूल थियो। मुश्किलले १५ हजारको मकै फल्ने तीन रोपनी जमीनको तरकारी एकै पटक बजार पठाउँदा रु.२ लाख आम्दानी भयो। “त्यसबाट एकमुष्ट रु.४० हजार हातमा राखिदिएपछि बुबा ढुक्क हुनुभयो”, प्रताप सम्झ्न्छन्, “गाउँमा पनि तरकारी खेतीको लहर चल्यो।”

निर्वाहमुखी खेती गरिरहेका यो क्षेत्रका किसान तरकारीमा लागेपछि अहिले आर्थिक रूपमा सबल बनेका छन्। उत्पादित तरकारी १५ सयभन्दा बढी किसानको शेयर रहेको जनजागृति सहकारी संस्था मार्फत बजार पुग्छ, जसको कार्यकारी अध्यक्ष प्रताप छन्। उनको चुस्त व्यवस्थापनमा ती तरकारी द्वारिका रिसोर्ट, धुलिखेल रिसोर्ट, मिरावेल रिसोर्ट, अरनिको होटल, बाबा रिसोर्ट, बीएससी नर्सिङ लगायतका होटल, रिसोर्ट तथा विदेशी संस्था, नियमित ग्राहक र खुद्रा पसलसम्म पुग्छ। “हाम्रो कृषि बजार किसानमारा छ”, लामा भन्छन्, “भुक्तभोगी नभई व्यवस्थापन गर्न पनि सकिन्न।”

परिवारै कृषिमा

प्रतापको सफलता कृषिमा समर्पण र निरन्तरताको परिणाम हो। विभिन्न थरीका तरकारीदेखि पाउलोनिया, बोधिचित्त, कागती, रक्तचन्दन, अगरउड, चिया, रुद्राक्ष, मसला, टिमुर, सावरसूप लगायतका 'हाई भ्याल्यु कर्प' सम्मका नर्सरी राखेका उनले कृषि सम्बन्धी अन्य कारोबारलाई पनि मूल व्यवसायमा जोडेका छन्। उनी यस क्षेत्रका किसानलाई उपभोक्तासँग जोड्ने पुल बनेको पनि एकदशक भइसक्यो।

कृषिका अन्य व्यवसाय विस्तार गर्ने क्रममा उनले प्लास्टिकका सामग्री, विभिन्न किसिमका स्वदेशी–विदेशी मल, बीउ, औजार आदिको व्यापार गरिरहेका छन्। उनको व्यवसायले धुलिखेल, छापगाउँ, सुवालगाउँ, पकुचा, कुताल, ठकुरी गाउँ, चंखुबेसी, नयाँगाउँ, आचार्य गाउँ, नयाँबस्ती, बाँसटोल, चौकोट लगायतका किसानलाई सजिलो भएको छ। यी गाउँका किसानले तरकारीका बेर्ना लामाकै फार्मबाट लिन्छन्।

फैलँदो कारोबार र बढ्दो काममा प्रतापले परिवारबाट उदाहरणीय सहयोग पाएका छन्। बीबीए सकेर केही समय जापान बसेका उनका एक्ला छोरा प्रदीप अहिले बाबुकै व्यवसायमा पूर्णकालीन भएका छन्। कृषिमा आधारित उद्योगमा हात हाल्ने सोच बनाएको लामा परिवारमा प्रदीपले मूल रूपमा नर्सरी व्यवस्थापन सम्हालेका छन् भने बुहारी सुमिनाले कृषि सामग्री बिक्री–वितरणको। व्यवस्थापनमा कक्षा १२ को परीक्षा दिएर फुर्सदमा रहेकी जेठी छोरी सिर्जना जहाँ आवश्यक पर्छ, त्यहीं खट्छिन्। लामा परिवारमा खेलेरै गल्ने कान्छी छोरी सदीक्षा (४) मात्र हुन्, बाँकी सबैको समय भ्याई–नभ्याईमै बित्छ।

छँदाखाँदाको जागिर छाडेर माटोसँग खेल्न थालेका प्रतापले यसबाट ब्यांक ब्यालेन्स, घरघडेरी, खेतबारी जोड्नुका साथै विभिन्न वित्तीय संस्था र एउटा स्कूलमा लगानी गरेका छन्। नर्सरीमा मात्र रु.३५ लाख लगानी गरेका उनको परिवार फलफूल र मासु कारोबारमा पनि संलग्न छ। प्रतापले भाइहरू विचारसिंह र श्यामसुन्दरको परिवारलाई पनि यही पेशामा स्थापित गराएका छन्।

आफ्नो सारा परिवारलाई प्रतापले कृषि कर्म अन्य कुनै पनि व्यवसाय जस्तै भएको बुझाउन सकेका छन्। उनका अनुसार, कृषिमा जनसम्पर्क र बजार व्यवस्थापनका साथै गुणस्तरीय तथा ठूलो परिणामको 'हाइजेनिक' उत्पादन महत्वपूर्ण हुन्छ। प्रताप कृषिमा मन, धन, धैर्य पनि उत्तिकै चाहिने बताउँछन्।

comments powered by Disqus

रमझम