२४-३० साउन २०७२ | 9-15 August 2015

फोटोशप @ २५

Share:
  

गत फेब्रुअरीमा अमेरिकी कम्पनी एडोबीको फोटो सम्पादन गर्ने एप्लिकेशन फोटोशप २५ वर्ष पुग्यो। यो अवधिमा फोटोशप यति प्रचलित र चर्चित बन्यो कि प्रयोगकर्ताहरू 'फोटो सम्पादन गर्ने' भन्नुको साटो 'फोटोशप गर्ने' भन्न थाले। विभिन्न फाइल, फर्म्याटमा रहेका तस्वीरहरू सहजै चलाउन सकिने भएकाले पनि फोटोशप सफ्टवेयरको लोकप्रियता चुलिएको हो।

सन् १९८७ मा अमेरिकी दाजुभाइ थोमस र जोन नलले विकास गरेको फोटोशप, १९८८ मा एडोबी सिस्टम्स्लाई बेचिएको थियो। १९ फेब्रुअरी १९९० मा यसको पहिलो भर्सन १.० सार्वजनिक गरिएको थियो।

२००३ मा 'क्रियटिभ स्वीट' नामबाट नयाँ भर्सन सार्वजनिक नगरुञ्जेल फोटोशपका १३ वटा भर्सन बजारमा आए। २००३ को अक्टोबरमा म्याक र विण्डोज अपरेटिङ सिस्टमका लागि सार्वजनिक गरिएको क्रियटिभ स्वीट (८.०) ले तस्वीर सम्पादनमा एकछत्र राज गर्‍यो। क्रियटिभ स्वीट सिक्स भर्सनपछि जून २०१३ मा फोटोशपले आफ्नो नाम 'क्रियटिभ क्लाउड' राख्यो। हालै सार्वजनिक 'क्रियटिभ क्लाउड' का ६ वटा भर्सन बजारमा छन्।

पछिल्ला भर्सनका फोटोशपमा भिडियो सम्पादन र एनिमेशनको सुविधा पनि छ। नयाँ इफेक्ट र प्लग–इनका साथै आर्टबोर्ड र फोटोशप लाइब्रेरी जस्ता व्यवस्थाले यसलाई झ्ानै चुस्त बनाएको छ।

एडोबीले, फोटोशप परिवार नाममा फोटोशप एलिमेन्ट्स, फोटोशप लाइटरुम, फोटोशप एक्सप्रेस, फोटोशप टच र फोटोशप मोबाइल एप्लिकेशन पनि विकास गरेको छ। फोटोशपको पूर्ण भर्सनका लागि कम्प्युटरमा पर्याप्त स्पेस र तीव्र गतिको सीपीयू चाहिने भएकाले, साधारण कम्प्युटरमा समेत चलाउन मिल्ने गरी फोटोशप एलिमेन्टस् र फोटोशप एक्सप्रेस लगायतका एप्लिकेशन समेत एडोबीले उत्पादन गर्छ।

मुख्यालय अमेरिकाको क्यालिफोर्नियामा भए पनि एडोबी सिस्टमको डेभलपमेन्ट कार्यालय भने भारतको बैंग्लोर र नोयडामा छ। फोटोशप विश्वका २५ भाषामा उपलब्ध छ।

फोटोशपको सीमा

सम्पादनको भाषामा फोटोशप गर्नुलाई 'टच' पनि भनिन्छ। कुनै तस्वीर 'टच' गरी रंग, प्रकाश, फ्रेम मिलाउने, चाहिएको चिज राख्ने, नचाहिएको फाल्ने, अक्षर थप्ने लगायतका कार्य फोटोशपका लागि सामान्य हुन्। तर, फोटोग्राफी या फोटो पत्रकारितामा यसो गर्नुको पनि सीमा हुन्छ। सीमा नाघे त्यो तस्वीरलाई मान्यता दिइँदैन। कतिपयले फोटोशपको दुरुपयोग गरी विभिन्न आपराधिक काम पनि गर्छन्, जसलाई साइबर क्राइम अन्तर्गत कारबाही गरिन्छ।

११ सेप्टेम्बर, २००१ मा अमेरिकाको ट्वीन टावर आक्रमणपछि एउटा तस्वीरले एकाएक चर्चा पायो, ट्वीन टावरमै उभिएको एउटा मान्छे र टावरतिर आउँदै गरेको जहाज। वास्तविक ठानेर धेरैले त्यो तस्वीर प्रकाशित गरे। पछि थाहा भयो, तस्वीरमा फोटोशपको दुरुपयोग गरिएको छ।

नेपालमा अधिकांशले फोटोशपको चोरीको अर्थात् 'पाइरेटेड' सफ्टवेयर नै प्रयोग गरिरहेका छन्। वैध सफ्टवेयरका लागि वार्षिक करीब रु.२४ हजारसम्म तिर्नुपर्ने तर 'पाइरेटेड' रु.५०–६० रुपैयाँमै पाइने प्रविधिविज्ञहरू बताउँछन्।

भनिन्छ, “एउटा तस्वीरले हजार शब्द बराबर बोल्छ।” तर, फोटोशपको दुरुपयोग गरिएको तस्वीरले हजार झूट पनि बोल्न सक्छ।

गणेश आचार्य

comments powered by Disqus

रमझम