२४-३० साउन २०७२ | 9-15 August 2015

समयको स्वर

Share:
  

पुस्तक रेलिगेसन जिन्दगी

कवयित्री सविता विमली

प्रकाशक सारा प्रकाशन

पृष्ठ १०१+१६

मूल्य रु.१७५

निजात्मक अभिव्यक्तिका कवितामा पाठकले सहजै आफ्नो मन मिसिएको पाउँछ। सविता विमलीको रेलिगेसन जिन्दगी यस्तै ३९ कविताको सङ्ग्रह हो। सङ्ग्रहका अधिकांश कवितामा समयको उतारचढाव, आशा, शहरिया परिवेशका अतृप्ति पोखिएका छन्। बाँचिरहेको समयको आवाज पनि छ।

जीवन मैदानमा दौडिएको मान्छे आफ्नै कर्म र निर्णयले 'रेलिगेसन' मा परिरहन्छ अर्थात् सधैं हारिरहन्छ। फूटबलसँग सम्बन्धित सङ्ग्रहको शीर्ष कविता जीवन्त लाग्छ।

'चित्रकार' शीर्षकको कविताबाट प्रारम्भ भएको विमलीको स्वप्निल संसारमा परेवा, मलेवा र चखेवाको सट्टा चिल, गिद्ध र बाज एक्कासि झम्टन आउँछन्। स्रष्टा नीला अक्षरका बिम्बको खोजीमा लाग्दा मन्दिर, मस्जिद, गिर्जाघर र गुम्बाहरूमा मानवताविरोधी गतिविधिसँग साक्षात्कार हुन पुग्छिन्।

'भोलि तिम्रो अनि मेरो' कवितामा शान्ति स्थापनार्थ लागिपरेका प्रेमीको प्रतीक्षा छ, उनी आफूलाई यशोधरा ठान्छिन् र पे्रमीलाई नव युगको सिद्धार्थ भन्छिन्। 'प्लेटोनिक प्रेम' की पक्षधर उनी प्रेमको विनिर्माणको घोषणा गर्छिन्। आफूलाई अँध्यारोमा छोडेर उज्यालोको खोजीमा हिंडेका सिद्धार्थ गौतमलाई यशोधराले गरेका प्रश्न र गुनासाले कविको सिर्जना शक्ति प्रष्ट हुन्छ।

'छोरो अनि वर्तमान' कवितामा नयाँ पुस्तामाथिको विश्वास झल्कन्छ। 'दीपा' मा क्षणभङ्गुर जीवनको घुर्मैलो चित्र छ। 'वर्जित प्रेम' ग्रीसेली जोडी इभ र आदमलाई युटोपियाबाट स्खलित प्रेमका वर्जित फलका रुपमा हेरिएको छ। 'जब ठुली एक्लै हुन्छे' कवितामा दशवर्षे द्वन्द्वकालले वषौदेखि जमीनदारद्वारा लुटिएका परित्यक्ता नारीहरूका सन्ततिलाई सुराकी वा विद्रोहीको आरोपमा हत्या गरिएको घटना छ। 'सर्पको काँडा', 'फाट्न लागेको कुहिरो' र 'आस्वादन' जस्ता पितृसत्ताका पीडाका स्वर छन्। पछिल्लो र अघिल्लो पुस्ता सबैका लागि रेलिगेसन जिन्दगी पठनीय बनेको छ।

प्रा.डा. हेमचन्द्र नेपाल

comments powered by Disqus

रमझम