२४-३० साउन २०७२ | 9-15 August 2015

मूर्तिसँग मितेरी

Share:
  
खोलाका ढुंगा शहर पुग्न थालेपछि मूर्तिकार मञ्जुल छटपटिन थालेका छन्।

गोपाल गडतौला
आफैंले बनाएका मूर्तिसाथ मञ्जुल बराइली।

विद्यालयमा मूर्तिकार अरनिको बारे पढ्दा नै टाँडी गाविस, मोरङका मञ्जुल बराइली 'मितेरी' (३४) लाई मूर्तिकलाप्रति रुचि जागेको थियो। नभन्दै, उनी घरछेउको मिक्लु खोलाको बगर धाउन र छिनाले खोलाका ढुगा कुँद्न थाले।
एक दशकपछि अर्थात्, १४ मंसीर २०६२ मा मोरङ, टाँडी–५ का बराइलीले मिक्लु खोलाका ढुंगाबाट बनेका तिनै मूर्ति उर्लाबारी, मोरङमा आयोजित एक कला प्रदर्शनीमा राखे। प्रदर्शनीमै उनले देशका एक हजार विख्यात व्यक्तिका मूर्ति देशलाई नै उपहार दिने घोषणा पनि गरे। तर, परिवार चलाउने मेसोमा उनले आफ्नै वचन राख्न सकेनन्।

दुई दशकयता मञ्जुलले करीब दुई हजार मूर्ति बनाए, जसमध्ये डेढ सय मूर्ति प्रसिद्ध व्यक्तिका छन्। बुद्ध, पारिजात, लक्ष्मीप्रसाद देवकोटा, भक्ति थापा, बीपी कोइराला, पासाङ ल्हामु शेर्पा, जाँ हेनरी ड्युना, माओत्सेतुङ, भ्यान गग आदि उनका कलाकृतिमा बाँचेका छन्।

यसबीच मञ्जुलले मान्छे र भगवानका गरी झन्डै एक हजार ८०० वटा बेचे। काठमाडौंको रामकोटस्थित विन्ध्यवासिनी भगवतीको दश फुटे मूर्ति मञ्जुलले नै रु.१० लाखमा बेचेका हुन्। बीपी र पुष्पलालका मूर्ति पनि रु.५ लाखका दरमा बेचेका उनले दमकमा २ साउनमा अनावरण गरिएको आदिकवि भानुभक्त आचार्यको साढे तीन फुट अग्लो अर्धकदको मूर्तिबाट रु.२ लाख कमाए।

शान्तिको आविष्कारः एक काल्पनिक मूर्ति।

अहिले उनी राष्ट्रिय विभूति सिरिजङ्गा र पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाको सालिक बनाउन खटिएका छन्। “शुरुमा व्यक्तित्व अध्ययन गर्छु”, उनी भन्छन्, “त्यसपछि मनमा एउटा मूर्ति कुँद्छु। अनि मात्र ढुंगामा उतार्छु।”

मञ्जुलको कौशलको सम्मान गर्दै युवा तथा खेलकुद मन्त्रालयले यसै वर्ष उनलाई रु.५० हजार राशीको युवा प्रतिभा तथा युवा उद्यमी प्रोत्साहन पुरस्कार प्रदान गरेको छ।

नाम र दामलाई लिएर मूर्तिकारितासँग गुनासो नगर्ने मञ्जुलको अहिलेको समस्या भनेको ढुंगा नपाइनु हो। मूर्तिका लागि उपयुक्त ढुंगा घर बनाउन शहर पुग्न थालेपछि उनले गएकै वर्ष गाविसलाई खोलाका ढुंगा नबेच्न अनुरोध गर्दै रु.७० हजार दिए। गाविसले उनको अनुरोध त स्वीकार्‍यो तर प्रत्येक साँझ ट्याक्टरमा ढुंगा भरेर लैजानेलाई पन्छाउन सकेन। “घर बनाउनेले नकिनेका ढुगा मात्र मेरो भागमा पर्छन्”, मञ्जुल भन्छन्।

गोपाल गडतौला

comments powered by Disqus

रमझम