२४-३० साउन २०७२ | 9-15 August 2015

सम्पदा जोगाउने वेला

Share:
  
भूकम्पले भत्काएका धार्मिक तथा ऐतिहासिल स्थलबाट कलाकृति हराउने खतरा छ।

कुन्द दीक्षित
पाटन दरबार स्क्वायरका काठमा कुँदिएका सम्पदा भग्नावशेषबाट निकालेर संग्रहालयमा राखिएपछि।

महाभूकम्पले क्षति पुर्‍याएका ऐतिहासिक सम्पदा चोरी हुन थालेको चर्चा चल्यो। ढुंगाका प्रतिमा र काठका कलाकृतिहरू भग्नावशेषमा जथाभावी छरिएका तस्वीर सहित विभिन्न सञ्चारमाध्यममा समाचार सम्प्रेषण गरिए।

हुन त नेपालमा कलाकृति हराउनु नौलो कुरा होइन। विगत ५० वर्षयता उपत्यकाका ९० प्रतिशत प्राचीन कलाकृति चोरी भएको विज्ञहरू बताउँछन्। १२ वैशाखको भूकम्पले यो डर ताजा गराइदिएको छ।

भूकम्पको केही साताअघि मात्र एक अमेरिकी व्यापारीले नेपाल र भारतबाट चोरिएका प्राचीन तीन मूर्ति चीनका व्यापारीलाई बेचेका थिए। तीमध्ये एउटा मूर्ति सुन तथा काँसले कुँदिएको १३औं शताब्दीको बौद्ध देव साम्भराको थियो। ३ लाख ७० हजार डलरमा बेचिएको उक्त प्रतिमा १९८३ मा इतुंबाः मन्दिरबाट चोरिएको थियो।

“यतिवेलै चाहिं कलाकृति हराएका वा चोरिएका कुरा खासै सुनिएका छैनन्”, काठमाडौं महानगरपालिकाकी सम्पदा संरक्षण प्रमुख श्रीजु प्रधान भन्छिन्, “तर, अवस्था निकै संवेदनशील भएकाले सतर्क हुन आवश्यक छ।” भत्किएका मठ–मन्दिरका मूर्तिलगायत शिल्प जोगाउन भने गाह्रो परिरहेको उनी स्वीकार्छिन्। भूकम्पलगत्तै स्थानीय स्वयंसेवी, गुठी र युवा–समूहले टुँडाल, राजा–महाराजाका कास्य मूर्ति र ढुंगाका कलाकृति संरक्षणमा चासो राखेका थिए। “स्थानीयलाई कलाकृतिबारे जानकारी दिई अपनत्व भाव जगाउनु नै सुरक्षाको उत्तम उपाय हो”, प्रधान भन्छिन्।

प्राचीन कलाकृतिको तस्करीबारे छलफल गर्न गत महीना काठमाडौं आएकी बेलायती पुरातत्वविद् ग्लासगो विश्वविद्यालयकी डोना येट्सले ऐतिहासिक कलाकृतिको चोरीमा सञ्चारमाध्यमले कुरा बंग्याइरहेको बताइन्। “इराक र सिरियाका प्राचीन स्थलमा उग्रवादी आईएसआईएसले आक्रमण गरेपछिका समाचार सुन्दा यस्तो लाग्यो कि मानौं कलाकृतिहरू संकटकालमा मात्रै चोरी हुन्छन्”, उनी भन्छिन्, “तर, यो त लामो समयदेखि विद्यमान समस्या हो।”

ऐतिहासिक सम्पदाको तस्करी एवं 'स्रोत राष्ट्र' का रूपमा प्रायः नेपाल जस्ता विकासोन्मुख देश छन्। एउटा देशबाट अर्को देशमा चोरिएका मूर्ति निकासी गर्न थुप्रै कागजी प्रमाण चाहिन्छन्। तर, भ्रष्टाचार व्याप्त नेपाल जस्तो देशमा प्रमाण जुटाउन गाह्रो पर्दैन। अन्तर्राष्ट्रिय कला तस्कर र संग्रहालयको मिलेमतोमा सहजै कलाकृति तस्करी हुने गर्छन्। पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीका अनुसार यस्तो कार्यमा कूटनीतिक क्षेत्रका व्यक्ति समेत सहभागी हुन्छन्।
नेपालमा अझै सम्म सांस्कृतिक सम्पदाको सूची बनाइएकै छैन। सूची नहुँदा विदेशमा भेट्टाइएका मूर्ति नेपालकै भए पनि फिर्ता ल्याउन सकिंदैन, दाबी गर्नै कठिन छ।

चोरिएका नेपाली कलाकृतिबारे अध्ययन गरेका जर्गन स्चिक र लैनसिंह बाङ्देलका पुस्तकबाहेक प्राचीन कलाकृतिबारे उल्लेख भएका दस्तावेज खासै छैनन्। कतिपय मन्दिरभित्र फोटो खिच्न प्रतिबन्ध लगाइनुले पनि अभिलेख राख्न थप जटिल भएको हो। “स्मार्टफोनको एक क्लिकले परदेशमा भेट्टाइएका मूर्ति हाम्रा हुन् भनेर दाबी गर्ने आधार दिन्छन्”, सम्पदाको अभिलेखमा जुटेका आलोक तुलाधर भन्छन्, “स्मार्टफोनको जिओ–लोकेसनले ती तस्वीर कहाँ खिचिएका थिए भन्ने पत्ता लाग्छ र मूर्ति फिर्ता ल्याउन सकिन्छ।”

भूकम्पले निकै क्षति पुर्‍याएको काठमाडौंको साँखु र ललितपुरको बुङ्गमतीका सम्पदाको संरक्षण गर्नु यतिवेला चुनौतीपूर्ण देखिएको छ। तर, पाटन दरबार स्क्वायरको पुनःस्थापनाले स्थानीयको सक्रियताबाट मात्रै यो कुरा सम्भव हुने देखाइसकेको छ। “समाज नै सम्पदा संरक्षणमा लागेकाले कतिपय महत्वपूर्ण कलाकृति जोगिए”, काठमाडौं उपत्यका संरक्षण कोषका रोहित रञ्जितकार भन्छन्।

सार्थकमणि शर्मा

comments powered by Disqus

रमझम