२४-३० साउन २०७२ | 9-15 August 2015

स्पट– रिहर्सल

Share:
  

सुटिङ थाल्नुअघि रिहर्सल अर्थात् अभ्यास सामान्य हो। हामीकहाँ यस्ता अभ्यास स्टुडियोमा गरिन्छ। “सुटिङ स्पटमै रिहर्सल गर्दा अभिनयमा थप निखार आउँदो रहेछ”, अभिनेत्री बेनिशा हमालको अनुभव छ।

१६–२६ भदौमा हुने ७२औं भेनिस फिल्म फेस्टिभलमा छानिएको नेपाली चलचित्र कालो पोथी मा अभिनय गरेकी बेनिशाले चलचित्रको रिहर्सल मुगुका कार्कीवडा, किर्मी गाविसमा गरेकी थिइन्। स्पट–रिहर्सलले आफूलाई त्यहाँको भाषा, संस्कृति बुझ्न र कथामा भिज्न सघाएको उनले बताइन्।

मोक्ष चलचित्रबाट प्रशंसा बटुलेकी बेनिशाले कालो पोथी बाट धेरै आशा गरेकी छन्। निर्देशक मीनबहादुर भामका अनुसार यो चलचित्र मंसीर–पुसमा नेपाली दर्शकले हेर्न पाउने छन्।


एमटीभीमा नेपालीका गीत

नेपालका सञ्चारमाध्यममा हिन्दी गीतहरू खूब बज्छन्। तर, भारतीय सञ्चारमाध्यममा नेपाली भाषाको गीत विरलै सुन्न पाइन्छ। तर, अचेल भारतीय टेलिभिजन, एमटीभी इण्डियामा नेपाली गायकगायिका रोहित शाक्य र आस्था तामाङ मास्केको 'होयर ह्याभ यु बिन' बोलको गीत निकै प्रसारण भइरहेको छ। ११ साउन (२७ जुलाइ) मा 'पेप्सी एमटीभी इण्डिज' कार्यक्रम मार्फत सार्वजनिक गरिएको उक्त गीत 'जस्ट अराइभ्ड' विधा अन्तर्गत दिनको कम्तीमा तीन चोटि प्रसारण गरिंदै आएको छ। “यो त हाम्रा लागि निकै खुशीको कुरा हो”, हाल क्यानाडामा रहेकी गायिका आस्थाले फेसबुकमा लेखेकी छन्।

अमेरिकाको प्रख्यात 'इन्टरनेशनल सङ राइटिङ कम्पिटिसन २०१४' मा पनि यस गीतले रोहित र आस्थालाई 'पिपल्स भोइस' विधामा अवार्ड दिलाएको थियो। नौ महीनाअघि युट्युब मार्फत सार्वजनिक गरिएको 'होयर ह्याभ यु बिन' को म्युजिक भिडियोले ६६ हजारभन्दा बढी भ्यूज बटुलेको छ। आस्थाका 'सबै ठीकै हुन्छ', 'इट्स गटा बि लभ' जस्ता गीत चर्चित छन्।

नाटकतिर उपेन्द्र

साहित्यकार उपेन्द्र सुब्बालाई आफ्नो कथा संग्रह लाटो पहाड भित्रको शीर्षकथाले नाट्यरुप पाउला भन्ने लागेकै थिएन रे! तर, किरण चाम्लिङ राई र घिमिरे युवराजले कथाकारले नै नपत्याएको काम गरे। शिल्पी थिएटरमा लाटो पहाड ले मनग्य दर्शक पायो। “मैले नसोचेको पो भयो”, उपेन्द्र भन्छन्, “१८ साउनसम्म चलाउने भनिएको नाटक २८ गतेसम्म लम्बियो। सबैको प्रशंसा सुन्दा म साहै्र फुर्केको छु।”

यसले उपेन्द्रलाई चाँडै अर्को नाटक लेख्न हौस्याएको छ। शुभचिन्तकले कर पनि गरिरहेका छन्। “ग्रामीण जन–जीवन समेटिएको, सांस्कृतिक कथामा आधारित नाटक लेख्न खोज्दैछु”, हालै चलचित्र कबड्डी बाट पटकथाका लागि राष्ट्रिय चलचित्र अवार्ड पाएका उनी भन्छन्, “लिम्बू मिथकमाथि पनि लेखौं कि भन्ने विचार आएको छ।” उनले दशैंअघि नै एउटा नाटक लेखिभ्याएर तिहारपछि प्रदर्शन गर्ने लक्ष्य लिएका छन्।

comments powered by Disqus

रमझम