उनी विद्यालयका ५३ जना अपाङ्गता भएका विद्यार्थीको अक्षर विषयगत शिक्षकले बुझ्ने भाषामा अनुवाद गर्छन्र दिन्छन्। त्यसपछि बल्ल शिक्षकले उनीहरूको उत्तरपुस्तिका जाँच्छन्। महर्जनले यसो गर्न थालेको २६ वर्ष भयो।
२०४६ सालको एक बिहान। बुङ्गमतीका १४ वर्षीय दृष्टिविहीन जीवन डंगोल 'म पनि पढ्छु' भन्दै विद्यालय आइपुगे। विद्यालयमा आँखा नदेख्नेलाई पढाउने व्यवस्था नै थिएन। तर, महर्जनले डंगोललाई 'पढाउन सक्दैनौं, घर जाऊ' भनी फर्काउन सकेनन्। र, आफैंले ब्रेललिपि सिकेर डंगोललाई पढाउन थाले। “टाइपराइटर थिएन, स्लेटमै लेख्थ्यौं”, उनी भन्छन्, “एक वर्षभित्रै जीवन अरु झै कक्षामा बसेर पढ्न सक्नेभए।”
दृष्टिविहीन डंगोल अरु जस्तै विद्यालय जान थालेको देखेर वरपरका अभिभावकले पनि आफ्ना अपाङ्गता भएका सन्तान विद्यालय ल्याउन थाले। तर, यी विद्यार्थीसँगै महर्जन सरमा चुनौती थपियो। किनभने उनीहरू सबै दृष्टिविहीन थिएनन्। तीन जना बहिरा विद्यार्थी विद्यालय भर्ना भएपछि महर्जनले काठमाडौं बहिरा संघमा गई सांकेतिक भाषा सिके। एकदिन खोकना घुम्न गएका उनले भुईंमा घिसि्ररहेको पक्षघात पीडित चारवर्षीय बालक देखे। “बालक देखेर मन निचोरियो, अभिभावकसँग कुरा गरेर लिएर आएँ”, उनी भन्छन्। त्यसपछि उनले फिजियोथेरापी पनि सिके।
२०५४ सालमा महर्जनले 'अपाङ्ग सेवा संघ' दर्ता गरी कार्यविनायक मन्दिर सुधार समितिको एउटा कोठा मागे। र, तीन जना अपाङ्ग बालबालिकालाई त्यहीं राखी पढाउन थाले। तर, कतिपयले 'मन्दिरछेउ लुला–लँगडा राखेर के विजोग देखाएको' भन्दै उनको विरोध गरे। “बडो मुश्किलले दुई वर्ष काटियो”, उनी सम्झन्छन्।
विस्तारै महर्जनको मर्म बुझ्नेहरू बढ्न थाले। अहिले उनी विद्यालयछेउकै तीन वटा घर भाडामा लिएर ५३ जना बच्चाको पालनपोषण गरिरहेका छन्। उनीहरूको पुनःस्थापनाका लागि वाद्यवादन, संगीत, चित्रकला, फोटोग्राफी, सिलाइ–बुनाइ तालीम पनि दिन्छन्।
२६ वर्षअघि महर्जनको जीवनको बाटो मोड्ने दृष्टिविहीन डंगोल अहिले विद्यालयको 'स्रोत कक्षा' मा भर्ना भएका दृष्टिविहीनलाई पढ्न सिकाउँछन्। अर्का दृष्टिविहीन विद्यार्थी सतिशराज पाण्डे कालिका एफएममा कार्यक्रम चलाउँछन्।
“अपाङ्गता समस्या नै होइन”, लामो समय अपाङ्गता भएकाहरूको संसर्गका आधारमा महर्जन यस्तो निष्कर्षमा पुगेका छन्। उनी भन्छन्, “अवसर दिई हेरौं। उनीहरू सबलाङ्गभन्दा सक्षम बन्छन्।”
महर्जन सम्झन्छन्, आज प्रशंसा गर्ने यही समाजका कतिपयले उनलाई 'दिमाग खुस्केको मानिस' सम्म भनेका थिए। ”उनीहरू गलत थिए कि सही मलाई थाहा थिएन, म त जे मनमा लाग्यो त्यही गरिरहेको थिएँ”, उनी भन्छन्।
सजना बराल