“मञ्चमा आसीन एक्लो माननीय हजुर नै हो, मान्यवर!” उद्घोषकले तेस्रो आग्रह के गरेका थिए, माननीय मञ्चबाट बुर्कुसी मार्दै चम्पट् भए। त्यहाँबाट एकै तोडमा निवास पुगेका माननीय खाटमा तेर्सिएर गम खान थाले– गरिखान नदिने भए बैरीहरूले, मुख देखाइनसक्नु पारे। लास्टै एलर्जी भएको जिनिसले नै यतिविधि पोल्ला भन्ने के थाहा? भरसक तर्केकै हो, तर पनि निजात पाइएन। यो पत्रकारको जातै घामट हुँदोरै'छ। घामट मात्र नाई, छुल्याहा पनि हुँदोरै'छ। कहाँ–कहाँ घुस्न भ्याएका छुल्याहाहरू? यसरी अन्तर–कुन्तर झाँक्न थाले भने त झ्ोलीतुम्बा भिराएर मर्ने भए।
उनी सोच्दै गए– सत्यानाशीहरूलाई अझ् पूर्ण प्रेस स्वतन्त्रता चाहियो रे! हाम्लाई पनि बहुला कुकुरले टोक्या छ र आफ्नै खुट्टामा बन्चरो हान्न? मन लाग्नेले आफू पढे भैगो, ख्याउँ–ख्याउँ गर्दै किन अरूको निदहराम गर्नू? अब त मर्निङ वाक्मा समेत मुश्किल परिसक्यो। कलेजतिर ठमठमिएका ठिटाठिटीका किताबले धरी जिस्क्याए जस्तो लाग्छ।
माननीयको सोचाइ रोकिएन। उनी गम्दा भए– अझ् माइक्रो/ट्याम्पोमा समेत किताब पल्टाएर छाँट पार्नेहरू देख्दा कन्पारो फुट्ला जस्तो हुन्छ। मतिमाराहरू मान्छे पढेर भन्दा बढेरै ठूलो हुने 'ओपन सिक्रेट' पनि बुझदैनन्। संसद् सचिवालयमा पुस्तकालय पनि छ भन्ने धेरै माननीयलाई मालूम छैन त क्यार्नू? गफास्टकहरूले 'गाँड कोराकोर' गर्ने अखडामा काला अक्षरमा बाँकटे हानेर के लछारिन्छ? पुस्तक–पत्रपत्रिकामा वर्षेनि लाखौं रुपैयाँ बुत्याउनुभन्दा माननीयहरूबीच दामासाही लाउन पाए गनिमत हुन्थ्यो बरु।
माननीयलाई लाग्यो, मरिजाने जुनीमा पढिखानु के नै छ र! एकबारको जोवनमा दिमाग घोटाउँदा हदैभए मास्टर, डाक्टर वा गभर्नरै होलान्, तर स्कूलको अनुहार नदेखे पनि वा अध्ययनसँग नाता तोडे पनि तिनलाई चरचर्ती चराउने सांसद्, मन्त्री हुन्नन् क्यारे! माननीय बन्ने वाञ्छनीय योग्यता सुमरिएकै छ, किताबसँग झ्ुत्ती खेलेर बित्थामा कसले माथा खराब गरोस्। आखिर भगवानले मान्छे लोट्याउन तिर्ताले जिब्रो दिएकै छन्। घाममा बसेर बदाम बोक्र्याउन र नेताको आदेशमा थपडी बजाउँदै नाक घोक्र्याउनदेखि कुर्सी तोडान् र माइक फोडान्सम्म हामी बिच्छी नै छौं। कसैले आरिस गर्दैमा के नापिन्छ?
उसै पनि, नयाँ नेपाल मुस्तण्ड र लडाकूहरूको हो। विद्यावारिधि गर्नेलाई औंठाछापहरूले सदनभित्रै चमाट लगाउँछन्। तर, अठार महीनामा दर्जन माननीय मात्र पुस्तकालयमा ढिम्किएको खबरले चाहिं झुरै गरेर मरेको छ। अठार जना पुग्द्या'भे मासिक एक माननीय पुस्तकालय छिरे भन्न पाइन्थ्यो। त्यसमाथि, पत्रकार पड्केले पुस्तकालय छिरे/नछिरेको हरहिसाबसँगै किताबको नालीबेली पनि छापेर मरेछ। फस्ट ट्याम पुस्तकालय छेउ पुगेको उपलक्ष्यमा रंगिला मिजासका एक जना माननीय मित्र 'कामशास्त्र पाइएला कि नाईं' भन्दै भित्र पस्न हिनहिनाएका थिए, धन्नले बाँचिएछ गाँठे!
माननीय रिसाउँदै सोच्न थाले– पढाकुको ख्याति फैलेकोमा किताब लैजाने माननीयहरू दङ्गदास होलान्। कुनै दिन एउटा उल्टी खोपडीले 'पुस्तक ओसार्छौ मात्र कि पढ्छौ पनि? फलानो किताबबाट के बुझयौ?' भनी छड्के गर्दा देख्छन् बराजुको बिहे। तर, अरूलाई के कोस्नू? आफ्नै फोटो छापिएको समाचार पढ्नमा समेत भुटिभाङै भइयो। निम्तो–पत्र समेत नपढी कार्यक्रममा अधमरिंदा आज त्यत्रो फजिती भयो। आइन्दा अध्ययन र पुस्तकसँग सम्बन्धित कार्यक्रममा यसरी बिजेत हुन मरिगए मुन्टिनेवाला छैन।
“ओ बूढा, दिउँसै गुफा पसेर के जात्रा हो यो?”
श्रीमतीको कर्कशे स्वरबाट झ्सङ्गिएका माननीयले हतार–हतार ढोका खोले। श्रीमतीले पुस्तकालय उद्घाटनको निम्तोपत्र थमाइन्। माननीय सिरकमा गुटमुटिए।