३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

नेपाल–भोट सम्बन्धमा गडबडी

Share:
  
- ज्ञानमणि नेपाल
लिच्छविकालदेखि विकसित नेपाल–भोट सम्बन्धमा खोटा टक र अंग्रेज हस्तक्षेपले ठूलो गडबडी ल्यायो।

सातौं शताब्दीको उत्तरार्द्धमा भोटले राष्ट्रको रूप लिंदै गर्दा नेपालमा अंशुवर्माको शासन थियो। लोकप्रिय शासक अंशुवर्माको अवसानपछि राजसिंहासनमा बसेका उदयदेवलाई संवत् ६७८ मा निष्कासन गरेर धु्रवदेवलाई राजाको थान्कोमा राखेका गुप्तवंशी विष्णुगुप्तले उपराजको अधिकार लिए। उदयदेव सपरिवार भोटको शरणमा गए।

अंशुवर्माकै पालामा नेपाल–भोट आवतजावत र बन्दबेपार चल्न थालेको थियो। त्यसवेला भोटका राजा स्रोङचन गम्पो नाबालकै थिए। शरणार्थी राजा उदयदेवको सम्बन्धबाट राजकुमारी भृकुटीसँग स्रोङचन गम्पोको बिहे भयो र नेपाल–भोट घनिष्ठता बढ्यो। भृकुटीको माध्यमबाट भएको बौद्धधर्म प्रतिष्ठाले भोटमा राष्ट्रिय रूप लियो।

त्यो वेला भोटबाट घोडा, सुन, नुन, ऊन र ऊनबाट बनेका सामान नेपाल आयात हुन्थ्यो। यताबाट खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा र मरमसला जान्थे। त्यो बेपार दिनप्रतिदिन बढ्दै आयो। मल्लकालमा भीम मल्लले भोट बेपारमा नेपालको एकाधिकार कायम गरी बत्तीस कोठीको व्यवस्था गरे। त्यसमा धेरै नेवारहरूकै कोठी थिए। बत्तीस कोठीका महाजनले अन्तःशुल्क तिर्नुपर्दैनथ्यो। सीमा बेपारको भन्सार नेपालकै हुन्थ्यो, भोटमा चल्ने पैसा पनि नेपालकै टक्सारमा ढालेर पठाइन्थे।

पछि युद्ध खर्च धान्न मल्ल राजाहरूले तामा मिसिएका खोटा टक भोट पठाए, जसका कारण सम्बन्धमा खटपट आयो र दुईपल्ट युद्ध भयो। दोस्रो युद्धमा त नेपालले भोटको मद्दतमा आएको चिनियाँ सेनासँग पनि भिड्नुपर्‍यो। लडाईंमा हारपछिको सम्झौतामा भोटका लागि चीनले टक ढालिदिने भयो। नेपाल–भोट बेपार भने पूर्ववत् चलिरह्यो। पछि जंगबहादुरको पालामा यस्तै बेपार र सीमा विवाद उठेर युद्ध भयो। लडाईंमा नेपालको जितपछि भोटले सालना दश हजार कर तिर्नुपर्ने सम्झौता भयो।

इष्ट इण्डिया कम्पनी धेरै पहिलेदेखि भोट बेपारमा हात हाल्न प्रयासरत थियो। पृथ्वीनारायणको पालामा बोगले भन्ने कम्पनीका प्रतिनिधि नेपालबाट जान नपाउँदा भोटाङतिरबाट भोट पुगेछन्, तर भोटको असहयोगले उद्देश्यमा सफलता मिलेन। त्यसअघि कम्पनीका मुरक्राफ्ट र हियर्सीको दल जोगीको भेषमा कुमाउतिरबाट भोट पसेको थियो। उनीहरू जाँदा नेपालले घुमन्ते जोगी भनेर वास्ता गरेन। फर्केर आउँदा भने पक्राउ परेछन्। नेल हालेर राखिएका उनीहरू बल्लबल्ल छुटेर गए।

यसरी नेपालबाट भोटको बेपार गर्न नपाएर छटपटिरहेका अंग्रेजहरूले वीरशमशेरलाई काठमाडौंको सत्तामा स्थानापन्न गराएपछि गोर्खा रेजिमेन्टमा रिक्रुट भर्ना सम्झौता गराए। पछि चन्द्रशमशेरको सहमतिमा अंग्रेजले चीनसँग भोट बेपार सम्झौता गरे, तर भोटले मान्दै मानेन। वायसराय कर्जनले सुखीमको नाथुलाबाट पठाएको यङ्गहज वेन्डको दललाई पनि भोटले खामाजोगमै रोक्यो। त्यसपछि सैनिक अभियान नै चलाउने स्थितिमा पुगेका कर्जनले नेपालसँग सहयोग मागे। तर, भोटसँग अघि भएको सन्धि अनुसार नेपालले अंग्रेजलाई सहयोग गर्न सक्दैनथ्यो। त्यो अवस्थामा नेपालको बेपार चौपट हुन्थ्यो। तर, अंग्रेजको वचन हार्ने अवस्थामा नरहेका चन्द्रशमशेरले केही नगद र भारी बोक्ने भरिया, चौंरी पठाइदिने वचन दिए।

भोटको गतिविधि बुझन नेपालस्थित अंग्रेज रेजिडेन्टलाई अह्राइयो। रेजिडेन्टलाई कहिले स्वयं चन्द्रशमशेर उपस्थित भएर त कहिले कर्णेल कप्तान रेजिडेन्सी गएर भोटको दैनिकी खबर सुनाउँथे। भोट अभियानमा जान कताबाट सहज हुन्छ, कति माइल, कति बास पर्छ, भोटेहरू के कसो गरिरहेछन् आदि विवरण दिइएको रोजनाम्चा (दैनिकी–डायरी) बाट त्यो वेलाको धेरै कुरा थाहा हुन्छ।


अंग्रेज रेजिडेन्ट र कप्तानसँग भोट अभियानका र अरू विविध विषयमा भएका वार्तालापको रोजनाम्चा (दैनिकी)

१९०३ ट्वान्टीसेवेन्थ अगस्त, थसर्डे

रेजिडेन्ट– हिजो यहाँ महाराजको सवारी भयेको थियो. महारानीलाई संचो हुँदै आयो भन्ने सुन्दा बहुत खुशी लाग्यो.

कप्तान– थांक.

धनकूटा तातापानी कुटीबाट सुनिएको गल्वा लेखी पठाएका रहेछन्. यस्तो कुरा सुनिएमा रेजिडेन्ट साहेबलाई सुनाउनुपर्छ सुनाइदिनु भनि महाराजबाट हुकुम भयेको हुनाले तपाईलाई सुनाउनु ल्याएको छ. के भने. धनकुटाबाट बुधिमानले १६ वर्षदेखि ६० वर्षभित्रको भोटेहरूको नाउनमेसी लेखी लिई बराबर पनि जमा हुन लागे. ल्हासामा घरका धेरैको चबरी गाई घोडा गधा यत्यादिको गिन्ती लि जम्मा गर्न लागे।

तातापानी हुलाकबाट

अंग्रेजहरूले ग्वामाजुं दखल गरी ली मिच्दै अघाडी बढ्न लागेको हुनाले भोटेहरूसंग बराबर लडायीं पर्न लागेको छ. तेसो हुनाले भोटेहरूले भैरव लंगुरपार्को सबै भोटेहरू जमा गरि उत्तरतिर लैजान लागेका छन्.

कुतिबाट हिम्मत् बहादुरले

अंग्रेज लड्दै नलडी खमाजुं दखलगरि सकि मिच्दै अघाडी बढ्नलागेका हुनाले भोटेहरूले लडायीं गर्न लागिरहेछन् औ भैरवलरगुरपार्को मानिसहरू जम्मा गरी उत्तरतिर लैजान लागेको छन्.

एक जना भोटे सिपाही अघिदेखि काममा आइरहेकालाई पनि डाकी पठाया र गये. भोटेहरू आपसमा गुपचुप गरी अंग्रेजसंग लडायीं भिडेको कुरा गर्छन. प्राइभेट तवरसंग ढेवासंग बुझ्न पठाउंदा तेस्तै सुनिन्छ भन्ने कुरा गरी पठाये.

रे– माहाराजलाई मेरा बहुतबहुत सुकुर गुजार दिनुहोला यो लडायीं भिडियो भन्ने खवर गलुवामात्र हो तापनि अैले येस विषयेको खवर सुन्नु वेस हो.

क– आजका पायेवनियर्मा अघि भयेको घा समेत मान्दिन भनि भोटेंले भन्यो भछि लेखेको छ. त्यो घा मंजुर गरेनन् भने के गर्नुहुन्छ बन्दुकको नाल देखें पनि मान्ला.

ट्वान्टीनाइन्थ अग. सटर्डे (महाराजस् पी. भिजिट टु रेजिडेन्ट)

क– आज तपाईलाई फुर्सद छ भने महाराज ५ बजे मुलाकात गर्न सवारी हुन्छ सो कुरा तपाईसंग सोध्नु भनि हुकुम भयेको छ.

रे– तेसवेला बहुत खुशीसाथ महाराजसंग मुलाकात गर्नेछु.

३० अगस्त, सन्डे

क– हिजो महाराजबाट तपायींसंग १० नाल २० राइफललाई लाइसेन्स वावमा कुरा गरि बक्सेको रहेछ कर्णेल हर्षजंग थापाको नाउंमा १० थान राइफल ४ तरबार १६ खुकुरीलाई लाइसेन्स चाहिन्छ. लेखापढी गर्नुपर्‍यो भने निजको एड्रेस–. कल हर्जजङ्ग थपा. इलाम

के. बाबा हरिदास प्रधानस् कटेज्, दार्जिलिङ

रे– कैले जान्छ

क– एक हप्ताभित्र जान्छन् लाइसेन्स कैले तयार होला

रे– भोली तयार हुन्छ. हिजो महाराज यहाँ सवारी हुँदाखेरी पूर्वतिर हाम्रो ५०० नाल पुरानु जस्तो काम नलाग्ने राइफल छ. ५०० हेनिरि मार्टिन त्यहाँबाट रेलको बाटो गरि पठाउनालाई लाइसेन्सको कुरा गरि बक्सिएको थियो. तारको खवर गभरमेन्टलाई पठाउनुछ. यहाँदेखि तार लागेको भए कति चांडो जवाफ आउने थियो रक्सौलबाट जाला भरे पठाइ दिनेछु

क– २।३ दिन्को फरक हुन्छ धेरै फरक हुदैन.

रे– हाल महाराजाधिराजको नाउं क्या हो. कैले गद्दीमा बसे इनि अघिको धिराज् भयेकैले मरे माहिला साहेबज्युको नातापर्छ. तीनका कति छोरा छन्.

क– मलाई ठीक तारीख थाहा छैन. मेरो जवाव १।२ वर्ष यता उता हुन्छ ठीक इन्फर्मेशन चाहिन्छ भने म भोली लिआउला.

रे– येतिले पुग्छ. डाक्टर राइटको हिष्ट्री आज हेर्न लागेको इतिहासको तेसबाट छुट्याउने सकिन र सोधेको हुं.

मुलुकको राजकाज प्राइमिनिष्टरले चलाउने गरेको अैलेमात्र हो कि पहिलेदेखि हो. क– पहिलेदेखि यस्तै चलिआएको छ.

१२ सेप्टेम्बर, सटर्डे

रे– कर्णेल हर्षजिङ्ग इलाम पुगे कि.

क– पुगेका छैनन्. २।३ दिनमा पुग्छन्.

रे– यहाबाट पाहाडको बाटो इलाम कति टाढा छ. असल सडक छ कि.

क– यहांबाट अन्दाजी २० दिनको बाटो छ. असल सडक छैन. सानो बाटो मानिसले हिडी बनेको मात्र हो.

रे– उसो भने पाहाडबाट भन्दा रेलबाट चांडो पुगिन्छ होइन.

क– रेलबाट धेरै चाडो पुगिन्छ. पहाडबाट वर्षामा खोलानाला बढ्ने प्रचलनभएको हुनाले धेरै दिन लाग्छ. यो इन्फर्मेशन ठीक छ कि छैन. म उता गएको छैन. सोधेरै तपाईलाई भनुंला.

रे– इष्टसनबाट इलाम कति टाढा पर्छ.

क– अन्दाजी २५ माइल पर्छ.

(रेजीडेन्टले इलाम गयेका छौ कि भनि सुमाश्वरसंग पनि सोधे गयेको छैन भनि जवाव दियो.)

१३ सेप्टेम्बर, १९०३

दि डिष्टेन्स फ्रम काठमाण्डु टु इलाम इज् २०४ माइल्स. २६ डे जर्नी फर ए मेन् विथ ए स्मल वर्डन् इन् दि विन्टर सेजन एवाउट् ४५ डे जर्नी इन् दि ऐन सेजन् मनि रिवर्स एण्ड टेबुटेल ट पास एण्ड नो ब्रिज् एक्रस् दियर इज् नो रोड टु इलाम वन्ली फुट पाथ ओवर हिल एण्ड् ... दि डिस्नेन्स फ्रम् रे. स्टेसन् टु इलाम इज् २५ माइलस्

कल। हर्खजङ्ग लेफ्ट सुगौली अन् दि ११ थ सेप्ट्. विल रिच इलाम अन् दि १६ थ.

रे– ग्वाभाजुं जानलाई बाटो इलामबाट छ कि. धनकुटाबाट जानुपर्छ. कताबाट नजीक पर्छ.

क– असल बाटो कतैबाट छैन. सानो गौडेटो जहातैबाट हुनुपर्छ. म तेसतरफ नगएको हुनाले यस्तै भन्न सक्तिन कर्णेल महावीरलाई थाहा होला कि टिबेटको नक्सा तयार भयो भोली ११ बजे कर्णेल महावीरलाई ल्याउ कि.

रे– हुन्छ उनीलाई थाहा हुनुपर्छ.

१४ सेप्टे. मण्डे

रे– काठमाडौंबाट खामाजुं कुन बाटो जानुपर्छ.

क– धनकुटाबाट इलाम बाहाबाट उत्तरपूर्व भै जानुपर्छ बाटो असल छैन धेरै दिन लाग्छ. फुटपाथ बाटो छ. इलामबाट दार्जिलिङ्ग भै गएमा असल बाटो छ. भन्छन्.

रे– धनकुटाबाट उत्तरपूर्व गए हुन्छ कि.

क– बाटो गतिलो छैन. घुमाउरो कता पर्छ.

रे– उसो भए रेल रक्सोलबाट दार्जलिङ्ग भै गए चाडो पुगिन्छ. होइन

क– रेलबाट सुविस्तासाथ चाडो पुगिन्छ.

रे– काठमाडौंबाट ल्हासा कुन बाटो जानुपर्छ.

क– उत्तर इभरेष्टका पहाडको नजिक भै डिगर्ची पुगि तहांबाट गै ब्रम्हापुत्र पार गर्नुपर्छ. वार पार तर्नालाई एक जना मनिसको बोक्ने छालाको डुंगा हुन्छ. ८।९ जना बसि तर्नु हुन्छ. वाहाबाट ल्हासा पुगिन्छ.

रे– बाटो कति दिनको छ. रसद जर्ना पाइन्छ पाइन्न गाढाचल्छ कि चल्दैन.

क– पुग्नालाई अन्दाजी २५ दिन लाग्छ अघि पछिलाई रसद पाइन्छ पाइन्न म भन्न सक्दीन. हामीहरू जांदा सरकारबाट लेखापढी भै जाने हुनाले गाउंगाउंमा अफिसरहरूले रसद जम्मा गरि दियेको हुन्छ. जर्नालाई रुख नहुने सानु बुटा बुटीमात्र कहि हुने हुनाले जर्ना पाइन्न गुइठा बाल्नुपर्छ. १२। १५ माइलको बास पर्छ कहि कहि गाउंछ.

रे– खामाजुबाट ल्हासा जाने बाटो छ छैन कति वास पर्ला.

क– खामाजुंबाट कैले पनि म गएको छैन. तर कहाँबाट आवतजावत गर्ने मानिसले भनेको सुन्दा बाटो छ. वरपर आवतजावत गर्छन्. डिगर्चा भै जानुपर्छ खामाजुंबाट ल्हासा अन्दाजी १३ वास पर्ला.

comments powered by Disqus

रमझम