३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

आङ खस्ने समस्या

Share:
  
- डा. सुमनराज ताम्राकार
पाठेघर झार्ने समस्याको सही निदान नभए कालान्तरमा यही कारण हड्डी कमजोर भएर भाँचिने, मुटु तथा रक्तनलीमा असर पुग्ने लगायतका जटिलता उत्पन्न हुन सक्छन्।

पाठेघर स्थिर नभई, केही मात्रामा चलायमान अङ्ग हो। यसलाई यथास्थानमा राखिराख्न विभिन्न प्रकारका लिगामेन्ट (बाक्ला तन्तु) हरूले टेवा दिइरहेका हुन्छन्। योनीको माथिल्लो भागका लिगामेन्टहरू कमजोर भएर धेरै महिलाको पाठेघर तल सर्छ, जसलाई 'आङ खसेको' भनिन्छ।

पहिलो प्रकारको आङ खस्ने समस्यामा पाठेघर तल र्झ्दा पाठेघरको बाह्य मुख पुट्ठाको हड्डी (इस्चियम) को भित्री चुच्चो भन्दा तल आइपुग्छ। पाठेघरको बाह्य मुख योनीद्वारसम्म आइपुग्नु यस समस्याको दोस्रो चरण हो। समस्याको तेस्रो चरणमा पाठेघरको बाह्य मुख योनीद्वारभन्दा बाहिर निस्किन्छ। चौथो चरणमा पाठेघर पूरै योनीद्वार बाहिर आइपुग्छ। यो समस्यासँगै अगाडिपट्टिको पिसाब थैली र पछाडिपट्टिको आन्द्रा तथा मलद्वार पनि झोलिन सक्छ।

सुत्केरी व्यथा लागेका महिलालाई पाठेघरको मुख पूरा खुल्नु अगावै कन्न (बल गर्न) लगाए, पेट थिचे, पहिलो प्रसूतिमा योनीद्वार ठूलो पार्ने घाउ (इपीजीओटोमी) नबनाए वा सुत्केरी हुँदाका घाउ राम्ररी नसिलाए पछि लिगामेन्टहरू कमजोर भएर आङ खस्ने समस्या आइलाग्छ। सुत्केरी भएपछि यथेष्ट आराम गर्न नपाएका वा कठोर शारीरिक परिश्रम गरेका, फराकिलो जन्मान्तर नभएका, लामो र कष्टपूर्ण सुत्केरी व्यथा लागेका महिलाहरूलाई यो समस्या बढ्ता हुन्छ।

कतिपय महिलामा भने पाठेघरलाई टेवा दिने तन्तुहरू जन्मजात रूपमै कमजोर हुन्छन्। त्यस्ता महिला बच्चा नपाएको वा सहजै सुत्केरी भएका रहेछन् भने पनि आङ खस्ने समस्या हुन सक्छ। यसको अलावा महीनावारी सुकिसकेपछि इस्ट्रोजेन नामक हर्मोनको अभावमा पाठेघर वरिपरिका तन्तु कमजोर भएमा, पाठेघरमा मासु पलाएमा, लामो समयदेखिको धुम्रपानबाट दम वा खोकी लागेमा र कब्जियतका कारण बढ्ता बल पर्नाले पनि यो समस्या हुन सक्छ।

नेपालका ग्रामीण महिलाहरू घाँस–दाउरा, पानी–पँधेरामा धेरै उकालीओराली गर्नुपर्ने बाध्यतामा छन्। गाउँघरमा धेरैजसो महिला धुम्रपान गर्छन्। उनीहरूलाई धुवाँरहित चुल्हो उपलब्ध छैन। उनीहरूको पोषणस्थिति उस्तै दयनीय छ। सुत्केरी अवस्थामा पनि कामकाजमा मनग्य खट्नुपर्ने तिनै महिला छोटो–छोटो अन्तरालमै बच्चा पाउन बाध्य हुन्छन्। यीमध्ये अधिकांश महिला आङ खस्ने समस्याको शिकार हुन्छन्।

लक्षण र उपचार

ढाड दुख्नु, हल्का रगत मिसिएको सेतो योनीस्राव बग्नु, पिसाब फेर्न गाह्रो हुनु, छिटो–छिटो पिसाब लाग्नु तर पूरै ननिख्रनु पाठेघर खस्ने समस्याका लक्षण हुन् भने गर्भावस्थामा पोषण, सरसफाइ, व्यायाम, सुत्केरी व्यथा लाग्दा समय नभइकन (पाठेघरको मुख पूरै नखुलेसम्म) नकन्ने, व्यथालाई लामो हुन नदिने, आवश्यकता अनुसार इपीजीयोटोमी वा सिजेरियन शल्यक्रिया र प्रसूतिपछि पाठेघर वरिपरिको लिगामेन्ट तथा पेट एवं जननेन्द्रिय वरिपरिको मांसपेशी कसिलो बनाउने अभ्यासले आङ खस्ने समस्या रोक्छ।

दोस्रो चरणको आङ खस्ने समस्यासम्म अवस्था हेरी चुरा (रिङ्ग पेसरी) लगाउन पनि सकिन्छ। तेस्रो चरणदेखिको समस्यालाई शल्यक्रियाको जरुरत पर्दछ। यसका अलावा यस्तो समस्या भएका तर बच्चा पुगिसकेका वा महीनावारी सुकिसकेका महिलामा पनि पाठेघर निकाल्ने शल्यक्रिया गर्न सकिन्छ। जन्मजात मांसपेशी कमजोर भएका, बच्चा नपाएका वा अविवाहित महिलाहरूमा आङ खस्ने समस्या रहेछ भने पाठेघर वा योनीको माथिल्लो भाग माथि सार्ने फित्तासहितको शल्यक्रिया गरिन्छ। यस्तो शल्यक्रियाले बिरामी उभिने/उठ्ने क्रममा पेटको मासुमा बल पर्न गई पाठेघर माथितिर तानिन्छ। यो तरीकाले उमेर नपुगेका महिलाहरूलाई पाठेघर ननिकाली नै समस्याबाट छुट्कारा दिन्छ।

पाठेघर निकाल्ने शल्यक्रिया गर्दा लापरबाही भयो भने रक्तस्राव भइरहने, मूत्रनलीमा चोट पुग्ने र पिसाब रोकिने, संक्रमण हुने, यौन सम्पर्क गर्दा पीडा हुने वा फेरि आङ खस्ने जस्ता जटिलता उत्पन्न हुन सक्छ। त्यसैले घुम्ती शिविरमा भन्दा सुविधासम्पन्न अस्पतालमा दक्ष एवं तालीमप्राप्त स्त्री रोग विशेषज्ञबाट शल्यक्रिया गराउनु बुद्धिमानी हुन्छ। शल्यक्रियाका दौरान पाठेघरको दुवैपट्टिको डिम्बाशय ननिकाले पनि केही वर्षमा डिम्बाशयहरूले सार्थक तवरले काम गर्न सक्दैनन्। डिम्बाशयले काम नगर्दा हातगोडा पोल्ने, गर्मी महसूस हुने, पसिना आउने, मुटु हल्लने, पिसाब पोल्ने, छिटोछिटो पिसाब लाग्ने, निद्रा नलाग्ने, पिसाब चुहुने, मूत्रनलीमा संक्रमण भइरहने, यौन सम्पर्कमा बढ्ता दुख्ने, मन उदास हुने, झिंजो लाग्ने समस्या हुन सक्छ।

comments powered by Disqus

रमझम