३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

मन्त्री बस्नेतको आत्मप्रकाशन

Share:
  

पुस्तक म महेश

लेखक महेश बस्नेत

प्रकाशक गौंथली

पृष्ठ ३०८+२०,

मूल्य रु.६५०

१२ वैशाखमा महाभूकम्पको पहिलो झट्का आउँदा महेश बस्नेत उनकै शब्दमा– 'नेपाल सरकारका उद्योगमन्त्रीको हैसियतले' काठमाडौंको नक्सालमा आयोजित धार्मिक कार्यक्रममा सहभागी भएर बाहिरिंदै थिए। साथमा थिए, पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवाल। त्यसपछिका कम्पनहरू झेल्दै बस्नेत पुल्चोकस्थित मन्त्री निवास र त्यसपछि आपत्कालीन बैठक बस्न सिंहदरबारस्थित राष्ट्रिय सूचना केन्द्र पुगे। भोलिपल्ट गृह जिल्ला भक्तपुर पुगेर मन्त्रीको दायित्व सँगसँगै स्थानीय युवा परिचालन गरेका बस्नेत हनुमानघाटको एउटै चितामा ६ वटा लाश जलिरहेको देख्दा मन थाम्न सक्दैनन् र महाभूकम्पपछिको संकल्प लिन्छन्– प्रत्येक नेपालीको मुहारमा खुशी पोत्न समयले मलाई जे–जे गर्न लगाउँछ, ती सब पूरा गर्न सधैं तत्पर रहनेछु।

यति कुरा मन्त्री बस्नेतको ताजा संस्मरण म महेश को भूमिकाबाट आएको हो।
बस्नेत एकाएक फुलमन्त्री भए जस्तै उनको संस्मरण पनि अनपेक्षित रुपमा आएको छ। अनपेक्षित यसकारण कि, नेकपा एमालेका मन्त्रीका आकांक्षी वरिष्ठ नेताहरूलाई उनले उछिने। 'समयले जेजे गर्न लगाउँछ, ती सब पूरा गर्न तत्पर रहने' उनले युथफोर्सको नेतृत्वबाट पार्टीभित्र प्रगतिको फड्को मारे। आम नेपालीमाझ्ा भने उनको अर्कै छवि बनेको थियो। सामान्यतः समाजले त्यस्ता पात्रको संस्मरण या जीवनीको आशा राख्छ, जो राष्ट्रिय जीवनको कुनै क्षेत्रमा खास योगदानका कारण सुपरिचित होस्। वा, आफ्नो कृत्यमा अत्यधिक कुख्यात होस्। भक्तपुर गुण्डुका महेश बस्नेत भने यी दुवै कित्तामा पर्दैनन्।

चर्चाको हिसाबले अहिले बस्नेत एक जना औसत संक्रमणकालीन मन्त्री हुन्। एमाओवादीको वाईसीएलको वितण्डा विरुद्ध उभिएको युथफोर्स अध्यक्षको रुपमा भने उनी राष्ट्रिय रुपमा चर्चित रहे। त्यो वेला 'फलाम काट्ने फलाम' बनेका बस्नेतको युथफोर्स अदालत ल्याएको अभियुक्तमाथि हमला गर्ने, प्रशासनलाई बाध्य पार्न सडक–बजार बन्द गर्ने, पत्रकार कुट्ने लगायतका काण्डबाट बहुचर्चित बन्यो। एक जना प्रतिबद्ध एमाले कार्यकर्ताको रुपमा बस्नेतको त्यो जुझारुपनले पार्टीको अहम् रक्षा र विपक्षीको फुर्ती न्यून गर्‍यो।

महेश बस्नेत भन्ने बित्तिकै धेरैलाई एमाओवादीको पाँचदिने बन्द र परशुराम बस्नेत जोडिएको विराटनगर घटना याद आउँछ। एमाओवादीको बन्द कुनै दलले जनतामाथि कतिसम्म अत्याचार थोपर्न सक्छ भन्ने निकृष्ट उदाहरण थियो भने विराटनगर काण्ड दलको भ्रातृ संगठनले कानूनलाई कतिसम्म अवरुद्ध पार्न सक्छ भन्ने नमूना। एमाओवादीको बन्दमा बस्नेतले प्रतिकारतर्फको नेतृत्व गरेका थिए भने विराटनगर घटनामा अराजकताको। आत्मप्रशंसाबाट शुरु हुने संस्मरणमा उनले यी दुवै घटनालाई विस्तृत रुपमा सम्झेका छन्। 'पुलिस इन्काउन्टर' मा मारिएका दिनेश अधिकारी 'चरी' सँगको सहकार्यलाई पनि बिर्सेका छैनन्। ११ खण्डको किताबमा बस्नेतले युथफोर्सको प्रतिरक्षा र झिनामसिना आत्मस्वीकृति गरेका छन्। सामान्य भाषिक तथा प्रस्तुतिगत त्रुटि रहे पनि सलल बगेको संस्मरणमा उनको साहस, संघर्ष, हठ र सकसको चित्रमय वर्णन छन्।

संस्मरण लेखनको लहर चलेको वेला म महेश हातमा पर्दा पाठकलाई अब परशुराम बस्नेत लगायत समाजका अरु 'चर्चित' पात्रहरुका पनि आत्मकथा पढ्नुपर्ने समय आउन लागेको हो कि भने जस्तो लाग्न सक्छ। त्यस्ता दिन आए रमाइलै होला!

आनन्द पी. राई

comments powered by Disqus

रमझम