३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

स्वर्ण सपना

Share:
  
पदक जित्ने रिना धिमाल (१८) को लक्ष्यले बुबा विनोदको वर्षौंको सपना पनि पूरा गर्नेछ।

गोपाल गडतौला
डाँगीहाट–१, मोरङका विनोद धिमाल (४२) मार्शल आर्टस् खेलाडी बन्न चाहन्थे। किशोरवयमा गाउँका केही दाइहरूसँग खेलका सामान्य नियम सिके पनि। तर, भोको पेटले उनलाई खेलाडी बन्न दिएन। मजदूर बन्न बाध्य पार्‍यो।

त्यसो त विनोदलाई गरीबीले अहिले पनि छाडेको छैन। उनी ट्याक्टर चलाएर पाँच जनाको परिवार पाल्छन्। तर, मनमा एउटा सन्तोष भने छ। छोरी रिना (ह.े. तस्वीर) कराँते खेलाडी बनेकी छन्।

छोरीले सानैमा खेलप्रति रुचि देखाएपछि विनोदमा खेलाडी जिजीविषा जाग्यो। र, उनले कराँते सिक्न प्रोत्साहन गरे। नभन्दै रिनामा कुशल खेलाडी बन्ने गुण देखियो। सन् २०१२ मा मोरङमा भएको राष्ट्रिय कराँते प्रतियोगितामा रिनाले ५० केजी समूहमा स्वर्णपदक नै प्राप्त गरिन्।

सन् २०१४ मा काठमाडौंमा भएको एशियाली खेलकुदले रिनाको विशिष्ट प्रतिभा प्रमाणित गर्‍यो। ५५ केजी तौल समूहकी रिनाले प्रतियोगिताको छनोट खेलमै सेना र सशस्त्रका खेलाडीलाई हराउँदै सनसनी मच्चाइन्। प्रतियोगितामा भारतीय र चिनियाँलाई पराजित गर्दै नेपाललाई रजत पदक नै दिलाइन्।

अहिले रिना आउँदो मंसीरमा पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुदको तयारीमा छिन्। त्यसका लागि दमक, झापास्थित सगरमाथा मल्टी मार्शल आर्टस् एकेडेमीमा प्रशिक्षण लिइरहेकी छन्। उनका प्रशिक्षकद्वय दीपक धिमाल र मानबहादुर कटुवाल रिनामा क्षमतासँगै जित्ने आत्मविश्वास रहेको बताउँछन्। प्रशिक्षक धिमाल भन्छन्, “खेलस्तर पनि उक्लिएको छ, उनीबाट धेरै आशा छ।” रिनालाई भने एशियाली प्रतियोगितामा आफूले स्वर्ण जित्न नसकेकोमा गुनासो छ। फाइनलमा ताजकिस्तानकी अग्ली खेलाडीसँग भिडेकी उनी भन्छिन्, “खेल्दाखेल्दै थाकेको महसूस भयो, बल पुगेनछ।” त्यसैले उनी बल बढाउन कडा शारीरिक र मानसिक अभ्यास गरिरहेकी छन्।

गोपाल गडतौला, झापा

comments powered by Disqus

रमझम