३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

एकान्त संवाद

Share:
  

२२ साउनदेखि राजधानीको लाजिम्पाटस्थित थिएटर भिलेजमा शुरु भएको नाटक तीन एकान्त फरक अवस्थाका तीन व्यक्तिको कथा हो। पछिल्लो समय कोर्ट मार्शल, थर्टी डेज इन सेप्टेम्बर जस्ता चर्चित नाटक निर्देशन गरेका अनुप बराल निर्देशित यो नाटक निर्मल बर्माको तीन अलग अलग कथामा आधारित छ।

नाटकका एक्ला पात्रहरू आफन्त अभावमा अपरिचितसँग खुल्छन्। असफल वैवाहिक सम्बन्धका कारण निराश महिला, श्रीमतीले विश्वास नगरेकोमा दुःखी पुरुष र आफूले मन पराएको व्यक्ति छोरीको बाबु भएकाले प्रेमीसँग टाढिएकी युवतीको कथा छ। पात्रहरू निराश भए पनि उनीहरूको तार्किक संवादले दर्शकलाई एकाग्र तुल्याउँछ। “नाटकमा सम्बन्धमा आउने उतार–चढावका कारण जीवनमा आइपर्ने समस्या देखाइएको छ”, निर्देशक बराल भन्छन्, “वयस्कका लागि यो नाटक रुचिकर लाग्न सक्छ।”

कथालाई नाट्यरुपान्तर भने आशान्त शर्माले गरेका हुन्। नाटकमा शर्मासँगै दिया मास्के, मेनुका प्रधान र सुरज मल्लको अभिनय छ।

८ भदौसम्म चल्ने यो नाटकमा सेट व्यवस्थापनमा विभिन्न प्रयोग पनि गरिएको छ।


**करेन्ट लाग्ला? **

गायिका प्रशंसा श्रेष्ठको 'सातो जान्छ', 'यो बन्द आँखामा', 'तिमी–तिमी छौ' जस्ता गीत राम्रै चलेका थिए। हालै उनले बेलायती गायिका एली गोल्डिङको 'लभ मी लाइक यु डु' गीतलाई शीर्ष गीतका रूपमा गाएर त्यसको म्युजिक भिडियो समेत बनाएकी छिन्। तर, यतिवेला प्रशंसाको 'करेन्ट लाग्ला' गीत रुचाइएको छ। जुन उनको दोस्रो अल्बम 'भ्याम्पायर' सँगै सार्वजनिक हुनेछ।

अडियो मात्रै सार्वजनिक गरिएको उक्त गीतको भिडियो पनि चाँडै आउँदैछ। “सुटिङ सकिइसक्यो, अब चाँडै अल्बमसहित म्युजिक भिडियो सार्वजनिक गर्नेछु”, उनी भन्छिन्। सामाजिक सञ्जालमा पोस्ट गरिएका सुटिङका तस्वीरमा प्रशंसालाई 'बोल्ड' देखिएको छ। भिडियोमा गीत अनुसारकै हाउभाउ र नृत्य कला देखाउन खोजेको बताउने उनले गीतमा भनिए झै के साँच्चीकै करेन्ट लगाउन सक्लिन् त?


भिजिबल रोहन

फोटोग्राफर रोहन थापाले २७ साउनबाट बबरमहलस्थित आर्ट काउन्सिलमा आफ्ना ७२ वटा तस्वीर प्रदर्शनीमा राखेका छन्। 'इन भिजिबल' नाम दिइएको प्रदर्शनीमा दृष्टिविहीनले समेत महसूस गर्न सक्ने गरिका तस्वीर छन् जसमाथि ब्रेललिपि छापिएको छ। “दृष्टिविहीन र दृष्टि भएका बीच समानता ल्याउन यस्तो प्रयोग गरेको हुँ”, राजनीतिशास्त्रमा स्नातक रोहन भन्छन्, “दुवैले तस्वीरहरू हेर्न वा महसूस गर्न सक्छन्।”

परैबाट कला–कृति हेर्नुपर्ने नियम आफूले तोड्न खोजेको दाबी गर्ने उनले सम्पूर्ण तस्वीरलाई टेबुलमै राखेका छन्। तीन वर्ष लगाएर जम्मा पारेका तस्वीरका अधिकांश पात्रलाई रोहनले तिलगंगा आँखा अस्पतालमा भेटेका थिए। “तस्वीरमा भएका दृष्टिविहीन कार्यक्रममा ल्याउन सकिएन”, उनी भन्छन्, “तर, अन्य दृष्टिविहीनहरू आउनुभयो। राम्रो प्रयास गरेछौ भन्नुभयो।”

comments powered by Disqus

रमझम