३१ साउन - ५ भदौ २०७२ | 16-22 August 2015

२५ लाखको कला

Share:
  
सिरहाका प्रतीक रायमाझी (४०) नेपाली मिथिला कलालाई विश्व कला बजारमा चिनाउन चाहन्छन्।

फूलैफूलको हरियाली बाटोहुँदै प्रफुल्लित मुद्रामा एउटी महिला गीत गुन्गुनाउँदै गोदना गोदाउन (टाटु खोपाउन) गइरहेकी छिन्। पक्कै पनि उनको घरमा कुनै शुभकार्य भइरहेको हुनुपर्छ।

भुल्के–५, सिरहावासी प्रतीक रायमाझीले बनाएको यो चित्रकला हालै अमेरिकामा २५ हजार डलर (करीब रु.२५ लाख) मा बिक्यो। तराईका हिन्दू महिलामा गोदना परापूर्वकालदेखि चलिआएको संस्कार हो। “मेरा सिर्जना पौराणिक कथा, लोककथा र दिनचर्यामा आधारित हुन्छन्”, प्रतीक भन्छन्, “यो चित्रमा महिलाको दिनचर्या उतारेको हुँ।”

चित्रका क्रेतासँग कलाकार रायमाझी।

मिथिला कलाको कौशिकी शैलीमा नेपाली हातेकागज 'लोक्ता' मा सिर्जित यो चित्रलाई प्रतीकले डिसेम्बरमा एटलान्टामा हुने एकल प्रदर्शनीका लागि तयार पारेका थिए। तर, हालैको सन्फ्रान्सिस्को बसाइकै क्रममा स्थानीय कला पारखीले यो चित्र औधी मनपराए र किनिछाडे।

“मूल्य नतोकिंदै क्रेतालाई मन परेपछि उसैले दिएको रकम लिएको हुँ”, चार वर्षदेखि अमेरिकाको नेब्रास्का राज्यको ओमाहामा बस्दै आएका रायमाझी भन्छन्। १७–१८ वटा चित्रकला अमेरिकामा बेचिसकेका उनले एउटै चित्रकलाबाट पाएको यो सबैभन्दा ठूलो रकम हो।

नेपाली कला बजारका लागि यो मूल्य नौलो भए पनि मिथिला चित्रकलामा रायमाझ्ाी खारिएका चित्रकार हुन्। भारतको मुम्बईस्थित सर जेजे आर्ट कलेजबाट कलामा स्नातक उनले २०६२ सालमा नेपाल ललितकला प्रतिष्ठानको सहयोगमा राजधानीमा पहिलोपटक मिथिला कला प्रतियोगिता आयोजना गरे। राजधानी र तराईमा मिथिला कला प्रशिक्षण दिनुका साथै एशिया, अमेरिका र यूरोपका आधादर्जनभन्दा बढी देशमा कला प्रदर्शनी समेत गरे।

चित्रकलाबारे प्रतीकको पहिलो विद्यालय भने घर नै थियो। मुलुकमै पहिलोपटक ललितकलामा स्नातकोत्तर चित्रकार जीतबहादुर रायमाझीले नै छोरालाई क्यानभास र ब्रससँग रम्न सिकाए। तर, समय यस्तो पनि आयो, जब स्वयं जीतबहादुर नै छोरो चित्रकार नबनोस् भन्ने चाहन्थे। तर, त्यतिवेलासम्म प्रतीकमा चित्रकलाको रंग चढिसकेको थियो।

अमेरिका पुगेपछि प्रतीकले वेस्टभर्जिनिया र फ्लोरिडाका दुई सामूहिक कला प्रदर्शनीमा भाग लिए। “अमेरिका जस्तो ठाउँमा आफूलाई चिनाउनै कठिन छ तर कामको सम्मान छ”, प्रतीक भन्छन्, “बजार पनि सोचेभन्दा ठूलो छ।” एटलान्टामा हुने प्रदर्शनीका लागि १० लाख र २४ लाख अमेरिकी डलर मूल्यका बुद्धसँग सम्बन्धित चित्र बनाइरहेको उनी बताउँछन्।

comments powered by Disqus

रमझम