युगयुगमा चीरहरण

Share:
  
- केदार शर्मा
p11
 
तस्वीरः बिलाश राई

जब दुःशासनले उनको कपडा तान्न थाल्यो, द्रौपदीले आँखा चिम्लिइन् र श्रीकृष्णलाई सम्झिइन्। उनलाई आफ्नो वरिपरि एउटा आवरण तयार भएको अनुभूति भयो। त्यो भारतीय कलाकारहरूले बनाउने चित्रपट वा चलचित्रमा जस्तो माथिबाट सररर सारी झ्रेको दृश्य थिएन। कृष्णको त्यहाँ दैहिक उपस्थिति थिएन; तर हस्तिनापुरको सत्ता राजनीतिका खेलाडीहरू मन पराएर होस् वा घृणा गरेर, कृष्णलाई नसम्झी बस्न सक्दैनथे, सबैले आ–आफ्नै किसिमले कृष्णलाई सम्झिए। 

पाण्डवहरूले जुवामा सर्वस्व हारेपछि द्रौपदीलाई सभास्थलमा ल्याएर दुःशासनले उनको लुगामा हात हालेको थियो। त्यो देख्दा पनि सभामा कोही बोलेन, सम्भवतः त्यसै कारण दुःशासन अलि हौसियो पनि, एकवस्त्रा द्रौपदी निर्वस्त्र भइन्।

कोही लजाए, कोही घिनाए, कसैले मुन्टो घोप्टो पार्दै बसे। पाण्डवहरूले चरम अपमान अनुभव गरे। द्रौपदीलाई लोग्नेहरूसित उठेको रीस अझ् बढ्यो। तर उनले नाङ्गिएको अनुभव भने गरिनन्, आफ्ना अङ्गहरूलाई हातले छोप्ने कोशिश पनि गरिनन्। पछि कथाकारहरूलाई नै लाज लाग्यो र कृष्णका हातमा डीसीएमको कपडा मिल नै जोडिदिए। 

फुपूकी बुहारी द्रौपदीसित कृष्णको नाताभन्दा पनि उपल्लो श्रेणीको प्रेम र आदर थियो। द्रौपदीमा रहेको महानायिकाको सम्भावना बुझेका कृष्ण मौका पर्नासाथ त्यसमा मलजल गरिरहन्थे। द्रौपदीसितै ती भविष्यद्रष्टाले एकदिन भनेका थिए, “द्रौपदी, तिमी अत्यन्त अप्ठ्यारो परिस्थितिमा छ्यौ। पाण्डवहरूलाई हराउन नसकेपछि उनीहरूको अहंलाई धूलो चटाउन मात्र भए पनि शत्रुहरू तिमीतिर खनिनेछन्। तिमी पटक–पटक अपमानित हुनेछ्यौ। तिम्रो बलात्कार समेत हुनसक्छ।”  
द्रौपदीले सोधेकी थिइन्, “म के गरौं त योगेश्वर?”

कृष्णले भने, “केही नगर, वा जे गर्नु छ त्यही गर। एउटा कुरा मात्र विचार गर, तिमी आफ्ना कर्मका लागि मात्र जिम्मेवार छ्यौ। अरू त के, पाण्डवहरूको सौर्य वा पराजय समेत तिम्रो होइन। अत्यन्त अप्रिय परिस्थितिमा परुर्‍यौ भने यत्ति सोच, त्यसमा तिम्रो गल्ती कति छ। यदि आफ्नो गल्ती छैन भने लाज, डर, अपमान सबै कुराबाट तिमी मुक्त हुन्छ्यौ।” कृष्णले दिएको वस्त्र यही थियो। जब दुःशासनले उनको कपडा तान्न थाल्यो, द्रौपदीले यही कुरा सम्झिइन्। त्यो प्रकरण समाप्त हुँदासम्ममा इतिहासका छातीमा परिवर्तनको वटवृक्ष टुसाइसकेको थियो। 

चीरहरण युगयुगमा भइरहेको छ। चिन्तकहरूले चीरहरणका घाउमा मल्हम लगाएका छन्। कसैलाई पनि अन्याय हुनु दुर्भाग्यको कुरा हो, तर विगतका पाठबाट जीवनमा परिवर्तन ल्याउन नसक्नु अझ् ठूलो दुर्भाग्य हो। प्रकारान्तरले बहुगामिनी हुन पुगेका अहिल्या, द्रौपदी, तारा, कुन्ती र मन्दोदरीलाई नै पुर्खाले 'पञ्चकन्या' भने। त्यति मात्र होइन, 'पञ्चकन्या स्मरेत् नित्यं महापातक नाशनम्' समेत भने। तर हामी अहिले पनि 'चरित्र', 'चोखोपन', 'अस्मिता' आदि शब्दको साँघुरो व्याख्या गरेर महिलाहरूलाई त्यसैभित्र थुनिरहेका छौं। 

भारतमा जन्मे–हुर्केकी र अमेरिकामा बसोबास गर्ने लेखिका सोहेला अब्दुलअली १७ वर्षको उमेरमा केटा साथीसित घुम्न गएका बेला चारजना हतियारधारी व्यक्तिले आफूलाई गरेको बलात्कार सम्झिंदै लेख्छिन्, “बलात्कारले मलाई आहत तुल्यायो तर मेरो सम्मानलाई होइन।” यो कुरा उनले अहिले, बलात्कारमा परेको ३२ वर्षपछि मात्र लेखेकी होइनन्; तीन वर्षपछि नै आफ्नो फोटोसहितको विचारोत्तेजक लेखमा लेखेकी हुन्। उनले त्यसमा भनेकी थिइन्― 'कानूनी उपचार मात्र पर्याप्त छैन पारिवारिक साथले मात्र महिलालाई बाँच्न सघाउँछ।'

तर हामीकहाँ भने अझै पनि गाउँ–समाज मिलेर बलात्कारीलाई छोरी–चेली जिम्मा लगाउँदैछन्। चीरहरणको श्रृंखलामा आफ्नैहरू थपिएपछि कसको के लाग्छ र?

 

comments powered by Disqus

रमझम