६-१२ भदौ २०७२ | 23-29 August 2015

मजलिसको आँखा– २० असनको इतिवृत्त

Share:
  
- क.दी.
पैलेपैले मोहरको एक पाथी आउने चामल महँगो भएर मोहरको तीन माना मात्र पाउन थलियो भनी सरकार गुहार्न पनि कविले असनलाई साक्षी राखेको देख्दा बुझ्न सकिन्छ त्यस कालमा असन टोलको महत्व!

हिमाल ले यस स्तम्भको नामै 'दृश्य सम्पदा' राखेको छ, प्रत्यक्ष देखिने र देख्न पाइने वस्तुहरू पनि हाम्रा अमूल्य निधि, सम्पदा (हेरिटेज) भएकोले। त्यस हिसाबले हाम्रा मन्दिर र दरबारहरू मात्र होइन हाटबजार, शहर र पुराना बस्तीहरू पनि हाम्रा सम्पदा नै भए। त्यसै हुनाले आज यस स्तम्भमा कुनै भवन नभएर काठमाण्डूको एउटा प्राचीन टोल देखा पर्दैछ।

पुरानो 'असँ' या असन टोल। किंवदन्तीलाई पछ्याए त असनको इतिहास त्यहाँ रहेको माछाको शिलामूर्तिलाई सबभन्दा पहिले अघि सार्नुपर्छ। हुन त असनकै बारेमा लेख्ने विद्वान् एक जना भुवनलाल प्रधान मात्र देखिएका छन्। तर उनले पनि यस टोलको अर्वाचीन राजनीतिक इतिहास मात्र खोतले, पुरानो र सांस्कृतिक या पौराणिक कुरा छुँदै छोइदिएनन्। जस्तो, भनूँ असनको गणेशको थान अगाडि गाडिएको त्यो ढुङ्गे माछो कति ऐतिहासिक र कति आख्यानिक हो त्यो भनिदिन सक्थे उनले। असनटोल कुन राजाको पालामा बन्यो? लिच्छविकालमा असनको अस्तित्व थियो कि थिएन? यी सबै कुरा पनि भनिदिएका भए हुन्थ्यो।

असन र त्यहाँस्थित अन्नपूर्ण मन्दिरः पहिले

बिक्रम राई
अहिले।

असनको इतिहास नबखाने पनि डा. जगमान गुरुङले असनको त्यस माछाको कथा भने हालेका छन् 'रचना' को पूर्णाङ्क १३५ मा। उनैलाई उद्धृत गरौं– 'नेपालका ज्योतिषीहरूले प्रारम्भमा उज्जैन (भारत) को महाकालेश्वरदेखि समय शोधन गरी काठमाडौं टुँडिखेलको महाकाललाई केन्द्रबिन्दु मानेर ज्योतिषीय कालगणना गर्दथे। कालान्तरमा मीनभैरव अर्थात् असनको माछालाई केन्द्रबिन्दु मानेर गणना गर्ने परम्परा स्थापित गरे। प्रचलित कथा अनुसार टुँडिखेलका महाकाल स्थूल गणित र असनको माछा अर्थात् मीन भैरव हुन् भन्ने बुझिन्छ। स्थूल गणितबाट गणना गर्दा आकाशको माछा टुँडिखेलमा खस्दछ भनेर मानिएको थियो तर सूक्ष्म गणितबाट बेलान्तर शोधन गरेर गणना गर्दा माछा टुँडिखेलमा नभएर असनमा खस्यो। माछा खसेको उक्त स्थान ऐले असनको माछा अर्थात् मीन भैरवको नामबाट प्रचलित छ। ज्योतिषीय गणनाको सन्दर्भमा टुँडिखेलका महाकाल मकर राशि, असनका अन्नपूर्ण कुम्भ राशि, असनको माछा अर्थात् मीन भैरव मीन राशि र भेडासिं मेष राशिका प्रतीक हुन्। यी स्थानहरू ज्योतिषीय कालगणनाका लागि स्थापना गरिएका बिन्दु अर्थात् डट् (.) हरू हुन्।'

अब, वंशावली र ज्योतिषका कुरा छाडेर अलिकति इतिहास खोतलौं। ऐलेको भोटाहिटीनिरै मानदेवको नामाङ्कित ढुङ्गेधारो फेला परेकाले त्यो असन इलाका लिच्छविकालमा नै आवाद थियो भन्ने देखिन्छ। असन नामले असनटोल मात्र नजनाई पूर्वमा रानीपोखरी, दक्षिणमा भोटाहिटीदेखि महाबौद्ध, पश्चिममा न्हैकन्तलादेखि बाङ्गेमुडा, उत्तरमा त्यौड र त्यसभन्दा निकै परसम्मलाई जनाउँथ्यो। भुवनलालजीको जिकिर पनि त्यही हो। १९७० को दशकदेखि नै यो क्षेत्र राजनीतिक हिसाबले गोप्य तर प्रखर रूपमा राणाशासनको विरोधमा उत्रेको थियो भन्छन् उनी। त्यस समयका धेरै व्यक्तिका नाम पनि लिएका छन् उनले, हामी तिनको नालीबेली नगरौं। पुरानो काठमाण्डू शहरको पूर्वी सिमाना नै ऐले रानीपोखरी रहेको क्षेत्र रहेछ। विदेशी राजाहरूलाई स्वागत गर्दा मल्ल राजाहरू त्यहींसम्म आएर गर्थे भनेको छ इतिहासले। शहरको सीमानामा रहेकाले असन अवश्य पनि अलि सजग र समृद्ध थियो होला।

राजा महेन्द्रको शासनकालमा उपत्यकाका धार्मिक स्थलहरूको मरम्मत तथा जीर्णोद्धार गर्न भनी 'उपत्यकाञ्चल तात्कालिक सुधार समिति' गठन भई केही काम पनि गरेको थियो। ११२ ओटा सुधार कार्यका संक्षिप्त विवरण दिएर पण्डितराज सोमनाथ सिग्द्यालले एउटा किताबै प्रकाशित गरेका थिए २०१७ सालमा। त्यस पुस्तकमा लेखिएको छ– 'देवी अन्नपूर्णाको यो मन्दिर राजधानीको हृदयस्थल असनटोलको चौबाटोमा पर्दछ।' पण्डितराजले चौबाटो भने पनि असनमा आएर जोडिने बाटा, सडक र गल्ली ७ ओटा पुग्छन्। पण्डितराजले असनलाई 'राजधानीको हृदयस्थल' भन्नु चाहिं उपयुक्त नै थियो।

फोटोमा अंग्रेज फोटोग्राफरले ठम्याएको अन्नपूर्णा मन्दिरको पुरानो रूप देखिन्छ। त्यस वेलाका शहरवासीको भेषभूषा र पहिरनको पनि भेउ पाइन्छ त्यस फोटोबाट। गत वैशाख १२ गतेपछिको असन अर्को फोटोमा देखिन्छ। मन्दिरभित्रका कुराहरू बुझन भने हामीले पण्डितराजको पुस्तक नै पल्टाउनुपर्छ। त्यहाँ अति नै क्लिष्ट संस्कृतनिष्ठ नेपाली भाषाको प्रयोग भएको छ। लेखिएको छ– 'देवी अन्नपूर्णा पश्चिमाभिमुखी भएर रहेकी छन्। देवीको श्रीविग्रह मत्स्य–चिन्ह–चिन्हित रजतकलश रूपमा छ। सुनिन्छ यो कलशभित्र भ्रमरहरू थुनिएका छन्। सुवर्णमय तोरणद्वारले यसलाई परिवेष्टित गरेको छ। देवीलाई भक्तहरू आफ्नो दृष्टि र श्रद्धानुसार योगाम्बरा र यज्ञेश्वरीको रूपमा आराधनादि गर्ने गर्छन्। धेरैजसो सम्प्रदायनुसारी भक्तहरू असन–भलु–अजिमा पनि भन्दछन्।'

असनको धार्मिक महत्व त्यो भयो। तर यस टोलको अस्मिता र गरिमा व्यापार क्षेत्रमा बढी थियो। जे कुरा खोजे पनि पाइन्थ्यो असनको बजारमा। नेपालको मुख्य व्यापारिक केन्द्र नै थियो कुनै जमानामा यो असन क्षेत्र। प्रथम विश्वयुद्धताका बजारमा सबै चीजबस्तुको अभाव भयो, पाइएका कुराको पनि भाउ बढेर किनिनसक्नु भयो, प्रजाले धेरै दुःख पाए भनेर सरकारमा विन्ती बिसाउन कुनै कविले लेखेछः

पाइन्न केहि प्रभु, दुक्ख छ कष्ट नाना,

भाऊ बस्यो असनमा पनि तीन माना ।

comments powered by Disqus

रमझम