६-१२ भदौ २०७२ | 23-29 August 2015

हाफ जुवाडे!

Share:
  
- महेश थापा

भानु भट्टराई
बजार भरेर ल्याएको झोला बिसाउन नपाउँदै मास्टरको घरमा झ्गडा शुरू भयो। यो नियमित उपक्रमै भए पनि आज मास्टर्नीको असन्तुष्टि चर्को सुनियो। त्यही झवाँकमा मास्टरले दोकानेलाई फोन गरे, “तिमी चामलमा ढुङ्गा मिसाउँछौ कि ढुङ्गामा चामल मिसाएर बेच्छौ हँ?”

“हुजुर, गाँसमे दो चार ढुंगा हजम नहुनेले त आफैं मील खोल्नुपर्छ”, उताबाट लालाजी बोले।

सम्बन्धित निकायमा उजुरी गर्न मास्टरले मोबाइल थिचे, तर टावर थिएन। बल्लतल्ल लागेको फोन पनि बीचमै काटियो। मोबाइलको झ्ट्टी हान्न लागेका उनको मगजमा हठात् हेलो सरकारको फेसबूक पेज नाच्यो। झ्टपट कम्प्युटर खोलेर आधा घन्टा इन्तजार गरेपछि राउटरको झिम्के थोप्लाहरूले इन्टरनेट चलेको संकेत गर्‍यो। फेसबूक खोल्दा लग इन–लग आउटको रोटेपीङले खोलामा फँसेको थोत्रो ट्याक्टरको झ्ल्को मात्र दिएपछि रन्फनिएका मास्टर साहेब हान्निएर बजारछेउको अर्धभूमिगत जुवाखानामा पलेंटी कस्न पुगे। त्यतिवेलै प्रहरीले छापा मारेर मर्‍यो।

“रंगेहात पक्राऊ, रंगेहात पक्राऊ!” बीबीसी चोकका खबरीलालहरू बेतोडसँग हिनहिनाए।

नाममा गच्ची खाएर तपाईं लन्डनतिर बरालिनुहोला, खासमा त्यो ठाउँको नाम विवेकशील चोक हो। तर, सडक किनारमा अवस्थित चिया पसलमा दिन कटनीका लागि तास/लुँडो खेल्न चिन्तकहरूले समाचार कारखाना खोलेपछि चल्तीको भाषामा त्यस ठाउँको नाम 'बीबीसी' रहनपुग्यो। चिन्तनरत भद्रहरूले त्यो खबरलाई खासै भाउ दिएनन्। तर, गाउँको सबैभन्दा भद्रमा दरिएका गम्भीरमान मास्टर पक्राउ परेको थाहा पाउँदा समाचार कारखाना हर्कतमा आयो। घुइरे अनुमानहरू प्रक्षेपण गर्दै चौकी प्राङ्गणमा दाखिल भएको भीडलाई हवल्दारसा'बले हवल्दारी देखाउँदै तितरबितर पारे पछि कारबाही प्रक्रिया शुरू भयो।

“जो अगुवा उही...”, केरकार शाखाका हवल्दार साहेब कड्किए।

“मैले के बिराएँ?” मास्टरले गम्भीर मुद्रामा सोधे।

“जुवाडेलाई कारबाहीको व्यवस्था छ भन्ने नजानिकनै मास्टर भयौ?”

“म जुवाडे होइन”, मास्टरले दृढतापूर्वक भने।

“मास्टर हौ कि ढाँटको सरदार?” हवल्दार फतफताए, “तास खेल्दाखेल्दै तिमी रंगेहात पक्राउ परेको हो कि होइन?”

“हो, तर म जुवाडे होइन!”

गुरुजीको एकोहोरो शंखफुकाइ सुनेर तिल्मिलाउँदै कुलेलम् ठोकेका हवल्दारले इन्चार्जलाई जाहेरी गरे, “नसकिने भइयो साहेब, पढेलेखेका मान्छे त झ्न् चाम्रा र ढीठ हुँदा रै'छन्!”

लुच्चो टाइपको अपराधी भए प्रहरीले 'थर्ड डिग्री' लगाएरै समयको सत्यानाश रोक्थ्यो। तर, समाजका लब्धप्रतिष्ठित गुरुवरसँग केरकार गर्न थानाका इन्चार्ज रहेका प्रहरी निरीक्षकले मोर्चा सम्हाले।

“गल्ती स्वीकारे एकपटकलाई माफी पनि पाउन सक्नुहोला, सर”, निरीक्षकले विनम्र हुँदै भने।

“नबिराएको कुरा कसरी स्वीकार्नु?” क्लेशित हुँदै मास्टरले भने।

“प्रहरीसँग रेला गरेको?” निरीक्षकको धैर्यताले जवाफ दियो, “तीन पत्ती खेल्दाखेल्दै पक्राउ परेको त मञ्जुर छ नि?”

“त्यो त मैले सकारेकै छु, तर म जुवाडे होइन!”

धर्फराएका प्रहरी निरीक्षकले थाप्लोमा हात राखे। खुस्केट–खुस्केट पाराको गफ सुन्दा पक्राउ परेको झ्ट्काले मास्टरलाई मानसिक आघात परेको निधोमा उनी पुगे। बित्थाको अवगाल व्यहोर्नुपर्ने हत्तेरो देखेर निरीक्षकले उनलाई जिप्रका चलान गरिदिए।

“कतै हाम्रा केटाहरूले सास्ती त दिएनन्?” वातावरणलाई सौहार्द तुल्याउँदै एसपीले सोधे, “जवानहरूले सरलाई रंगेहातै झयाप पारे?”

“कतिपल्ट स्वीकारौं एउटै कुरा?” मास्टर डगमगाएनन्, “हिजोसम्म म पूर्ण जुवाडे थिएँ, तर आजबाट मैले त्यो दाग पखालें!”

भाउन्न होला जस्तो भएका एसपीले एउटा फाइल उठाएर अनुहारमा हम्किए। “कृपया यो पहेलीको घुम्टी उघारिदिनुस्!”

भेजा फ्राइ भएका एसपीले जम्लाहात जोडे।

“मोबाइल/इन्टरनेटको प्रिपेड सेवा चलायो, फ्रडनेटको फन्दामा फसिन्छ! पैसो बुत्तिन्छ, सेवा पाइन्न। बजारभरि तौलमा घपला, गुणस्तर र मिलावटको लफडाबीच उपभोक्ता नामधारी प्राणी हरपल जुवा खेल्न अभिशप्त रहन्छ। यस्तो जुवा, जहाँ दाउ हान्ने मूर्खमान लुटिने र ठगिने कुराको सुनिश्चितता रहन्छ। गुमाउने निश्चित भएको खेलको सट्टा 'फिफ्टी परसेन्ट' कमाउने चानस भएको खालमा बसेर फुट्या किस्मत अजमाउन खोजें त के बिराएँ?”

एसपी साहेबले खुइया गरे। त्यतिवेलै श्रीमतीको फोन आयो, “हप्ता दिनअघि ल्याएको सिलिन्डरको ग्याँस आजै रित्तियो। यस्तो पाराले यो महँगीबीच सक्दिनँ घरखर्च चलाउन। एसपीकै घरमा अपरेसन गरेको ग्याँस पठाउनेलाई कारबाही गर्न सक्दैनौ भने तिमी घरमा बसेर भान्सा सम्हाल, यो ठगीविरुद्ध म गृहिणी मोर्चा निकाल्छु।”

ओइलाएका एसपी जुरुक्क उठे र मास्टरजीलाई आफ्नो गाडीमा हालेर घरसम्म छाडिदिए। बीबीसी चोकमा धडाधड समाचार जन्मिए– पैसो खाएर प्रहरीले घटना फासफुस पार्‍यो, जुवा अड्डा संचालनमा प्रहरीको मिलेमतो आदि/इत्यादि।
“दसी–प्रमाण पुर्‍याएर पठाएको केस किन उल्टियो, साहेब”, निरीक्षकले गथासो पोखे।

“लुकिछिपी फिफ्टी/फिफ्टीको दाउ हान्ने उनी हाफ जुवाडे रै'छन्! निमुखाहरूलाई बलात् फुल जुवाडे बनाउने झेलीहरूमाथि पहिला कारबाहीको डण्डा चलाम्, यी फिस्टे अर्धाहरूलाई त तर्साएरै ठेगान लगाइन्छ।”

comments powered by Disqus

रमझम