ठूलाखेतकी औषधि आमा

Share:
  
p12a
 
 

कास्कीको ठूलाखेत घाँटीछिनाकी गौरी पराजुली (५२) महीना दिन बिराएर पोखरा बजार र्झ्छिन्, झोलाभरि विभिन्न किसिमका धुलो र झोल जडीबुटी लिएर। उनले गाउँमै मोबाइल फोनमा टिपेका रोग अनुसार जडीबुटी संकलन र तयारी गर्छिन्। २५ वर्षदेखिको यो कामले उनको नामै 'औषधि आमा' बन्न पुगेको छ। “पहिला जाँतोमा पिंधेर औषधि तयार गर्थें”, गौरी अर्थात् औषधि आमा भन्छिन्, “अहिले मिसिन नचलाई पुग्दैन।”

लुम्लेकाँडेका साहिला वैद्यबाट यो विद्या सिकेकी गौरी पहिले संकलित जडीबुटी वैद्यकैमा लैजान्थिन्। पछि औषधि बनाउन र मात्रा तोक्न सक्ने भएपछि आफैं बेच्न थालिन्। उनी वन–वन चहार्दै कम्मरी, गाईखुरे, कुरिलो, हर्रो, बर्रो, बडहर, सेतो गिदरी, पदमचाल, कुरिलो, कोइरालो, मालती, खयर, घोडताप्रे आदि जडीबुटी संकलन गरेर पायल्स, युरिक एसिड, सुगर, पिनास, कब्जियत, रक्तचाप, दम, हाड जोड्ने, पाठेघर सम्बन्धी रोग आदि निको पार्ने औषधि बनाउँछिन्। १३२ थरीका जडीबुटी चलाइरहेको उनले बताइन्। 

१० सन्तानकी आमा गौरीका बाँचेका दुई छोरा र तीन छोरीले पनि आमाको कामको सिको गरेका छन्। जडीबुटी कारोबारबाट घरव्यवहार राम्रै चलेको छ। “सबभन्दा सन्तोष त”, औषधि आमा भन्छिन्, “धेरैको रोग निको भएको छ, बिरामीलाई बिसेक भएको सुन्दा धेरै आनन्द लाग्छ।”

दुर्गा अधिकारी, पोखरा


अब के गर्ने होला?
 

p13
 
 

वैदेशिक रोजगार सबैका लागि सुखद् छैन। सबैले कमाउनेहरूलाई हेरेर गुमाउनेहरूलाई बिर्सिदिन्छन्। खोटाङको छितापोखरी–४ ढुसेनीकी सुमित्रा खड्का अहिले यस्तै कठिनाइमा छिन्। सात छोराछोरी पढाउन सकियोस् भनेर २०६६ कात्तिकमा कतार गएका पति तीर्थबहादुरको १ भदौ २०६९ मा कतारमै मृत्यु भएपछि उनको संसार अँध्यारो भएको छ। १६ वर्षभन्दा मुनिका सात छोराछोरी पनि आमालाई मद्दत गर्न सक्ने अवस्थामा छैनन्। रुँदारुँदा आँखा सुकाइसकेकी सुमित्राले भनिन्, “बरू जाँदै नगएको, पठाउँदै नपठाएको भए हुनेरहेछ ...!” 

त्यसपछि सुमित्रा बोल्न सकिनन्। कतारस्थित खोटाङवासीको पहलमा चार महीनापछि १३ मंसीरमा तीर्थबहादुरको शव काठमाडौं ल्याइयो, तर घरको अवस्थाले सुमित्रालाई त्यहाँसम्म पुग्न पनि दिएन। काठमाडौंमा गाउँले र जिल्लावासीले सद्गत गरे। अब उनको थाप्लामा पतिको कतार जाँदाको सावाँ–व्याज ऋण तिर्ने र छोराछोरी हुर्काउने–पढाउने दायित्व थपिएको छ। उनकी ठूली छोरी पार्वता ७, माइली विमला ६, साहिंली प्रमिला ४, काइली विपना ३ र कान्छी सपना २ कक्षामा पढ्छन्। जेठो छोरा धिराज ३ र कान्छो हिराज १ कक्षामा छन्।

सइन्द्र राई, दिक्तेल  


बिचल्लीमा बालबच्चा

p13b
 
 

रुकुमको सानीभेरी नदी किनारामा चिसोले कठ्याङ्ग्रिएर २१ पुसमा शेरबहादुर वादी (३४) को मृत्यु भएपछि उनका तीन छोरा, एक छोरी र श्रीमती तीर्था अलपत्र परेका छन्। (हे. तस्वीर माथि) मुटु कमाउने सिरेटो चल्ने बगरमा प्लाष्टिकको त्रिपालमा रहेका वादी परिवारको जीविकाको एक मात्र स्रोत नदीमा माछा मार्नु हो। तीर्थाका छोराछोरी विद्यालय जाने उमेरका भए पनि कोही विद्यालय गएका छैनन्। “किताबकापी किन्ने पैसा भए पो स्कूल पठाउनू!” तीर्था भन्छिन्, “अब त अन्नको लागि माछा मार्ने मान्छे पनि छैनन्।”

७ पुस २०६८ मा सानीभेरी किनारकै ओढारमा सामान्य विवादमा श्रीमती मोतीकलाको हत्या गरेर जेल परेका रामलाल वादीका पाँच बालबालिका पनि यस्तै विपतमा छन्। त्यही ओढारमा रहेका उनीहरू साँझ्–बिहानको खानाको लागि गाउँतिर माग्न निस्कन्छन्। उनीहरूको लागि विद्यालय कल्पनाको विषय भएको छ। नदी किनारमा मात्र हैन, रुकुम सदरमुकाम खलंगामा पनि बालबच्चाको बिजोगै छ। बाबु जेल र आमाले दोस्रो विवाह गरेर हिंडेपछि बेसहारा बनेका काँडा– ८ का सुरेश विक बाबु रहेको कारागारको ढोकामा आएर बस्छन्। (हे. तस्वीर तल)

p13a
 
 

रुकुममा बालबालिकाको क्षेत्रमा काम गर्ने एक दर्जन सरकारी तथा गैर–सरकारी संस्था भए पनि बेसहारा बालबालिकाको उद्दारमा कसैको ध्यान जान सकेको छैन। यस्ता बालबालिकालाई संरक्षण गर्न दुई वर्षअघि बनाइएको बालगृह पनि सञ्चालनमा आएको छैन।

लक्ष्मण केसी, रुकुम

 

comments powered by Disqus

रमझम