६-१२ भदौ २०७२ | 23-29 August 2015

नयाँ युग नयाँ मान्छे

Share:
  

शब्द/तस्वीरः देबकी बिष्ट, रामेछाप

२७ साउन रामेछाप, सदरमुकाम मन्थलीस्थित मन्थली प्राथमिक स्वास्थ्यचौकी पुग्दा सुमित्रा पौडेल (२५) बोल्न सक्ने अवस्थामा थिइनन्। तर, भोलिपल्ट फेरि उही स्वास्थ्यचौकी पुग्दा ज्वानोको झोल पिइरहेकी उनको काखमा स्वस्थ नवजात छोरी थिई।

२७ साउनमा जन्मेकी सुमित्रा पौडेलकी छोरी।

कुमारी श्रेष्ठ।

स्वास्थ्य चौकीबाट तिल्पोङ–२ स्थित सुमित्राको घर पुग्न दुई घण्टा लाग्छ। तर, त्यहाँ घर होइन, झुप्रो मात्र छ। १२ वैशाखको महाभूकम्पले उनको घर भत्कियो। अन्नपात पनि झिक्न पाइएन। “दुई जीउकी मलाई सारै गाह्रो भयो। तर, बच्चा स्वस्थ जन्मिएकोमा खुशी लागेको छ”, भूकम्पपछि एउटा 'नयाँ जीवन' को जन्म दिएकी उनी भन्छिन्।

गृहमन्त्रालयका अनुसार भूकम्पमा परी रामेछापमा ४२ जनाको ज्यान गएको थियो जसमध्ये २४ जना महिला थिए। २६ हजारभन्दा बढी घर क्षति पुग्दा १३४ जना घाइते भए।

सुमित्रा पौडेल।

चिना मगर।

गर्भवती र बालबालिकामा भूकम्पपछिको जोखिम ख्याल गर्दै सरकार र युनिसेफ नेपालले २० जेठदेखि 'आकस्मिक तथा सुरक्षित आवास सेवा' सञ्चालन गरेपछि चौकीमा आउनेको संख्या बढेको छ। “भूकम्पअघि दैनिक करीब १३ जना जति गर्भवतीहरू आउँथे, अहिले २२ जनासम्म पुगेका छन्”, चौकीकी स्वास्थ्यकर्मी लक्ष्मी श्रेष्ठ भन्छिन्।

त्यही दिन स्वास्थ्यचौकीमै भेटिएकी मन्थली–१ की अम्बिका सुवेदी (२०), सुनारपानीकी कुमारी श्रेष्ठ (२३) पनि भर्खरै जन्मिएको शिशुको अनुहार हेर्दै भूकम्पको पीडा भुलिरहेका देखिन्थे। बिजुकोट–२ की चिना मगर (२२) भूकम्पपछिको नयाँ युगमा 'नयाँ मान्छे' जन्माउने तयारीमा थिइन्।

comments powered by Disqus

रमझम