हिजोका आतंक आज असहाय

Share:
  
- नवीन झा
मधेशका संभावना भएका राजनीति–कर्मीहरूको एउटा तह हतियार मोहमा फँसेर “न घर न घाट” भएको छ।
p14
 
प्रल्हाद गिरी 'पवन'।
तस्वीरहरुः नवीन झा

मधेशको हतियार र हिंसाको राजनीतिमा एउटा चर्चित नाम हो― प्रह्लाद गिरी 'पवन'। ६ वर्षदेखि संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चा पवन समूहका अध्यक्ष रहेका गिरीले आपराधिक समूहको नेताको ख्याति कमाएपछि डेढ वर्षअघि सरकारलाई हतियार बुझाएका थिए। 

हतियारको राजनीति नभएको भए यतिबेला मधेश राजनीतिले एउटा बाटो समातिसकेको हुन्थ्यो भन्ने गिरीको धारणा छ। २०५६ को आमनिर्वाचनमै २१ हजार मत ल्याएका र एमालेको पर्सा जिल्ला सचिव भइसकेका गिरी सशस्त्र समूहमा लागेकाले संविधानसभा निर्वाचन र संविधान निर्माण प्रक्रियामा सहभागी हुन पाएनन्। अहिले आफूमाथि लागेका मुद्दाहरूबाट छुटकारा पाउने चिन्तामा रहेका गिरी भन्छन्, “सशस्त्र समूह संचालन नगरेको भए मधेश राजनीतिमा मेरो अर्कै स्थान हुनेथियो।”  
 
समाजबाटै अस्वीकृत
२०६३ को मधेश आन्दोलन तराईमा राज्यको विभेदप्रति स्थानीय समुदायको विस्फोट थियो। आन्दोलनले तराई–मधेशका मुद्दा उठाएको र अधिकार चेतना बढाएको थियो। तर हतियारले बलशाली माओवादीसँग डराएका मधेशी राजनीतिक कार्यकर्ताले यो लडाईंलाई सही ढंगले अगाडि बढाउन सकेनन्। मधेश राष्ट्र जनतान्त्रिक पार्टीका राजीव झा भन्छन्, “शुरूदेखि नै वैचारिक स्पष्टता नभएका समूहहरू हतियार भएपछि पैसा कमाउनतिर लागे।”

गएको ६ वैशाखमा हेटौंडामा सरकारसँग वार्ता गरेका चन्द्रशेखर ६ वर्षको सशस्त्र राजनीतिपछि धनुषा–२ मा शान्तिपूर्ण राजनीति गरिरहेका छन्। भूमिगत हुनुअघि जनकपुरस्थित तराई संरक्षण समितिका अध्यक्ष रहेका उनी ज्वाला सिंह समूहको बौद्धिक फाँटका संयोजक थिए। सशस्त्र समूहहरूमा अपराध हावी भएपछि सीमापारि चुपचाप बसेर शान्तिपूर्ण राजनीति गर्ने मौका हेरिरहेका उनी त्यसबेला राजनीतिक आवरणमा खुलेका सशस्त्र समूहमा लागेकाहरूलाई मधेशी समाजमा फर्कने र पार्टी निर्माण गर्ने अवस्था नरहेको बताउँछन्। “मधेशी समाज र भूगोल सशस्त्र राजनीतिको लागि उपयुक्त नभएको समयमै बुझन सकिनँ”, चन्द्रशेखर भन्छन्,“हिजो मसँगै मधेश आन्दोलनमा लागेका कतिपय साथीहरू आज मधेशी पार्टीका केन्द्रीय नेता कहलिएका छन्, मलाई भूमिगत राजनीतिले गुमनाम बनाइदियो।”  

मधेशी जनअधिकार फोरम सप्तरीका नेता बलराम यादव पनि सशस्त्र समूहहरूको मधेशी समाजमा फर्कनै नसक्ने परिचय बनेको ठान्छन्। मधेशले हिंसालाई कहिल्यै स्वीकार नगरेकोले माओवादीले देशै सखाप पार्न लाग्दा पनि उसलाई गाह्रो परिरहेको बताउँदै यादव भन्छन्, “त्यत्रो हिंसावादी शक्ति माओवादीलाई त मधेशले स्वीकारेको छैन भने अरू सशस्त्र समूह र तिनका नेताहरूलाई सजिलो हुने कुरै भएन।” 

मधेशको एउटा सशस्त्र समूह त्यागेर काठमाडौंमा पढिरहेका सिरहाका एक युवक गाउँमा राजनीति गर्नु त परको कुरा बस्न पनि अप्ठ्यारो भएको बताउँछन्। नाम उल्लेख गर्न नचाहने ती युवक एसएलसी पास नगर्दै मासिक रु.१७ हजार तलब पाउने गरी जनतान्त्रिक (ज्वालासिंह) मा आवद्ध भएको, तर आफूहरूलाई नै पैसा असुल्न बन्दुक थमाइएको बताउँछन्। 

p14a
 
चन्द्र शेखर, कौटिल्य शर्मा, राजीव झा।

१ फागुन २०६७ मा आफ्ना ६ साथीसहित सशस्त्र राजनीति परित्यागको घोषणा गरेका संयुक्त जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक कौटिल्य शर्मासहित मोरङका शिव सहनी, दिलीपकुमार दास, सत्यनारायण साह, रुपन्देहीका मोहम्मद इस्लाम खान, मोहम्मद वकिल, सर्लाहीका भरत मण्डल, रौतहटका विक्रम यादव र नागेन्द्र यादवलाई प्रहरीले महोत्तरीको भिट्ठामोडमा समात्यो। यो गिरफ्तारीलाई सरकारसँग वार्ता गर्न नपाएपछि सुरक्षित हुन जानाजान दिइएको ठान्ने मधेश राजनीतिका जानकारहरू यसलाई मधेशमा शुरू भएको हतियारको होडबाजीको असफलताको संकेत मान्छन्। 

मधेशी भाइरस किलर्सका जेपी यादव सरकारसँग वार्ताको चरणमा रहेका बेला मातृका यादवको नेकपा माओवादीमा शरण लिन पुगे। उता लिवरेशन अफ तराई इलमका अध्यक्ष रामलोचन ठाकुर र मधेशी मुक्ति टाइगर्सका तत्कालीन अध्यक्ष जगदीश अधिकारी (रमण सिंह) खेतीपातीमा लागेका छन्। जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक राजीव झा सरकारसँग शान्ति वार्ताका लागि प्रयास गरिरहेका र जेपी गुप्ताको फोरम गणतान्त्रिकमा सक्रिय हुन खोजिरहेका छन्। झा भन्छन्, “सशस्त्र समूहमा लागेकाहरू सामु आफैं पार्टी बनाएर समाजमा जान सक्ने अवस्था नभएकोले मधेशवादी दलमा छिर्नुको विकल्प छैन।”  
 
गोइत पनि सेलाए
मधेशमा सशस्त्र समूहहरूको लहर जयकृष्ण गोइत जस्ता सम्मानित राजनीतिक पृष्ठभूमि भएका नेताले २०६१ साउनमा हतियार उठाएपछि आएको थियो। अखिल तराई मुक्ति मोर्चाका अध्यक्ष तिनै गोइत समेत अहिले सेलाएका र उनको सङ्गठन छिन्नभिन्न भएको छ। ३० असार २०६१ मा माओवादी नेतृत्वको उपस्थितिमा चितवनमा सम्पन्न मधेशी राष्ट्रिय मुक्ति मोर्चाको राष्ट्रिय भेलाले मातृका यादवलाई मोर्चाको अध्यक्ष बनाएपछि असन्तुष्ट गोइतले अलग संगठन खोलेका र ११ साउनमा बिहारको मधुवनीबाट 'स्वतन्त्र तराई' को लागि सशस्त्र आन्दोलन घोषणा गर्दै सप्तरीका पहाडी मूलका तीन कर्मचारीलाई सात दिनभित्र तराई छाड्न उर्दी जारी गरेका थिए।

केही वर्षदेखि रोगले शिथिल भएर बिहारको पटनामा बसिरहेका सप्तरी त्रिकौलका ७० वर्षीय जयकृष्ण गोइत अहिले नेपाल आउन नसक्ने अवस्थामा छन्। गोइतको राजनीतिक अन्त्यसँगै मधेशमा खुलेका सबैखाले सशस्त्र समूह र तिनको राजनीतिक हैसियत पनि समाप्त हुने विश्लेषकहरूको भनाइ छ। “तराई–मधेशका सशस्त्र समूहहरू अर्ध–आपराधिक समूह नै हुन्”, फोरमका नेता बलराम यादव भन्छन्, “तिनले राजनीतिक रंग पाएको गोइतको राजनीतिक पृष्ठभूमिले मात्र थियो।” यादवको भनाइमा, जीवनको उत्तरार्द्धमा महागल्ती गरे पनि गोइतको विगतलाई कसैले अनादर गर्न सक्दैन। 

सद्भावना पार्टीको स्थापनादेखि मधेश राजनीतिमा सक्रिय सप्तरीका भोला मुखिया थप्छन्, “अरूको कुरा सुन्ने क्षमता भइदिएको भए गोइत आज मधेशको सर्वमान्य नेता हुनेथिए।” 



'एकान्तमा रुन्छु'
–भोला मुखिया 'मंगल पाण्डे' 

 

p15
 
 

राजनीतिमा हतियार बोक्दा धमिलिएको मेरो निजी र पारिवारिक जीवनमा आज कतै उज्यालो छैन। राति प्रायः एक्लै रुन्छु। मलाई सशस्त्र राजनीतिमा लाग्न प्रेरित गर्नेहरूलाई आक्रमणै गर्न जाऊँ  जस्तो लाग्छ।” 

यो भनाइ मधेशको पहिलो भूमिगत पार्टीका संस्थापक भोला मुखिया (मंगल पाण्डे) को हो। एसएलसीपछि सडक विभागको सुर्खेतस्थित एउटा योजनामा सुपरभाइजर बन्न पुगेका सप्तरीका भोला त्यसको तीन वर्षमा भारतको मुम्बई पुगे। सुर्खेतमा एउटा प्रहरीले 'झिंजाको डाँकू' भन्दै गाली गरेकोले मुम्बईबाट फर्कंदा धनुषाको झिंजा हेर्न पसेका उनलाई गाउँको फन्को मारेर आँप बगैंचामा सुस्ताइरहेको बेला गाउँलेहरूले सीआईडी भनी समाते। त्यतिबेला विराटनगरका एक सरकारी कर्मचारीको घरबाट भागेर आएको बताएर ज्यान जोगाएका भोला त्यसपछि कुख्यात डाँकू मानिकचन्द पासवानको घरमा नोकर बनेर झिंजामै बसे।

एकमहीनामै पासवानको अंगरक्षक बनेका उनलाई केही डकैतीमा सामेल गरियो। यो कर्मबाट अत्तालिंदै तेस्रो महीनामै घर गएर पढाउने काममा लागेका उनी ठूलो दाइसँग माछाको ठेक्का लिएर कोशी क्षेत्रको ठूलै माछा व्यापारी पनि भए। शिक्षण र व्यापारसँगै सद्भावना पार्टीको राजनीतिमा पनि लागेका भोला केही मित्रले 'मधेशीको मुक्तिको लागि सशस्त्र पार्टी खोल्न' उकासेपछि हतियारको राजनीतितिर आकर्षित भएका थिए। 

मधेशी भएको कारण धेरै ठाउँमा अपमानित अनुभव गरेका उनलाई साथीहरूको प्रस्ताव ठीकै लाग्यो र १६ चैत २०५४ मा आरडी आजाद, रामकुमार पण्डित, राजन र रमण सिंहसँग मिलेर उनले संगठन विस्तारपछि हतियार उठाउने योजनाका साथ 'मधेश मुक्ति टाइगर्स' स्थापना गरे। टाइगर्समा मंगल पाण्डे भनेर चिनिने उनी त्यही बीचमा भोला मुखियाको नामबाट मधेशी जनअधिकार फोरमको सप्तरी जिल्ला उपाध्यक्ष पनि बने। 

२०६१ साउनमा जयकृष्ण गोइतले हतियार उठाएपछि त्यसअघि नै भूमिगत संगठन खोलेका मंगल पाण्डेले आफू पछि परिने डरले त्यही मंसीरमा हतियार उठाउने निर्णय गरे। मधेश आन्दोलनपछि भूमिगत भएका उनी क्रमशः आफ्नोसहित अन्य सशस्त्र समूहहरूमा राजनीति कम र अपराध बढी महसूस गर्न थाले। साथीहरू नै गलत काममा लागेपछि पार्टी फुट्न थाल्यो। “राम्रो अवस्थामा रहेको माछा व्यापार र ६ छोराछोरीसहितको परिवारबाट टाढिएँ”, उनी भन्छन्, “संविधानसभा निर्वाचनपछि सरकारसँग वार्ता गरेर त्यो जञ्जालबाट त निस्किएँ, तर अहिले आत्मा रोइरहेको छ।”

त्यसयता शान्तिपूर्ण राजनीतिमा उत्रने प्रयास गरिरहेका भोला मुखियाले हालै जनतान्त्रिक तराई–मुक्ति टाइगर्स नामको नयाँ पार्टी खोलेका छन्। तर आफूप्रति बौद्धिक जमातको बेवास्ताबाट निराश उनी भन्छन्, “समाजलाई विश्वासमा नलिई राजनीति गर्दा विचार जति राम्रो भए पनि घर न घाटको हुनुपर्ने रहेछ।”

 

comments powered by Disqus

रमझम