६-१२ भदौ २०७२ | 23-29 August 2015

सीपबाट आत्मनिर्भर

Share:
  
विशेष कक्षा, परामर्श र सीपमूलक तालीमले अटिजम्का बिरामी पनि आत्मनिर्भर हुनथालेका छन्।

अलिसा न्यौपाने।
दोलखाकी अलिसा न्यौपाने (२०) विद्यालय त जान्थिन् तर जहिल्यै फेल हुन्थिन्। उमेर बढ्दै गएको र नियमित उपस्थित भएकैले विद्यालयले नै कक्षा ७ पास गराइदियो। छोरीलाई उमेर अनुसार बौद्धिक क्षमता वृद्धि नहुने अटिजम् रोग लागेकोबारे नर्सिङ पेशाकी आमा शारदालाई थाहा थियो। त्यसैले तीन वर्षअघि छोरीलाई काठमाडौं, पेप्सीकोलास्थित विशेष स्कूल तथा पुनर्स्थापना केन्द्रमा भर्ना गरिन्। केन्द्रमा अलिसाले पढ्न, लेख्नका साथै खेल्न, बोल्न सिकिन्। उनलाई अहिले क्रिष्टलको माला र चुरा बनाउनुका साथै पेन्टिङ गर्न पनि आउँछ। “म त शिक्षक बन्छु”, उनी भन्छिन्।

छोरीको व्यवहारमा आएको परिवर्तनले शारदा दंग छिन्। पहिले अरूले जे भन्यो त्यही भन्ने र जे गर्‍यो त्यही गर्ने छोरी अहिले भान्सामा सहयोग मात्र होइन, सीपमूलक कामले कमाउने भइसकेकी छन्। “आहा, कति राम्रो भन्नुपर्छ, ऊ साह्रै हौसिन्छे”, शारदा भन्छिन्।

अलिसा जस्तै यो केन्द्रमा अटिजम् भएका ४० जना विद्यार्थी शारीरिक, मानसिक विकास र जीवनयापनका क्षमता सिकिरहेका छन्। सप्तरीकी ऐश्वर्या चौधरी (१७) तिनैमध्येकी हुन्, उनलाई घरभन्दा स्कूल रमाइलो लाग्छ। स्कूलमा उनका धेरै साथी छन्। लेखपढ गर्नुका साथै साथीसँग मिलेर ऐश्वर्या दैनिक एक घण्टा चुरा र माला बनाउने काम पनि गर्छिन्। “पढ्न अनि सीप सिकेको देख्दा खुशी लाग्छ”, ऐश्वर्याका बुबा आर्यन चौधरी भन्छन्, “आफ्नो काम आफै गर्ने हुँदैछे, खुशी लागेको छ।”

अटिजम् भएका बालबालिका लक्षित यो केन्द्रले स्थापनाको पाँच वर्षभित्रमा ६० जना विद्यार्थी परिवारमा पुनर्स्थापित गरिसकेको केन्द्रकी संस्थापक एवं प्रमुख कार्यकारी निर्देशक सविता उप्रेती बताउँछिन्। उनी भन्छिन्, “तीमध्ये ३० जना साधारण स्कूल पढ्न सक्षम भएका छन्।”

उप्रेतीको भनाइमा लेखपढ र थेरापीका अतिरिक्त विद्यार्थीको ध्यान केन्द्रित गर्न र आँखाको अभ्यासको लागि सीपमूलक काम पनि गराइन्छ। रङ चिनाउन माला बनाउन सिकाइन्छ। आभूषण पौडेल (११) ले क्रिष्टलका दानाबाट माला बनाउन सिक्दासिक्दै रंग ठम्याउन सक्ने भएका छन्। “चुरा, माला, टप, बनाए अनुसार मासिक रु.१५०० देखि रु.४ हजारसम्म आम्दानी पनि गर्छन्”, उप्रेती भन्छिन्।
अमेरिकाको सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले गरेको अध्ययन अनुसार सन् २०१३ सम्ममा विश्वका २१ करोडमा अटिजम्को समस्या देखिएको थियो। उक्त तथ्यांकको आधारमा नेपालमा करीब तीन लाखमा अटिजम् भएको हुनसक्ने अनुमान केन्द्रको छ। उप्रेतीका अनुसार तीमध्ये धेरैलाई घरपरिवारले बाँधेर, थुनेर राख्ने गरेका छन्।

केन्द्रकी डा. अनुराधा श्रेष्ठ थेरापी र परामर्शले अटिजम् भएका बालबालिकाको मानसिक अवस्था परिवर्तन गर्न सकिने बताउँछिन्। उनको अनुभव छ, “थोरै मात्र ध्यान दिए उनीहरू आफ्नो स्याहार आफैं गर्न र समुदायमा घुलमिल हुन सक्छन्।”

आफैं अभावमा

कहिल्यै विवाह नगर्ने बरु दाइजोबापतको रकमले समाजसेवा गर्ने अड्डी कसेकी नाम्दु, दोलखाकी उप्रेती (३०) ले परिवार र आफन्तको रु.५ लाख सहयोगमा पुनर्स्थापना केन्द्र खोलेकी हुन्। अहिले केन्द्रमा १६ जना कर्मचारी छन्। रु.४० हजार घरभाडा तिर्नुपर्छ। यसरी हेर्दा केन्द्र सञ्चालनमा मासिक करीब रु.३ लाख लाग्छ।

तर, अटिजम् भएका बालबालिकाका लागि मुलुककै एक मात्र विद्यालय र पुनर्स्थापना केन्द्र सञ्चालनमा सरकारले कुनै सहयोग गरेको छैन। दातृ निकायको पनि ध्यान पुगेको छैन।

“संस्था चलाउन समस्या छ, अहिलेसम्म देश–विदेशका नेपालीको व्यक्तिगत सहयोगले नै केन्द्र चलिरहेको छ”, उप्रेती भन्छिन्। खर्च जुटाउन केन्द्रले विभिन्न मेला, महोत्सवमा अटिजम् भएका बालबालिका र शिक्षकले बनाएका हस्तकलाका सामग्री बिक्री गर्दै आएको छ।

केन्द्रले आफ्नै कार्यालय र विद्यालयका लागि वेग्लावेग्लै भवन बनाउने योजना बनाएको छ। यसका लागि रु.२ करोडको अक्षय कोष स्थापना गर्ने लक्ष्य राखिएको छ। अक्षयकोषमा हालसम्म रु.११ लाख ६० हजार जम्मा भइसकेको छ।

के हो अटिजम्?

मस्तिष्कको नसा र तन्तु विकासमा जन्मजात देखिएको खराबी नै अटिजम्को कारण मानिन्छ। चिकित्सकीय भाषामा यसलाई न्युरोडेभलपमेन्टल डिसअर्डर भनिन्छ। अटिजम् बौद्धिक अपाङ्गता नभई मस्तिष्कको विशेष अवस्था हो। अटिजम् भएकाहरूले वातावरण, मानिस तथा बस्तुप्रति भिन्दै प्रतिक्रिया जनाउँछन्। उनीहरू विना कारण रुने, चिच्याउने, आँखा जुधाउन नसक्ने, घाउ तथा चोटप्रति वास्ता नगर्ने, एक्लै बस्न खोज्ने, खतरा तथा डर नबुझने, बोल्न नखोज्ने, शब्द वा वाक्य दोहोर्‍याइरहने लगायतका व्यवहार देखाउँछन्।

सविता श्रेष्ठ

comments powered by Disqus

रमझम