६-१२ भदौ २०७२ | 23-29 August 2015

घरमै व्यायाम

Share:
  
शारीरिक सुगठन र 'फिटनेस' का लागि अत्यावश्यक सामग्री सहितको व्यायामशाला घरघरमै बनाउन थालिएको छ।

शारीरिक सुगठनका साथै स्वस्थ रहनका लागि पनि निरन्तर व्यायाम आवश्यक छ। त्यसका लागि धेरैजसो व्यायामशाला अर्थात् जीम हाउस धाउने चलन पुरानै हो। तर, पछिल्लो समय बदलिंदो जीवनशैलीसँगै व्यायामका सामग्री घरमै ल्याई अभ्यास गर्नेहरू बढ्दैछन्। शारीरिकभन्दा बौद्धिक परिश्रम गर्नेहरुको रोजाइ घरमै व्यायामतर्फ ज्यादा छ।

घरमै व्यायाम अभ्यास मुख्यतः दुई उद्देश्यले गरिन्छ– स्वस्थ रहन र शरीर आकर्षक बनाउन। मोटोपनकै कारण शरीरमा लाग्ने विभिन्न रोग; जस्तै, उच्चरक्तचाप, मधुमेह, मुटुरोगबाट बच्न व्यायाम अनिवार्य मानिन्छ। यस्ता रोग लागिसकेकाहरुले त शारीरिक कसरत नगरी हुँदैन। तर, आफूलाई चाहिएको स्थानमा व्यायामशाला नहुनसक्छ। भए पनि आफ्नो रुचि अनुसारको वातावरण नमिल्न सक्छ। यस्तोमा फिटनेस उपकरण किनेर घरमै व्यायाम गर्नुको विकल्प छैन।

फाइदै फाइदा

काठमाडौं गोल्फुटारका अमर प्रधानले युवावस्थामा घरमै बनाएको 'व्यायाम हाउस' मा अहिले छोरा अविनाश नियमित अभ्यास गर्छन्। बुबाले बनाएको 'व्यायाम हाउस' मा प्रत्येक वर्ष कुनै न कुनै सामग्री थप्दै 'पूर्ण' बनाएको उनको भनाइ छ। “सबै प्रकारका व्यायाम घरमै गर्न सकिन्छ, बाहिर जानै पर्दैन”, उनी भन्छन्, “घरमै हुँदा एक पटक लगानी गरेपछि महीनैपिच्छे खर्च हुँदैन।”

हाँडीगाउँका सुदन देवान पनि ८ महीनायता घरमै व्यायाम गर्छन्। रु.३० हजारमा टे्रडमिल किनेका उनी भन्छन्, “घरमै भएपछि चाहेका वेला गर्न सकिने, नियमित पनि हुने।” घरमै उपकरण राखेमा पानी पर्दा वा अन्य अप्ठ्यारो अवस्थामा पनि व्यायाम नटुट्ने उनको भनाइ छ। “परिवारका अरूलाई पनि व्यायाममा आकर्षित गर्न सकिने रहेछ”, देवान भन्छन्।

व्यायाम सामग्री बिक्रेता स्पेक्ट्रम मर्चेण्डाइज प्रालिका कार्यकारी निर्देशक बेनु अधिकारी अनावश्यक मोटोपना घटाउन अहिले धेरैजसोले ट्रेडमिल प्रयोग गरिरहेको बताउँछन्। केही हजारदेखि लाखौं रुपैयाँसम्मका व्यायाम उपकरण बिक्री गर्दै आएका उनी आवश्यकता अनुसार जो कसैले पनि सामग्री किनेर घरमै अभ्यास गर्न सक्ने बताउँछन्। स्पेक्ट्रमले अटो–ट्रेडमिल, म्यानुअल ट्रेडमिल, साइकल, इलेक्ट्रिक ट्रेनर, मल्टी जीम, होम जीम लगायतका व्यायाम सामग्री बिक्री गर्दै आएको छ।

व्यायामअघि

व्यायाम थाल्नुअघि आफ्नो शरीरको अवस्था, तौल, उँचाइ, उमेर आदिबारे भने जानकारी राख्नुपर्छ। दक्ष व्यक्तिसँग परामर्श लिएर मात्र यस्तो अभ्यास थाल्नु हितकर हुन्छ। फिटनेस क्लबमा व्यायाम प्रशिक्षक नै नियुक्त गरिएका हुन्छन्, उनीहरुको सल्लाहले पनि काम गर्न सक्छ। इन्टरनेटको माध्यमबाट पनि यससम्बन्धी धेरै जानकारी प्राप्त गर्न सकिन्छ। “कुन उद्देश्यका लागि कुन कसरत गर्नुपर्छ र कुन उपकरण उपयुक्त हो भन्ने चाहिं थाहा पाउनुपर्छ”, स्पेक्ट्रमका अधिकारी भन्छन्।

शारीरिक सुगठन या तन्दुरुस्ती? यसका आधारमा पनि व्यायाम उपकरण र गर्ने तरीका फरक हुन्छ। प्रायः शरीर आकर्षक बनाउन खोज्नेहरु कडा शारीरिक अभ्यास गर्छन्, जसका लागि सन्तुलित पौष्टिक आहारको जरुरत पर्छ। केही दिन व्यायाम गर्ने र छाड्ने त गर्नै हुन्न। तर, स्वस्थ्य रहनका लागि नियमित हलुका व्यायाम उपयुक्त हुने जानकारहरू बताउँछन्।

comments powered by Disqus

रमझम