६-१२ भदौ २०७२ | 23-29 August 2015

शहरका चार माली

Share:
  

गोपाल गडतौला, झापा

तस्वीरहरुः गोपाल गडतौला
टेकबहादुर राई
आठ वर्षकै उमेरमा अपरिचित बटुवाको पछि लागेर भोजपुरको बुइपाका टेकबहादुर राई (५७) एकाएक भारतको बिहार पुगे। कहिले कसैको घरमा त कहिले होटलमा जुठाभाँडा माझो। काम नपाएका वेला सडकमै रात बिताए।

४५ वर्षअघि साँझ सदा झै उनी बिहार छपरास्थित एक होटलमा जुठा थाल उठाउँदै थिए। त्यहीवेला खाना खाइरहेका अर्का अपरिचित युवाले उनलाई नाम, ठेगाना सोधे। 'मसँग फूलबारीमा काम गर्न जान्छौ?' नेपाली भाषामै कसैले यसरी बोल्दा राईलाई वर्षौंपछि आफ्नो मान्छे भेटिए जस्तो लाग्यो। बुइपाबाट बटुवासँग गाउँ छाडे जस्तै भोलिपल्टै राई अर्का अपरिचितको पछिलागे।

राईको बाटो देखाउने ती युवा कालिम्पोङका फूल व्यापारी आरएम प्रधान रहेछन्, यो कुरा टेकबहादुरले पछि मात्रै थाहा पाए। प्रधान फूल बेच्दै छपरा पुगेका रहेछन्। बीउबाट बिरुवा उमारेर भारतका विभिन्न ठाउँमा बेच्ने प्रधानसँग लागेर उनी भारतका विभिन्न ठाउँ पुगे। फूलको महत्व बुझ्ो। नर्सरीको सीप सिके। र, आफन्तको भरथेगमा २०५० सालमा झ्ाापाको दमक–११ मा महादेव नर्सरी स्थापना गरे।

कालिम्पोङ आउने–जाने गरिरहेका राई २०५७ सालदेखि भने ढुक्कै दमकमै बसिरहेका छन्। वार्षिक रु.४ लाखमा आठ कट्ठा जमीन भाडामा लिई एकहजारभन्दा बढी जातका फूलका बिरुवा रोपेका छन्। रु.१५ लाखको लगानीमा सञ्चालित नर्सरीमा आठ जनाले काम पाएका छन्।

डालिया, एटेलियम, पिटोनिया, साल्विया, गजिनिया, भरवेना, लालुपाते, सितारा, बगमबेली, हाइब्रिड सयपत्री उनको नर्सरीबाट बढी बिक्री हुने गरेका छन्। “फूल किन्नुपर्छ भन्ने यहाँका मान्छेले बुझ्न थालेको धेरै भएको छैन” उनी भन्छन्। अहिले भने उनी दैनिक रु.१५ हजार जतिको फूल बेचेरै ६ जनाको परिवारको गुजारा चलाइरहेका छन्। “मान्छेसँग भन्दा यिनै फूलसँग संगत भयो”, राई भन्छन्।


अर्जुन राई
साथीहरूको लहैलहैमा लागेर केरौन–७ मोरङका अर्जुन राई (२४), १२ वर्षको उमेरमै भागेर पश्चिम पोखरा पुगे। तर, नयाँ ठाउँमा पेट कसरी पाल्ने? उनलाई केही थाहा थिएन। उनले पृथ्वीचोकस्थित भद्रकाली नर्सरीमा फूल गोड्ने काम भेटे। दुई वर्षसम्म त्यहीं काम गरे।

काम गर्दागर्दै अर्जुनलाई थाहा भयो, 'फूल पनि पो बिक्ने रहेछ।' २०६२ सालमा घर फर्किएर उनले उर्लाबारी र पथरीका नर्सरीमा तीन वर्ष काम गरे। र, त्यसपछिको दुई वर्ष ठेलागाडामा नर्सरी राखेर उर्लाबारी, मंगलबारे, पथरीका हाट र बस्ती डुलाउन थाले। दुई वर्ष यस्तो काम गरेपछि उनलाई झन् आत्मविश्वास बढ्यो। २०६७ सालमा रु.२० हजार लगानी जुटाएर उर्लाबारी–२ मा आफ्नै अलास्का नर्सरी खोले।

आज अर्जुन दैनिक करीब रु.२५०० को फूल र बिरुवा बेच्छन्, जसबाट महीनाको रु.२५ हजार जति नाफा हुन्छ। “घरमा कुनै न कुनै फूल हुनैपर्छ भन्ने ज्ञान बढ्दै गएको छ, यसले हामी जस्तालाई राम्रो रोजगारी दिएको छ”, उनी भन्छन्।


मुक्ति थुलुङ
पूर्व बेलायती गोर्खा सैनिक डण्डीराम थुलुङ (५४) को अचम्मको सोख थियो, चित्रकला। पल्टनमा वर्षौं बन्दूकसँग खेलेका उनी नेपाल फर्केपछि भने कुची समात्न थाले। बुबाले चित्र बनाइरहेको देखेपछि छोरामा पनि नजानिंदो हिसाबले चित्रकलामा आकर्षण बढ्यो। मुक्ति सानैदेखि चराचुरुङ्गी, बुट्यान, रुखका चित्र कोर्न थाले।

मुक्ति बुबा जस्तै सैनिक बनेनन्, बरु चित्रकार बने। चित्रकारकै रुपमा उनले धनकुटाको पाखि्रबास कृषि केन्द्रमा २०३० सालदेखि १४ वर्षसम्म जागीर नै खाए। तर, नर्सरीको माली बन्नु पछाडिको प्रसंग भने वेग्लै छ।

चित्रकलासँगै मुक्तिको अर्को रुचि फोटोग्राफी थियो। जागीर छाडेसँगै उनले दमक–१३ मा फोटो स्टुडियो खोले। फोटो खिच्न आउनेहरू पृष्ठभूमिमा फूल, बगैंचा खोज्थे। ग्राहकको मनसाय बुझी उनले स्टुडियो पछाडि सानो फूलबारी बनाए।
स्टुडियोभन्दा बढी साइकलमा गाउँ चहार्दै फोटो खिच्ने र फोटो घरघरमा पुर्‍याइदिने कामबाट थाकेर मुक्तिले २०६० सालमा स्टुडियो बन्द गरे। “अनि म माली बनें”, थुलुङ नर्सरीका मालिक र माली मुक्ति भन्छन्।

साढे तीन कट्ठामा फैलिएको उनको नर्सरीमा करीब आठसय जातका फूल छन्। ६ जना सहयोगी छन्। उनी दैनिक रु.१० हजार जतिको बिरुवा र फूल बेचिरहेका छन्। “सौखिन शहरिया फुल र गाउँका किसानहरू टिम्बर बन्न सक्ने बिरुवा किन्छन्”, उनी भन्छन्। पक्की घरका छत र बार्दली सिंगार्न उनलाई आग्रह गर्नेहरू पनि थुप्रै छन्।


सुशीला पौडेल
दमक–१० की सुशीला पौडेल (४२) ले आठ वर्षसम्म कस्मेटिक पसल चलाइन्। खासै घाटा त थिएन तर उनले कृत्रिम सौन्दर्य भन्दा प्राकृतिक सुन्दरताको व्यापारबाटै बढी फाइदा हुने अनुमान गरिन्। र, २०७० सालमा झन्डै रु.४० लाखको लगानीमा धनलक्ष्मी नर्सरी शुरु गरिन्।

दमक–८, ताराबारीमा रहेको आफ्नो र आफन्तको तीन बिघा खेतबाट थालेको नर्सरी व्यवसायले उनलाई नाफा दिन शुरु गरेको छ। दैनिक ८ जना माली खटिने नर्सरीमा मासिक रु.१ लाख जति खर्च नै हुन्छ। वार्षिक डेढलाख रुपैयाँ त पाँगो माटो र गोबर किन्नमै सकिन्छ।

पुष्प व्यवसायीका लागि भदौदेखि चैत महीना 'फूलको मौसम' हो। सुशीलाको नर्सरीमा आउँदो सिजनको लागि मुसुण्डा, सितारा, गोदावरी फायरबल, पिटोनिया, मर्निङग्लोरी लगायत १२२ प्रजातिका बिरुवा बिक्रीका लागि तयार छन्।

“फूल व्यवसायबाट आनन्द र आम्दानी दुवै मिलेको छ, पहिल्यै गर्नुपर्ने रहेछ”, सुशीला भन्छिन्।

comments powered by Disqus

रमझम