६-१२ भदौ २०७२ | 23-29 August 2015

गिनिजमा बाबुछोरी

Share:
  

गिनिज वर्ल्ड रेकर्डस्ले पठाएको प्रमाणपत्रका साथ बाबु देण्डी र छोरी निमाछम्जी शेर्पा।

सोलुखुम्बुको गुदेल–४ सानामका बाबुछोरी देण्डी र निमाछम्जी शेर्पाले सगरमाथा आरोहणको इतिहासमा गिनिज वर्ल्ड रेकर्डस्मा नाम लेखाएका छन्। छोरी निमाछम्जीले सगरमाथा आरोहण गर्ने विश्वकै कान्छी आरोहीको रुपमा कीर्तिमान राखेकी हुन् भने देण्डीले बाबुछोरी एकसाथ चुचुरा टेक्ने पहिलो व्यक्ति बनेका हुन्।

बाबुछोरीले ६ जेठ २०६९ मा रोयल अर्किड टे्रकिङ एण्ड एक्सपीडिसनबाट सगरमाथाको सफल आरोहण गरेका थिए। आरोहण समयमा निमाछम्जी १६ वर्ष ६ महीनाकी थिइन्। आरोहणलगत्तै गिनिज वर्ल्ड रेकर्डस्मा आवश्यक कागजात पठाए पनि प्रमाणपत्र भने दुईसाताअघि मात्रै हात परेको देण्डीले बताए।

चारपटक सगरमाथाको सफल आरोहण गरिसकेका देण्डी पथप्रदर्शक तथा क्लाइमिङ शेर्पाको रुपमा काम गरिरहेका छन्।

बुद्धवीर बाहिङ, सोलुखुम्बु


सिन्धुपाल्चोकमा कुनाल कपुर

नेपालमा १२ वैशाखमा गएको महाभूकम्पको कम्पन बलिउडले पनि महसूस गर्‍यो। त्यसैले दिया मिर्जा, कुनाल कपुर, वरुण धवन, आलिया भट्ट र अनुष्का शर्मा जस्ता कलाकार नेपालका लागि सहयोग जुटाउन कस्सिए।

बलिउडको यही सहयोग बोकेर १ भदौमा अभिनेता कुनाल कपुर भूकम्पबाट सबैभन्दा बढी प्रभावित सिन्धुपाल्चोकको दुबाचौर गाउँ पुगे। र, त्यहाँका पीडितका कथा सुने। “मलाई लाग्छ, मान्छेले यति चाँडै नेपाल नबिर्सिउन्, पुनर्स्थापनासम्म हामीले सघाउनुपर्छ”, दुबाचौर भ्रमणपछि कपुरले भने।

रंगमञ्च पृष्ठभूमिबाट बलिउड प्रवेश गरेका कपुरले आधा दर्जनभन्दा बढी चलचित्रमा अभिनय गरेका छन्। उनी अभिनीत चलचित्रमध्ये रंग दे बसन्ती, लगा चुनरी मे दाग, वेलकम टु सज्जनपुर, आजा नचले चर्चित छन्। कुनाल र नेपाल जोड्ने काम भने केएर इन्डिया र केएर नेपालले गरेका थिए।


सान्फ्रान्सिस्कोमा नेपाली शान

अमेरिकाको सान्फ्रान्सिस्कोमा आयोजित 'फेस्टिभल अफ ग्लोब्स' अन्तर्गत सान्फ्रान्सिस्को विश्व चलचित्र महोत्सव (७–१६ अगस्त) मा नेपाली अभिनेता सुनिल थापा 'ग्लोबल लाइफ टाइम एचिभमेन्ट अवार्ड' बाट सम्मानित भए। थापासँगै हलिउडका ज्याकी चान र मार्टिन सेन, भारतीय संगीतकार बप्पी लाहिरी र भियतनामी कलाकार कियु चिनलाई यस्तो सम्मान प्रदान गरिएको थियो।

ढाका टोपी र दौरा–सुरुवालमा सजिएका अभिनेता थापाले आफ्नो सम्मान नेपाल र नेपाली फिल्म क्षेत्रको भएको बताए। समारोहमा नेपालका अभिनेत्रीहरू ऋचा घिमिरे, नन्दिता केसी, केकी अधिकारी र नायक सुशांक मैनालीलाई समेत सम्मान गरिएको थियो। अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले सुनिल थापासहित नेपाली कलाकर्मीको सम्मान नेपालकै सम्मान भएको बताए।
३० भन्दा बढी राष्ट्रको सहभागिता रहेको महोत्सवमा जोयस पाण्डेको 'साँघुरो', शंकर घिमिरेको 'तुलसी', उदय सिंजापतिको 'टाटा बाइबाइ' प्रदर्शन गरिएका थिए भने छोटा चलचित्रतर्फ फूलमान बलको 'सेलफोन' र जसकुमार राईको 'सेक्रिफाइस नेभर डाइ' देखाइएको थियो। महोत्सवका निर्देशकमध्येका प्रकाश थापाले महोत्सवले विश्वभरका फिल्मकर्मीलाई नेपाली चलचित्रको स्वाद बुझ्ने अवसर दिएको बताए।

अनुशील श्रेष्ठ, सान्फ्रान्सिस्को

comments powered by Disqus

रमझम