त्यसो त आशान्तको जीवनको 'प्लट' को पूर्वार्द्ध परिचय संकटमै बितेको थियो। नवलपरासीको बर्दघाटका आशान्तका आमाबुबा उनी ८ वर्ष हुँदै अलग भए। बुबा भारतको नयाँदिल्लीमा बस्थे, अर्की आमासँग। आमासँगै उनी विराटनगर सरे। कक्षा ८ पास गरी १२ वर्षे आशान्त ठूलो शहरमा राम्रो पढ्ने सपना बोकेर २०४१ सालमा दिल्ली हान्निए।
तर, दिल्लीमा कामदार बाबुको दुरवस्था देखेर उनको भ्रम तोडियो। बुबाले उनलाई विद्यालय होइन, गाडीको बेयरिङ बनाउने कारखानामा पठाए। ६ वर्ष भारत बसाइका क्रममा उनी पञ्जाब, ग्वालियरदेखि मुम्बईसम्म पुगे। “महल र सडकका ती भोगाइ त म भन्न पनि सक्दिनँ”, आशान्त स्मरण गर्छन्।
२०४८ सालमा उनी नवलपरासी फर्र्किए। र, १८ वर्षको उमेरमा कक्षा ९ मा भर्ना भए। त्यहीवेला विराटनगर बस्ने भाइ राज शर्मा र साथीहरु नाट्यस्वर आर्ट ग्रुपको नाटक लिएर बुटवल आइपुगे। उनले स्थानीय व्यवस्थापकको काम गरे।
एसएलसीपछि कमाउँदै पढ्ने योजनासहित आशान्त २०५० सालमा काठमाडौं आए। नाट्यश्वरले फेरि वीरगञ्जमा 'माइराम' नाटक देखाउने भयो। मुख्य कलाकार आएनन्। गाउँमा पूजा, विवाह र विद्यालयमा कहिलेकाहीं अभिनय गरेका आशान्तले आपत् टारे।
काठमाडौंको बसुन्धरास्थित कनेक्सन भ्यू बारमा नाँच्दानाँच्दै आशान्तले २०५३ सालमा कलाप्रेमी युवा समूह खोले। गोविन्द राईको सहायक भई 'उकाली ओराली' र 'मनको राजा' चलचित्रमा सहायक कोरियोग्राफरको काम पनि गरे। मोहन निरौलाको 'परिवर्तन नेपाल' पुगे। 'द कलेक्सन' टेलिभिजन कार्यक्रम मार्फत म्युजिक भिडियो निर्देशन गरे। रातो भाले र हाम्रै कथा टेलिश्रृंखलामा अनुहार देखाए। “तर, म त्यहाँ खुशी थिइनँ, अल्मलिएको मात्र थिएँ”, उनी सम्झन्छन्।
परिवर्तन नेपालमै भेटिएका विजय विस्फोटले सुझाए, “अनुप बरालसँग नाटक सिक्न जाऊ।” तर, १५ हजार रुपैयाँ शुल्कले उनको सातो लियो। गुरुकुलले २०६४ सालमा गरेको राष्ट्रिय नाटक महोत्सवमा आफ्नै निर्देशनमा 'प्रेतका पिताहरु' लिएर पुगे।
“अनुप बरालको नाटक खेल्छौ?” २०६४ सालकै एक साँझ रंगकर्मी राजन उप्रेतीले सोधे। बराल 'टलकजंग भर्सेज टुल्के' नाटकको तयारीमा रहेछन्। कतै त अटाइएला भन्ने आश साँचेका आशान्त अडिसनपछि मुख्य भूमिकामै छानिए। “३४ वर्षको उमेरमा पहिलोपटक मलाई काम गर्ने ठाउँमा आइपुगे जस्तो लाग्यो”, उनी भन्छन्।
त्यसयता आशान्त अभिनयको अनवरत यात्रामा छन्। उनले नेपाली र अंग्रेजी गरी डेढ दर्जनभन्दा बढी नाटकमा अभिनय गरे। अंग्रेजी र हिन्दी साहित्यबाट नेपालीमा नाट्यरुपान्तर गर्ने काममा पनि खटिए। निर्मल बर्माका कथाबाट 'तीन एकान्त' नाटक अनुवाद गर्ने पनि उनै हुन्। नाटक निर्देशन पनि गरे। १० वटा चलचित्रमा पनि खेले। नाटक र नृत्यको प्रशिक्षक पनि भए।
आशान्तलाई आफ्नै जीवन पनि रंगमञ्चभन्दा कम रहस्यपूर्ण लाग्दैन। “संघर्ष सम्झँदा मान्छे ज्ञात अज्ञातमा बाँच्ने रहेछ जस्तो लाग्छ”, दार्शनिक भावमा उनी भन्छन्।
शब्दकोशमा 'आशान्त' नामको अर्थ भेटिंदैन। नाम त उनको कृष्णप्रसाद पंगेनी शर्मा थियो, भगवानको नाम। तर, यो नाममा उनले कहिल्यै 'स्व' भेटेनन्। त्यसैले २० वर्षको उमेरमा आफ्नो न्वारान आफैं गरे, आशान्त अर्थात् आशा अन्त्यसम्म।
रविन गिरी