१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

भोटको विवरण

Share:
  
- ज्ञानमणि नेपाल
भोटसँग लड्नैपर्ने भएपछि काठमाडौंस्थित अंग्रेज रेजिडेन्टले भोटका जानकार नेपाली कर्णेल महावीरसिंह र कप्तान अष्टमानसिंहबाट रिट्ठो नबिराई त्यहाँको जानकारी लिए।

ल्हासामा इष्ट इण्डिया कम्पनीको वाणिज्य प्रतिनिधि राख्न वायसराय लर्ड कर्जनले नाथुला घाटीबाट पठाएको कर्णेल यङ्गहज्वेन्ड नेतृत्वको 'भोट अभियान दल' लाई भोट सरकारले खामाजुङ्गमै रोकिदिएपछि युद्धको स्थिति आयो। युद्ध टार्न चन्द्रशमशेरले भोटका चार काजीलाई निकै सम्झ्-ाए, तर उनीहरू टसमस भएनन्। अघि जर्नेल भीमसेन थापाले अंग्रेजहरूको सामरिक शक्ति आकलन नगरी युद्धमा होमिंदा हार खाएर सुगौली सन्धिमा जकडिनु परेको थियो। बाहिरी दुनियाँसँग बिल्कुलै अलग्गिएर रहेको भोटका शासकहरूले पनि फिरङ्गीलाई हेलैले ठेल्छौं भनेर युद्धको तयारी थाले।

कम्पनी सरकारले अघि पृथ्वीनारायण शाहकै पालाबाट नेपाल भएर भोट बेपार गर्न चाहेको थियो। तर, त्यो प्रयत्न असफल भएकाले भोटाङ–सुखीम आफ्नो संरक्षित राज भएपछि अंग्रेजहरू नाथुला भञ्ज्याङ्गबाट खामाजुङ्ग–दिगर्चाहुँदै ल्हासा पुग्न खोजेका थिए। त्यसवेला भोटमा बत्तीसकोठीका बेपार मुसलमान, सन्न्यासी बेपारीहरूले मात्र गर्न पाउँथे, अरूले लगेको, बेचेको माल अवैध मानिन्थ्यो। सस्तो पर्ने हुँदा चोरी–छिपी पुर्‍याइएको मालसामान चल्तीफिर्ती हुन लागेको थियो। नेपालका केही नेवार बेपारीले पनि कलकत्ता–सुखीम–ल्हासा बेपार थालेका थिए। त्यसलाई वैध पार्न सं. १९४७ को चीन–अंग्रेज सन्धिमा ल्हासामा एक बेपारी प्रतिनिधि राख्ने दफा राखिएको थियो। भोटले नमाने पनि ल्हासास्थित चिनियाँ प्रतिनिधिले लागू गराइदिन सक्छन् भन्ने सोचिएको हुँदो हो।

तर, भोटेहरूले आफूलाई नपुछी गरेको त्यो सम्झौता नमानेपछि कम्पनी सरकारले कर्णेल यङ्गहज्वेन्ड अभियान चलाएको थियो– आफ्नै संरक्षित राज्यको सीमा नाका प्रयोग गरेर। अहिले भने भारत र चीनले आपसी व्यापार विस्तारको लागि नेपालको लिपुलेक नाका प्रयोग गर्ने सम्झौता गरेका छन्, नेपाल सरकारलाई पुछ्तैनपुछी। भोटले यङ्गहज्वेन्डको टोलीलाई खामाजुङ्गमै रोकेर भिड्ने तयारी थालेपछि अंग्रेजहरूलाई सैन्य अभियान चलाउन कर लाग्यो।

त्यसका लागि कताबाट सेना पठाउन सजिलो हुन्छ, रसदपानीको जोहो कसरी गर्ने, भोटको गतिविधि के–कस्तो छ आदि कुरा बुझन कम्पनी सरकारले काठमाडौंस्थित रेजिडेन्टलाई अह्रायो। रेजिडेन्टले श्री ३ महाराजलाई भनेपछि कप्तान अष्टमानसिंह मार्फत भोट बुझेका कर्णेल महावीरसिंहबाट यावत् ताक–बात बुझन थाले। कर्णेलले जानेबुझेसम्म सबै कुरा रिट्ठो नबिराई बेलीविस्तार लगाए। तलको संवाद सं. १९६० (ई. १९०३ अगस्त २७ देखि सेप्टेम्बर १३ सम्म कप्तान अष्टमानसँग र सेप्टेम्बर १४–१५) मा कर्णेल महावीरसँग भएका हुन्।
कप्तान र कर्णेलले भोट जान दोर्जेलिङ्गसम्म रेल गएकोले सो बाटो सोझो पर्ने, खामाजुङ्गबाट १३ बासमा ल्हासा पुगिने, भोटमा रसदपानी, दाउरा पाउन गाह्रो हुने, झिक्रा, बड्कुला, गुइँठा बाल्नुपर्ने लगायतका सूचना दिएका छन्। भोटमा चारहजार सिपाही रहेको र भोटेहरू कुनै पनि काम छिटो नगरी लौ–लौ भन्दै महीनौं कुराइदिनेदेखि खुलेर नबोल्ने, लडाइँका लागि ६० वर्षसम्मका सबैलाई जम्मा गर्दै गरेको, सुन, नून, नीर र यूँका खानी रहेको, धेरै सुन भेटिए देउता रिसाए भन्दै खानी नै बन्द गरिदिने, चिनियाँलाई मान्दैनौं, स्वीकार्दैनौं भन्ने तर परेको वेला चिनियाँ अम्बालाई नसोधी केही नगर्नेसम्मका सूचना संवादमा छन्। चतुर रेजिडेन्टले कर्णेल महावीरलाई एउटा लोभ्याउने कुरा गरेका छन्– आफूहरूले जितेको भोटको एक टुक्रा जग्गा दिने भनेर। त्यो अवस्थामा 'कहाँनेर रोज्छौ' भनेर सोधिंदा कर्णेलले उब्जाउ जमीन रहेको केरुङ्गको झुगा नेपालले एक पटक जितेको तर त्यहाँ धेरै सैनिक पालिराख्नुपर्ने भएकोले भोटेहरूलाई नै फर्काइदिएको भनेर सो जग्गा चाहेको संकेत गरेका थिए।


कर्णेल–रेजिडेन्ट संवाद

(ई.सं. १९०२.१४ सेप्टेम्बर, मण्डे)

रेजिडेन्टः ल्हासामा खानि के–के पाइन्छ.

कर्णेलः ३।४ ठाउं सुन्को खानी छ यू.नीर. नुन्को खानी पनि छ. तर इ भोटेहरू कस्ता अनौठा छन् भने कहि सूनको खानी पाउंदा कहि डल्ला सून पाइन्छ कहि पुकी सुन पाइन्छ. धेरै पाइयो भने द्यौता नाराज भयो भनि त्यो खानी बन्द गरिदिन्छन््. त्यस ठाउँमा कसैले आवाद पनि नगर्नु भनि उर्दी दिन्छन्. नून खानी उत्तरतिर छ. भोटेहरूले यस्तो बन्दोबस्त गरेका छन्. कि तहां अरु मानिस जान पाउदैनन्. माहाजनहरूलाई नुन चाहिएमा तहिको गाउंलेहरूले आफ्नु अड्डा अड्डा सम्म ५।७ वास पुर्‍याइ दिसकेपछि मात्र महाजनले लिन पाउंछन्. आफै खानीमा गै बन्दोबस्त गरि ल्याउन पाउंदैन. तहा एउटा लेक छ तहाँको पानी उम्ली माथि फाल्छन र नून जमी उठाई ल्याउंछन्. पाहाडको खानीबाट झिकी ल्याउने होइन.

रे. राजपुतानामा सांभर लेकबाट ल्याये (झैं) नुन ल्याउने रहेछन्. हिउंदोमा ल्हासा जाने बाटो हिउंले बन्द रहन्छ कि.

क. बाटोको दाहिना वाया बन्द रहे तापनि बाटो खुला रहन्छ अरु वखतमा भन्दा हिउंदोमा ज्यादा मानिसको आवत जावत हुन्छ. जस्तै नेपालमा हिउंदो ज्यादा मानिस आवत जावत गर्छन्. तेस्तै ल्हासामा पनि हिउदोमा ज्यादा हिड्छन्.

रे. महाराजाबाट हिउंदोमा बरफले बाटो बन्द रहन्छ भनि भन्नु भो किन?

क.कैलेकाहिं ज्यादा हिउं परेमा त विलकुल बन्द रहन्छ हो.

रे.कस्तो बाटो हुन्छ गाढा जान सक्छ कि.

क.गाढा चल्दैन घोडा चवरीसम्म जान सक्ने बाटो हुन्छ.

रे.माहाराजबाट १६ हजार चौरीसम्म जम्मा हुन सक्छ भन्नु भो ति चौरीहरू कहां रहन्छ.

क.भैरवलंगुर पहाडको आसपासमा रहन्छ. हिउं नभएको ठाउं वहां त रहदैन.

रे.म इन्डिया गभर्मेन्ट भयेर कर्णेल महावीर तिमीलाई दिबेटको १ टुक्रा मुलुक दिन खोजें भने कुन टुक्रा पसन्द गर्लाउ.

क.झुंगा मुलुक हाम्रो दखलमा थियो वेपार नुन्को ज्यादा चल्थ्यो भने आम्दानी खुब हुने उबजनी गहुं जौ मात्र हुने फौज पाल्नुपर्ने हुनाले वर्ष दिनपछि भोटेलाई नै झुगा फर्काइ दिये.

रे.भोटेले तिमीहरूलाई १०,००० रुपया सालिन्दा कर दिन्छ. रुपया दिन्छ कि अरु केही माल दिन्छ.

क.कर नेपाली रुपया साटी दिन्छन्. उनीहरूको रुपयालाई हामी काला मोहर भन्छौ अंदाजी ३ मोहरको १ कंपनि रुपयां हुन्छ. ति काला मोहरमा ज्यादा मिसावट हुन्छ. तिमिहरू कम्पनी रुपयां पसन्द गछौं किन भने मिसावट नहुनाले तिमीहरूले निको मनेका हौ तिमीहरू पनि मिसावट नगरी रुपया किन बनाउंदैनौ भनि भोटेलाई भन्दा चोखा चांदीको रुपया बनाये भने गहना बनाउनालाई गाली दिने हुनाले यस्तै रहन दियेको हो भनि भोटेले जवाव दिये.

रे.भोटेका फौज कति छन् कस्तो हतियार छ.

क. ४००० फौज छन्. ६ महिना काम गर्छन. ६ महिना घर बस्छन् इनिहरूको हतियार पत्थरकाला धनुकांढ औ तरबार हुन् बन्दुकलाई धनुकाढ तरबारलाई निशान राखिदियेको हुन्छ र हतियारहरू सबै भिरी घोडा चढी दौडाई पहिले बन्दुकले तार हान्छन्. बन्दुक काधमा झुण्ड्याई धनुकांढेले हान्छन् पछि तरबारले काट्छन् तेसो गर्दा घोडाबाट कोही लडे भने बहुत हसीगिला गर्छन. रे.भोटेको मिजास कस्तो हुन्छ. घर कस्तो हुन्छ.

क.उनीहरूको मिजास बहुत सुस्त हुन्छ. केही तिनिहरूसंग काम पर्‍यो भन्यो लौ लौ मै बिताइदिन्छन. चांडो केही हुन सक्तैन उनीहरूको घर २।३ तले मुंडा छाना नभएको हुन्छ. हिउंदोमा बरफ पर्दा माथि कौसीमा मानिस राख्नुपर्छ वरफ परिभारी भो भने वजनले भत्कने हुनाले वराबर हिउ फाली रहनु पर्छ.

रे.भोटेहरू चिनियालाई मान्दैनन् क्यारे होइन.

क.बाहिरबाट चिनियालाई नटेढेझै गर्छन. तर केही परिआएमा उनीहरूको सलाह वेगर केही काम गर्दैनन्.

रे.रुस्का मानिसहरू ताहा छन्. कि.

क.पैले थियेन. तर मंगोलियन तहा देखिन्छन् ति अग्ला हुन्छन्.

रे.सं. १९४७ मा टिबेटमा बेपारको बाटो खुलाउने चीनको अंग्रेज सरकारको घा भयेको थियो. तेही कुरा गर्नलाई अंग्रेज सरकारबाट कर्णेल यङ्ग हजवेन्ड गए. भोटेहरू मुक्तार पठाउदैनन् जो अघि घा भयो. चीनसंग यो हामीहरूको सल्लाह नलि चीनले गरेको काम हामी मंजुर गर्दैनौं खामाजुंमा नवस जाउ भनि भोटेहरू बराबर भन्न लागिरहेछन् अब कर्णेल महावीर तिमी भोट फेरी जान्छौ. क. म सरकारको नोकर हुं. सरकारबाट पठाइ बक्सेको ठाउंमा जानुपर्छ खटाइदिये तयार छु.

रे.यो नक्सा मलाई दिन्छौ कि.

क.महाराजसंग विन्ति चढाएर पठाई दिउंला

कर्णेल गएपछि

कप्तान. महाराजबाट तपाईलाई सलाम बोली के भन्नु भनि अह्राउनु भएको छ भने देहरादुनबाट जेनरल खड्गशमशेरले यौटा चिठी पठायेेको छ. देहरादुनमा कोही घर वा जगाहरू सरकारले मंजुरी नभै नकिन्नु भन्ने खबर दिये.

महाराजबाट बृटिश सरकारसंग भनि यही बस्न पाउने गरी बन्दोबस्त गरिदिनु भये हुदो हो भनी लेखी पठाये तर इंडीया गभरमेन्टको यस्मा के मतलब छ. महाराजलाई केही थाहा छैन मेहरबानी गर्नु भै तपायीले गभर्मेटंको राय दिनु भये चिठीको जवाव लेख्नालाई सहल हुने थियो.

रे.त्यस विषयमा मलाई केही लेखिएर आएको छ केही इन्फर्मेशन अर्को मगाएको छु. २।३ दिनमा आउंछ म महाराजसँग मुलाकात गरि सबै कुरा भन्नेछु मैले कुरा नगरी त्यो चिठीको जवाफ पठाउनु पर्दैन भनि विन्ति चढाइ दिनु

कप्तान.पर्सि बुधबार २ बजे रिभ्यु हुनेछ तपायींहरू मेम साहेबहरू जानुहुन्छ की रे.हुन्छ खुशीसाथ जानेछु.

कप्तान. विफरको एक केश रेजिडेन्सीनिर रहेछ. मलाई थाहा थियेन. वाहाबाट टाढा हटाइदिउंला.

(१५ सेप्टे. ट्युज्डे)

रे.त्यो बिफर आएको केटा रहेछ कि.

कप्तान. मैले हेर्न पठाउंदा तहां रहेनछ. सोध्दा यहांको विफरको बालक इष्टमित्रका देखाउनालाई मात्र ल्याएको यहांको होइन भनि जवाफ दियो. माथि छ कि भनी खोज्दा पनि कहि रहेनछ रेजीडेन्सीनिरबाट हटाइसकेको हुनाले केही फिक्री गर्नु हुनपर्दैन. यो नक्सा महाराजबाट तपायीलाई पठाई बक्सेको छ. लिनुहोला.

रे.थांक मेरो नक्सा पनि माग्नु भएको छ कि.

कप्तान.तपाईबाट मेहरवानी गर्नु भये महाराज खुशी भै बक्सनेछ

रे.कर्णेल महावीर मजाको मानिस रहेछ. भोटको बयान खुब मजासंग भने खामाजुंबाट ल्हासा कति दिनको बाटो भनि भनेथ्यो.

क.१३ वासको बाटो भनि भनेको हो.

comments powered by Disqus

रमझम