निर्यातको सम्भावना

Share:
  
- रमेश कुमार
सिमेन्टको स्रोतमा नेपाल यति धनी छ, लगानीमैत्री नीति र काम गर्ने वातावरण भए एक दशकमा निर्यात गर्ने अवस्थामा पुग्न सकिन्छ।

p42

शहरीकरण र विभिन्न विकास गतिविधिका कारण नेपालमा सिमेन्टको बजार वार्षिक १० प्रतिशतले बढिरहेको छ। परम्परागत निर्माण शैली बदलिएकोले ग्रामीण क्षेत्रमा समेत सिमेन्टको माग बढेको छ। त्यही कारण, धेरै उत्पादनमूलक उद्योगहरू सुस्ताएको बेला पनि व्यवसायीहरू सिमेन्ट उद्योगमा लगानी गर्न उत्सुक छन्। त्यसका लागि खाली लगानीमैत्री सरकारी नीति र काम गर्ने वातावरण चाहिएको जगदम्बा सिमेन्टका प्रबन्ध निर्देशक तथा नेपाल सिमेन्ट उत्पादक संघका महासचिव विष्णु न्यौपाने बताउँछन्।

नेपालमा चुनढुंगा, रातोमाटो, कोइलाको धूलो आदिको पर्याप्त भण्डार भएकोले उद्यमीहरूले सिमेन्ट उत्पादनको ठूलो सम्भावनालाई बुझ्ेका छन्। नेपालमा अहिले खपत हुने वार्षिक ३३ लाख मेटि्रक टन सिमेन्टमध्ये ३० देखि ४० प्रतिशत भारतीय उत्पादन रहेको तथ्यले पनि सिमेन्ट उद्योगको व्यापक सम्भावना देखाउँछ। केही वर्षअघिसम्म भारतीय सिमेन्टमा भर परेको नेपाल आफैं अहिले स्थानीय मागको ६० देखि ७० प्रतिशत धान्ने अवस्थामा आएको हो।


नेपाल राष्ट्र ब्याङ्कको एक अध्ययनले नेपाली सिमेन्ट उद्योगहरूको कुल क्षमतामध्ये करीब ६० प्रतिशत मात्र उपयोग भइरहेको देखाएकोले उत्पादन बढाउन सक्ने सम्भावना पनि त्यत्तिकै छ। नेपाली सिमेन्टका लागि अनुकूलता कतिसम्म छ भने विशाल आवादी भएको भारतको पश्चिम बङ्गाल, उत्तरप्रदेश र बिहारमा कम सिमेन्ट उद्योगहरू छन्, तर निर्माण गतिविधि तीव्र रूपमा भइरहेको छ।

नेपाल सिमेन्ट तथा क्लिंकर उत्पादक संघका अध्यक्ष पुरुषोत्तम संघाईका अनुसार, नेपालमा वार्षिक करीब रु.४० अर्बको ६–७ करोड बोरा सिमेन्ट खपत हुन्छ। यसको ६० प्रतिशत स्वदेशमै उत्पादन हुने भए पनि ७५ प्रतिशत कच्चा पदार्थ भारतबाट आउँछ, नेपालकै चुनढुंगाबाट बन्ने सिमेन्टको हिस्सा २५ प्रतिशत मात्र छ। भारत र अन्य देशका सिमेन्ट र क्लिंकरमा नेपालले वार्षिक रु.२० अर्ब खर्च गर्ने गरेको छ। धेरै सिमेन्ट, आयातीत क्लिंकरबाट बन्दा मूल्य अभिवृद्धि (भ्यालु एडिसन) कम भएर देशलाई कम लाभ भइरहेको छ। अहिले भारतबाट मात्र वार्षिक करीब रु.८ अर्बको सिमेन्ट र त्यति नै रकमको क्लिंकर आयात भइरहेको छ। चोरी पैठारीको सिमेन्टको पाटो बेग्लै छ।

अथाह भण्डार
नेपालका साना–ठूला ३७ सिमेन्ट उद्योगमध्ये सात वटाले आफैं चुनढुंगा उत्खनन् गरी क्लिंकर बनाउने र सिमेन्ट उत्पादन गर्ने गरेका छन्। यसले नेपालका उद्योगहरूले स्वदेशी कच्चा पदार्थको व्यावसायिक उपयोग गर्न नसकेको र आफूसँग भएको स्रोतका लागि पनि परनिर्भर हुनुपरेको देखाउँछ। खानी तथा भूगर्भ विभागका वरिष्ठ इन्जिनियर कृष्णदेव झ्ाका अनुसार नेपालको मध्यपहाडी क्षेत्रमा मात्र देशलाई एक शताब्दीसम्म आफ्नो खपतसँगै निर्यातका लागि समेत सिमेन्ट उत्पादन गर्न पुग्ने १ अर्ब ७ करोड टन चुनढुंगाको भण्डार छ। सिमेन्ट तथा क्लिंकर उत्पादक संघका अध्यक्ष संघाई भने यी दुई पदार्थमा भारतमाथिको निर्भरता हटाउन समय लाग्ने बताउँछन्।
नेपालको चुनढुंगाबाट उत्पादित सिमेन्ट गुणस्तर, तौल र मूल्य सबै हिसाबले राम्रो मानिन्छ। सिमेन्ट चाँडो प्रयोग गर्न पाए गुणस्तर नबिग्रिने हुनाले पनि उत्पादन हुनासाथ बजारमा पुग्नसक्ने स्वदेशी सिमेन्टले ग्राहकलाई बढी फाइदा दिन्छ। भारतबाट आयात गर्दा बाटोमै धूलो झ्रेर तौल घटेको र ढुवानी तथा भण्डारणको क्रममा गुणस्तर क्रमशः ह्रास हुँदै गएको हुन्छ।

p43
हेटौंडा सिमेन्ट कारखाना। 

निकट भविष्यमै एक दर्जन सिमेन्ट उद्योग थपिंदैछन्। नेपाल सिमेन्ट उत्पादक संघका उपाध्यक्ष धुव्र थापाका अनुसार दाङमा घोराही र सोनापुर, धनकुटामा निगाले, भैरहवामा विशाल, धादिङमा युनाइटेड, पाल्पा र नवलपरासीमा सीजी र रोल्पामा रोल्पा सिमेन्टले उत्पादन तयारी थालेका छन् भने ३० वटा कम्पनीलेे चुनढुंगा उत्खनन् र १८० कम्पनीले अन्वेषण अनुमति लिएका छन्। उद्योगहरूको यो ओइरोलाई कतिपयले अस्वाभाविक प्रतिस्पर्धा पनि भन्ने गरेका छन्, तर स्थानीय मागको वृद्धि र निर्यातको समेत सम्भावनालाई हेर्दा यसलाई स्वाभाविक मान्नुपर्ने कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रबलजङ्ग पाण्डेको भनाइ छ।

नेपालमा भारतबाट कच्चा पदार्थ ल्याएर सिमेन्ट उत्पादन गर्ने र आफैंले चुनढुंगा खनेर सिमेन्ट बनाउने उद्योगहरूमा रु.३५ अर्ब हाराहारीको स्थिर लगानी भएको अनुमान छ। भारतबाट क्लिंकर ल्याएर स्वदेशमा सिमेन्ट बनाउने साढे दुई दर्जन उद्योगमा औसत रु.३० करोडका दरले रु.९ अर्बको स्थिर लगानी भएको छ। आफैं क्लिंकर उत्पादन गर्ने उद्योगमा भने प्रविधि हेरी रु.१ अर्बदेखि रु.७ अर्ब लगानी हुने सिमेन्ट तथा क्लिंकर उत्पादक संघका अध्यक्ष संघाई बताउँछन्।

सरकारबाट संचालित हेटौंडा र उदयपुर सिमेन्ट उद्योगका अतिरिक्त शिवम्, अर्घाखाँची, मारुती, केपी, बुटवल र रिलायन्सले आफैं कच्चा पदार्थ खनेर सिमेन्ट बनाउँछन्। रोटरी प्लान्ट जडान गरिएका शिवम्, मारुती, अर्घाखाँची जस्ता सिमेन्ट उद्योगको लगानी रु.३ अर्बभन्दा माथि छभने भर्टिकल साफ्ट क्लिन प्रविधि भएका केपी, रिलायन्स जस्ता उद्योगमा रु.१ अर्बभन्दा बढी लगानी छ। स्वदेशी उद्योगहरूले विभिन्न ब्राण्डमा ओपीसी (अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट) र पीपीसी (पोर्टल्याण्ड पोज्योल्याना सिमेन्ट) उत्पादन गरिरहेका छन्। सञ्चालनमा रहेका ३७ सिमेन्ट उद्योगमा सरदर २०० जनाका दरले ७४०० ले रोजगारी पाएका छन्। यी उद्योगले वार्षिक रु.१० अर्ब राजस्व तिर्छन्। सिमेन्ट उत्पादनमा पछिल्ला वर्षहरूमा नेपालले फड्को मारे पनि गुणस्तरमा भने उत्ति ध्यान नपुगेको कतिपय बताउँछन्। शिवम् सिमेन्टका अध्यक्ष सुरेन्द्र गोयल भन्छन्, “जलविद्युत् लगायतका पूर्वाधारलाई आवश्यक गुणस्तरीय सिमेन्ट अझै उत्पादन हुनसकेको छैन।” उनी ओपीसीका नाममा कतिपय उद्योगले पीपीसी सिमेन्ट बेचिरहेको समेत बताउँछन्।

p44
तस्बीर: ऋषिराम कट्टेल

सम्भावना प्रशस्त भए पनि सडक, विद्युत् जस्ता पूर्वाधार र लगानीको अभाव, राजनीतिक अस्थिरता तथा कतिपय स्थानमा स्थानीयको अवरोधले नेपाली सिमेन्टले अपेक्षित फड्को मार्न सकेको छैन। पूर्वाधार र अन्य अनपेक्षित खर्चको कारण उद्योगहरूको लागत बढी छ। चुनढुंगा उत्खनन् गर्नेहरूले सडक निर्माणमा करोडौं रुपैयाँ खर्च गर्नुपरेको छ। नेपालमा स्थापित सिमेन्ट उद्योगहरूलाई पूर्ण क्षमतामा चलाउन सबैभन्दा ठूलो समस्या विद्युत्को अभाव छ। डिजेल प्लान्टबाट सिमेन्ट उत्पादन गर्दा प्रतिबोरा रु.४२ लागत बढ्ने उद्योगीहरू बताउँछन्। सरकारले आर्थिक वर्ष २०६८/६९ मा विद्युत् र सडक पूर्वाधारका लागि रु.२ अर्ब ७४ करोड बजेट छुट्याए पनि त्यसको आधा काम पनि हुनसकेन, सरकारी ठेक्काको झ्न्झ्टिलो प्रक्रिया र प्रशासनिक सुस्तताले गर्दा बजेट फ्रिज भएको छ।

सिमेन्ट उत्पादक संघका उपाध्यक्ष ध्रुव थापा ढुवानीमा पनि धेरै समस्या देख्छन्। उनका अनुसार, ट्रक व्यवसायीहरूको मिलेमतोले गर्दा तराईबाट काठमाडौंमा सिमेन्ट ल्याउँदा ढुवानी खर्च प्रतिबोरा रु.१५० सम्म पर्न थालेको छ। क्लिंकर आयातमा प्रत्येक वर्ष भन्सार महसुल वृद्धि, पूर्वाधार निर्माण लागत र ढुवानी खर्चले नेपालमा सिमेन्टको मूल्य संसारकै महँगो हुनपुगेको छ। “राजनीतिक अस्थिरता, असुरक्षा, स्थानीय दबाब, पूँजीको सीमितता आदिका कारण सिमेन्टमा अपेक्षित परिणाम निकाल्न सकिएको छैन”, थापा भन्छन्, “राज्यले उद्योगलाई प्रश्रय दिने नीति नलिएसम्म सिमेन्ट उद्योगले अपेक्षित फड्को मार्न सक्दैन।”


 

औद्योगिक घराना र विदेशीको चासो

पछिल्ला वर्षहरूमा हाउजिङ, अपार्टमेन्ट, जलविद्युत्लगायतका आयोजनाको निर्माण बढेपछि नेपालका ठूला व्यावसायिक घरानाहरू सिमेन्ट उत्पादनमा आकर्षित भएका छन्। चौधरी समूहले सीजी सिमेन्टको ब्राण्डमा नवलपरासी र पाल्पामा उद्योग खोल्दैछ। गोल्छा समूहले उदयपुरको कटारीमा चुनढुंगा खानी उत्खनन् अनुमति लिएको छ। केएल दुगड समूहले धादिङमा आफैं चुनढुंगा उत्खनन् गरेर युनाइटेड ब्राण्डको सिमेन्ट बजारमा ल्याउन लागेको छ। त्रिवेणी समूहले पनि घोराही सिमेन्टको उत्पादन तयारी गरेको छ। तायल समूहले दाङ र धनकुटामा उद्योग स्थापना गरिरहेको छ।

भारतबाट क्लिंकर ल्याएर सिमेन्ट उत्पादन गरिरहेका उद्योगीहरू पनि नेपालमै चुनढुंगा खानीमा लगानी गर्न थालेका छन्। विभिन्न ब्राण्डमा सिमेन्ट उत्पादन गरिरहेको सौरभ समूहले चुनढुंगा उत्खनन् गर्ने उद्योग स्थापनाको तयारी थालेको छ। कसमस सिमेन्टले पनि उदयपुरमा चुनढुंगा खनेर जनकपुरमा क्लिंकर उत्पादन गर्ने उद्योग स्थापना गर्न लागेको छ।
स्वदेशी घराना मात्रै होइन, विदेशीले पनि नेपाली सिमेन्ट उद्योगमा चासो देखाएका छन्। नेपाली सिमेन्टको सम्भावनाले विदेशी लगानी पनि आकर्षित गरिरहेको छ। सीजी सिमेन्टमा सिंगापुर र ब्रुनाईका दुई कम्पनीले करीब रु.४ अर्ब लगानी गर्दैछन्। स्वीस कम्पनी होल्किमको शेयर रहेको भारतको अम्बुजा सिमेन्टले दाङ सिमेन्टको ८० प्रतिशत शेयर किनेको छ।

मूल्य र गुणस्तर स्वदेशकै राम्रो

नयाँ बजार खोज्नुपर्छ
पशुपति मुरारका
प्रबन्ध निर्देशक, सुप्रिम सिमेन्ट

सिमेन्ट र क्लिंकर दुवैमा नेपाल आत्मनिर्भरताको बाटोमा गइसकेको छ। बरु, आपूर्ति अनुसारको माग बढाउन बजार विस्तार गर्नुपर्छ। सिमेन्ट उद्योग र त्यसलाई चाहिने कच्चा पदार्थ नभएका भारतका पश्चिम बंगाल, बिहार, उत्तरप्रदेशलगायतका क्षेत्र नेपाली सिमेन्टको विशाल बजार हुनसक्छन्। ठूलो बजारका लागि सानो तयारीले पुग्दैन। विद्युत्, सडकलगायतका पूर्वाधार र सरकारी प्रोत्साहन यसका आधारभूत शर्त हुन्। अहिले नेपालमा विदेशी सहायताका ठूला आयोजनाहरूले ड्युटी फ्रि भारतीय सिमेन्ट भित्र्याइरहेका छन्। अब नेपाली सिमेन्टले प्रोत्साहन पाउनुपर्छ।

स्वदेशी नै राम्रो गुणस्तर
सुरेन्द्र गोयल,
अध्यक्ष, शिवम् सिमेन्ट

उत्पादन लागत र गुणस्तर दुवै फाइदाजनक भएकाले नेपाली सिमेन्टमा उत्साहजनक लगानी भएको छ। अब सरकारले नेपाली सिमेन्टको ग्रेड मापदण्ड निर्धारणमा जाँगर देखाउनुपर्छ। नेपालमा अझ्ै पनि जलविद्युत् लगायत ठूला परियोजनालाई आवश्यक पर्ने कम 'अल्काई' भएको सिमेन्ट उत्पादन हुनसकेको छैन। पानीभित्र रहने संरचनाहरूलाई चाहिने यस्तो सिमेन्ट पहिलो पटक शिवम् ले उत्पादन गर्दैछ। धेरैले नेपाली सिमेन्ट भारतमा निर्यात गर्ने भन्छन्, तर उत्पादन लागत, ढुवानी मूल्य आदि कारणले मचाहिं त्यो सम्भावना देख्दिनँ। फेरि भारतमा अहिले नै मागका तुलनामा सिमेन्ट आपूर्ति बढी छ।

सरकारी सहयोग भएन
आत्माराम मुरारका
अध्यक्ष, नेपाल सिमेन्ट उत्पादक संघ

विकासका लागि सिमेन्ट आधारभूत सामग्री भएकाले नेपालमा यसको बजार यति छ भनेर सीमाबद्ध गर्न सकिंदैन। यसमा सरकारले निजी क्षेत्रको योगदानको कदर गर्नुपर्छ। तर, पछिल्ला वर्षहरूमा राज्यविहीनताको स्थिति सिर्जना हुँदा विभिन्न समूहले लगानीकर्ताहरूलाई निरुत्साहित बनाइरहेका छन्। हामीलाई औद्योगिकरणका लागि सरकारी अठोट चाहिएको छ।

निर्यातको सम्भावना छ
प्रबलजङ्ग पाण्डे
कार्यकारी निर्देशक, कसमस सिमेन्ट प्रालि

नेपालमा घरेलु उत्पादनले नै सिमेन्टको माग धान्ने अवस्था आए पनि क्लिंकरमा अझ्ै लगानी चाहिएको छ। हामी करीब रु.१ अर्ब २० करोडको लगानीमा क्लिंकर उत्पादनको तयारी गर्दैछौं। सरकारले सिमेन्ट उत्पादनलाई प्रोत्साहन गर्ने हो भने यो क्षेत्र नेपालको निर्यातमुखी उद्योग बन्नेछ। वार्षिक ६.७ मिलियन टन सिमेन्टको माग हुन थालेको भारतको बिहारमा ०.७ टनमात्र उत्पादन हुन्छ। १८ मिलियन टन माग हुने उत्तर प्रदेशमा ७ मिलियन टन र ७ मिलियन टन सिमेन्टको माग हुने पश्चिम बंगालमा ३.३ मिलियन टन मात्र उत्पादन हुन्छ। सरकारको तर्फबाट सहज विद्युत् आपूर्ति, खानीसम्म सडक विस्तार र अन्य जटिलताहरू सहज भए हामी भारतको त्यो बजार लिन सक्छौं।

भन्सार दर समस्या
हरि न्यौपाने
अध्यक्ष तथा प्रबन्ध निर्देशक, अम्बे सिमेन्ट

स्वदेशमै पर्याप्त क्लिंकर उत्पादन नहुँदा नेपालका अधिकांश सिमेन्ट उद्योग कच्चा पदार्थमा अझ्ै भारत निर्भर छन्। सरकार भने भारतबाट आयात हुने क्लिंकरमा स्वदेशी उद्योगलाई प्रोत्साहन गर्ने बहानामा धान्नै नसक्ने भन्सार महसुल लिइरहेको छ। यसको मार उपभोक्तालाई पर्ने हो। स्वदेशी क्लिंकरलाई प्रोत्साहन राम्रो कुरा हो, तर पर्याप्त उत्पादन नहुन्जेल आयातलाई पनि महँगो बनाउनुहुँदैनथ्यो। यो अवस्थामा सरकारले विद्युत् र श्रम समस्या पनि समाधान नगरे सिमेन्ट उद्योग पनि बर्बादीतिर जान सक्छ।

गुणस्तरीय उत्पादनमा सक्षम
पुरुषोत्तम संघाई
अध्यक्ष, घोराही सिमेन्ट/विश्वकर्मा सिमेन्ट

केही वर्षअघिसम्म भारतीय सिमेन्टमा निर्भर नेपालले आत्मनिर्भरताको बाटो समातिसकेको छ। यो क्षेत्रमा अहिले करीब रु.४० अर्ब लगानी भइसकेको छ। नेपालका सिमेन्ट उद्योगहरू गुणस्तरीय उत्पादनका लागि प्राविधिक रूपमा पनि सक्षम छन्। तर, विद्युत्, सडक लगायतका पूर्वाधार र ढुवानीमा सिण्डिकेट जस्ता समस्याहरूले नेपाली सिमेन्टको प्रतिस्पर्धी क्षमतालाई कमजोर बनाइरहेको छ। यी समस्यामा सरकारले ध्यान दियो भने उपभोक्ताले सस्तोमा गुणस्तरीय नेपाली सिमेन्ट प्रयोग गर्न सक्ने अवस्था छ। अहिले क्लिंकरको कच्चा पदार्थ चुनढुंगा खानीको व्यापार खोलामा झ्ोला बोक्ने र जलविद्युत् उत्पादनमा अवरोध गर्ने जस्तै बेथितिले गाँजिएको छ। यो अवस्थालाई सरकारले चासो दिए नेपाली व्यवसायीले क्लिंकर तथा सिमेन्ट उत्पादनमा छिट्टै नै आत्मनिर्भरता हासिल गर्न सक्नेछन्।

बजार प्रतिस्पर्धी हुँदैछ
निरज सिंह, सुरेश जैसवाल
मार्केटिङ म्यानेजर, वृज सिमेन्ट

नेपाली सिमेन्ट बजार प्रतिस्पर्धी हुन थाल्दा सस्तोमा गुणस्तरीय उत्पादन उपभोग गर्न पाइने स्थिति आएको छ। नेपाली उपभोक्तामा रहेको
'भारतीय सिमेन्ट नै राम्रो' भन्ने धारणा पनि बदलिसकेको छ। कमसल उत्पादन बजारमा टिक्दैन। सिमेन्ट ढुवानीमा जारी सिण्डिकेटका कारण उपभोक्ताले चर्को खरीद मूल्य चुकाउनु परिरहेको छ। यसमा सरकारी नियमन अत्यावश्यक भएको छ।

comments powered by Disqus

रमझम