१३-१९ भदौ २०७२ | 30 Aug - 5 Sep 2015

नियोजित अपराध

Share:
  
- बच्चु बिक, टीकापुर, कैलालीमा
साम्प्रदायिक दंगा फैलाउने षडयन्त्रले न नाबालक भन्यो न त राष्ट्रसेवामा अहोरात्र पसिना बगाइरहेका प्रहरीलाई नै छाड्यो।

तस्वीरहरुः बच्चु विक
गोली हानी मारिएका नाबालक टेकेन्द्र साउद (इन्सेट) की दिदी निकृति साथीहरुसँग।
धुम्मिएको ९ भदौ बिहान कर्फ्यू छल्दै छरछिमेकी सशस्त्र प्रहरी बलका हबल्दार नेत्रबहादुर साउदको टीकापुर नगरपालिका–९ स्थित घरआँगनमा जम्मा भएका थिए। छिमेकका दुई जना भाइ र बहिनी लुसुक्क आएर आँगनछेउमा थुपारिएका ढुङ्गामा बस्दा नेत्रकी पाँच वर्षीया छोरी निकृति पनि आमा यशोदाको हात छोडेर त्यहीं गइन्। ती दुई बालबालिकालाई घर पछाडिको मकैबारीतिर देखाउँदै निकृतिले भनिन्, “मेरो भाइलाई ऊ त्यहींबाट गोली हानेर ढाले।”

उनले यति बोल्नासाथ आँगनमा जम्मा भएका छिमेकी भक्कानिए। दुई सातादेखिको तनाव र तीन दिनदेखिको कर्फ्यूका कारण आफन्तजनहरू आउन सकेका थिएनन्, आएका जतिले डाँको छाडे। गोली लागेर मृत्यु भएका १८ महीने टेकेन्द्र साउद (टेकु) का आमाबुबालाई सान्त्वना दिन छिमेकी बल्ल आउन थालेका थिए। ७ भदौ दिउँसो २:१५ बजेतिर आँगनमा खेलिरहेका टेकुलाई गोली हानिएको थियो। भाइले चाउचाउ नदिएपछि रिसाएर ऊसँग खेल्न छोडेर ढोका नजिकैको बेञ्चमा बस्न गएकी निकृतिले मकैबारीबाट पेस्तोलले गोली हानेको र भाइ ढलेको देखेकी थिइन्। ९ भदौ बिहान त्यही प्रसंग निस्कँदा उनकी फुपू दुर्गाले डाँको छाडिन्, बुबा नेत्र दुईहातले अनुहार छोप्दै घरभित्र पसे।

लखेटी लखेटी हत्या

नेत्रका दाइ पूर्णबहादुर साउद पनि सशस्त्र प्रहरीकै नायव उपरीक्षक (डीएसपी) हुन्। त्यसकारण पनि, टीकापुर–९ स्थित नेत्रको घर 'सशस्त्र प्रहरीको घर' भनेर चिनिएको थियो। ६ प्रदेशको संघीय खाका आएदेखि नै आन्दोलनका कारण तनावग्रस्त बनेको पशुहाट बजार क्षेत्रमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीहरू यही घरमा आएर पानी पिउँथे, एकक्षण सुस्ताउँथे अनि ड्युटीमा जान्थे। त्यसैले, थरूहट/थारूवान संयुक्त संघर्ष समितिको नाममा आन्दोलनरत प्रदर्शनकारीहरूले यो साउद परिवारलाई 'टार्गेट' बनाएका थिए।

७ भदौमा पनि बिहान ड्युटी सकेर घर आएका नेत्र आँगनको एकछेउमा उभिएर फोनमा कुराकानी गर्दै थिए भने टेकु अर्कोछेउमा खेलिरहेका थिए। टेकुकी आमा यशोदा घरभित्रै काम गरिरहेकी थिइन्। त्यत्ति नै वेला गोली चल्यो। फायरिङ्ग सुन्नासाथ हेर्दा मकैबारीबाट गोली हानिरहेको देखेको नेत्र बताउँछन्। “सेकेण्डभरमा छोरालाई टिपेर घरभित्र लग्दा रगत बग्न थाल्यो, तुरुन्त भुईंमा राख्दा उसको प्राण गइसकेको थियो”, सशस्त्र प्रहरी हबल्दार नेत्र भन्छन्, “तालीमप्राप्त व्यक्तिले ताकेरै फायर गरेको हो।”

नियोजित देखिने यो अपराध बदलाको भावनाबाटै भएको टीकापुर इलाका प्रहरी कार्यालयका डीएसपी धनबहादुर खडायत बताउँछन्। नेत्रका छिमेकी पनि सुरक्षाकर्मीहरूको आउजाउ भइरहने यो घरमा थरूहट आन्दोलनकारीबाट ढुंगामुढा हुनसक्छ भनेर डराइरहेको बताउँछन्, तर भयो त्योभन्दा कता हो कता ठूलो अपराध। यो स्तरको अपराध राजनीतिक प्रदर्शनका लागि गाउँहरूबाट आएका थारू आन्दोलनकारीहरूबाट हुनै नसक्ने नाम उल्लेख गर्न नचाहने एक छिमेकी पुरुष बताउँछन्।

आन्दोलनकारीले ल्याएको पेट्रोलको बट्टा

सशस्त्र प्रहरी हबल्दार रामविहारी चौधरीलाई ज्यूँदै जलाएको ठाउँमा भेटिएको उनको जलेको लुगा

हत्यामा प्रयोग गरिएको एक हतियार।

पुरुषविहीन शिवशक्ति शिविर, टीकापुर कैलाली ।

नृशंस हमला

टेकु ढल्नुभन्दा ठीक एक घन्टाअघि सेती अञ्चल प्रहरी प्रमुख एसएसपी लक्ष्मण न्यौपाने ढलेका थिए– पशुहाटबजार चोकमा। एसएसपीसँगै इन्स्पेक्टरहरू बलराम बिष्ट र केशव बोहरा ढलेको त प्रहरीहरूले नै चाल पाएनन्। एसएसपी न्यौपानेले पशुहाटबजार क्षेत्रमा इन्स्पेक्टरद्वय बिष्ट र बोहरालाई खटाएका थिए। दिउँसो १ बजेतिर एसएसपी न्यौपानेले इलाका प्रहरी कार्यालयमा डीएसपी धनबहादुर खडायतसँग छलफल गर्दा आफू बढी प्रदर्शनकारी आएको दुर्गौलीतिर जाने बताएका थिए। “मलाई पशुहाट चोकतिर जानुस् भन्नुभयो”, डीएसपी खडायत एसएसपी न्यौपानेसँगको अन्तिम संवाद सम्झ्न्छन्, “पशुहाटतिर बढी मान्छे छन् भन्ने खबर आएपछि मलाई दुर्गौली पठाउनुभयो।”

पशुहाट चोकभन्दा सय मीटर अगाडिको शहीद चोकमा सशस्त्र प्रहरीको टोली तैनाथ थियो, जसले टीकापुर नपा क्षेत्रमा प्रवेश गर्नबाट नरोकेपछि आन्दोलनकारीहरू पशुहाट चोकमा खटिएको इन्स्पेक्टर बलराम बिष्टको टोलीसँग घचेटाघचेट गर्न आइपुगेका थिए। इन्स्पेक्टर बिष्टले 'ठूलो समूह छ, थप टोली चाहियो' भनेपछि एसएसपी न्यौपाने आफैं त्यहाँ आएका थिए। “अरू वेला आफैं जानुहुन्नथ्यो, तर त्यो दिन आन्दोलनकारी धेरै छन्, केही गडबड होला भनेर एसएसपीसा'प नै आउनुभयो”, उनका अंगरक्षक रहेका हबल्दार मानबहादुर मगरले हिमाल सँग भने।

हबल्दार मगरका अनुसार, त्यतिवेला एसएसपी न्यौपाने चढ्ने गाडी अर्को प्रहरी टोलीलाई छाड्न दुर्गौलीतिर गएको थियो। संयोगले त्यतिवेलै सशस्त्र प्रहरीका एसपी लक्ष्मण सिंह आइपुगे। एसएसपी न्यौपाने एसपी सिंहकै गाडी चढेर १ः१५ बजे पशुहाटचोक पुगेका थिए। सुरक्षा सम्बन्धी छलफलका लागि इलाका प्रहरी कार्यालय आएका टीकापुर इलाका प्रशासन कार्यालय प्रमुख सुमन धिताल पनि त्यही गाडीमा पशुहाटचोक पुगे। “समूह ठूलो छ, तपाईं गाडीमै बस्नुस्, म सम्झाउँछु भन्दै एसएसपी साप ओर्लिनुभयो”, धिताल भन्छन्, “तर, उहाँले सम्झाउँदा सम्झाउँदै भीडले घेरामा पारेर धकेल्न थालिहाल्यो।”

धकेलाधकेल शुरू भएपछि सशस्त्रका एसपी सिंह पछाडि हटे, एसएसपी न्यौपाने बीचमा परे। आन्दोलनकारीले ढुङ्गामुढा शुरू गरेपछि एसएसपी वरिपरि रहेका अंगरक्षक मानबहादुर मगरसहित ६ जना प्रहरीले आफूसँग भएको अश्रुग्याँस चलाए, तर त्यो अपर्याप्त भयो र केही काम गरेन। त्यसपछि एसएसपीले 'फायर खोल्न' आदेश दिए, तर, प्रहरीसँग हतियार थिएन। “सँगै रहेको सशस्त्रको टोलीले 'आदेश छैन' भन्दै फायरिङ्ग खोलेन”, मुश्किलले ज्यान जोगाएका हबल्दार मगर भन्छन्, “नेपाल प्रहरीका एसएसपीको आदेश सशस्त्रको टोलीले मानेको भए उहाँले मर्नुपर्ने थिएन।”

करीब १० मिनेट लाठी, भाला, हँसिया लगायतका घरेलु हतियार प्रहार झेलेपछि फुत्किन सकेका एसएसपी न्यौपानेलाई अंगरक्षक मगरले तानेर सडकबाट गाउँतिर लैजाँदै गर्दा पछाडिबाट भाटाले लागेपछि दुवै ढले। त्यहाँबाट उठेर उनीहरू धारामा नुहाउन बनाएको पर्खालमा लुके, टाउकोमा फिता बाँधेको आक्रामक समूह आइपुगिहाल्यो। “त्यहीं ढुंगामुढा भएपछि मकैबारीतर्फ भाग्न लाग्दा एसएसपीसा'पको खुट्टा पर्खालको बीचमा अड्कियो”, मगर भन्छन्, “उहाँको खुट्टा निकाल्न लाग्दा त्यहीं आएर जथाभावी हिर्काए।”

त्यहाँबाट जसोतसो उम्किएर रामधामी बर्माको आँगनमा पुगेपछि एसएसपी न्यौपानेले आफ्ना अंगरक्षकलाई 'भाइ, तिमी भाग' भने। उनी डेग चल्न नसक्ने गरी घाइते भइसकेका थिए। मगरले उनलाई तानेर घरभित्र लैजाँदै गर्दा आन्दोलनकारीहरू आइहाले। त्यहीवेला टाढाबाट हानेको ढुङ्गा एसएसपीको निधारमा लाग्यो र उनी त्यहीं लडे। एसएसपी सा'पलाई कुनै हालतमा बचाउन सकिन्न भन्ने भएपछि अंगरक्षक मगर ज्यान छाडेर आन्दोलनकारीहरूलाई लछार्दै मकैबारीतिर भागे। आक्रमणकारीहरू आइपुगेपछि कटेरामा लुकेकी रामधामी बर्माकी छोरी सुशीला भन्छिन्, “उहाँलाई भित्रबाट घिसार्दै बाहिर निकालेर मारे।”

एसएसपी न्यौपानेको शव लिन जाँदा उनको टाउकोसँगै सिलौटो र ढुङ्गा भेटिएको डीएसपी खडायतले बताए। उनका अनुसार, प्रदर्शनकारीहरूको अर्को समूहले इन्स्पेक्टर बलराम बिष्टलाई रामधामी बर्माको घरभन्दा १५ मीटर पूर्वतिर र एसएसपी न्यौपानेलाई बचाउन दौडेका इन्स्पेक्टर केशव बोहरालाई पश्चिमतिरको चउरमा भाला, लाठी र ढुङ्गाले टाउकोमा हिर्काएर मारे। सशस्त्र प्रहरीका एसपी सिंह र उनी मातहतको टोली त्यही बाटो भागेका थिए। आफ्ना एसपीसा'पमाथि आक्रमण गर्न आएको समूहलाई छेकिरहेका सशस्त्र प्रहरी हबल्दार रामविहारी चौधरीलाई भने आन्दोलनकारीहरूले एसएसपी न्यौपाने मारिएकै आँगनछेउमा नियन्त्रणमा लिए।

नजिकै मकैबारीमा सास रोकेर लुकेका घाइते हबल्दार मगरका अनुसार, आफ्नो अंगरक्षकलाई पेट्रोल छर्केर आगो लगाएपछि भने एसपी सिंह 'गोली हान्' भन्दै कराएका थिए, तर त्यतिञ्जेल सशस्त्र प्रहरीको टोली भागिसकेको थियो। १० भदौ दिउँसो घटनास्थल पुग्दा चौधरीलाई जलाउन पेट्रोल खन्याएको जर्किन र उनको जलेको कपडा त्यहीं थियो।

आन्दोलनकारीको आक्रमणबाट घाइते अवस्थामा भाग्दै आएर एसएसपी लक्ष्मण न्यौपाने लुकेको घर र सो घरको यही कोठा (तल) बाट आँगनमा निकालेर हत्या गरिएको बताउँदै घर धनी सुशीला बर्मा।

हत्या गरिएका बालक टेकेन्द्रका पिता नेत्र साउद ।

हत्या अघि र पछि

सम्भावित हूलदंगालाई लिएर चिन्तित एसएसपी न्यौपाने ५ भदौबाटै टीकापुरमा थिए। इलाका प्रहरी कार्यालयमै बसेर आन्दोलनकारी–सुरक्षाकर्मीबीच झ्डप हुन नदिन र शान्तिसुरक्षा कायम गर्न प्रयासरत उनी अनिंदो र धपेडीमा थिए। ७ भदौको बिहानै उठेर ६ बजे नजिकैको सिद्धार्थ होटलमा गएका उनी नुहाएर कोठा नं. १०५ मा करीब दुई घन्टा सुतेका थिए।

'राम्ररी नसुतेको धेरै दिन भइसक्यो, त्यहाँ (इप्रका) नुहाउन पनि समस्या छ, भरे साँझ् यहीं बस्न आउँछु' भन्दै ८ बजे सिद्धार्थ होटलबाट निस्केका एसएसपी न्यौपाने इप्रका फर्केर सुरक्षा बैठक राखेका थिए। उनले बिहान १० बजे डीएसपी खडायतसँग इप्रकाको मेसकै सादा खाना खाए। “निकै थकान र अनिद्रामा हुनुहुन्थ्यो, तीन/चार चम्चाभन्दा बढी खान पनि सक्नुभएन”, डीएसपी खडायत भन्छन्।

रातको कर्फ्यू र दिनको हडतालले सागसब्जी समेत नपाउने अवस्थामा एसएसपी न्यौपाने साँझ्मा बस्न आउँछु भनेपछि स्टाफहरूसँग सागजब्जी खोज्ने कुरा चलेको केही घन्टामै त्यस्तो डरलाग्दो घटना भएको सुन्नुपर्दा ठूलो खतराको अनुभव गरेको सिद्धार्थ होटलका म्यानेजर देव न्यौपाने बताउँछन्। त्यो घटनापछि टीकापुर बजारमा घरका ढोकाहरू नखुलेको उनले बताए। टीकापुर मात्र होइन, त्यसयता आसपास क्षेत्रका घरका ढोकाहरू पनि बन्द छन्। कसैले खोल्ने प्रयास पनि गरेका छैनन्। २२ साउनदेखिको हडताल र कर्फ्यूले उकुसमुकुस बनाएको जनजीवनलाई ७ भदौको घटनाले आतंकित पारेको छ।

सरकारले प्रदर्शन हुन नदिन निरन्तर लगाएको कर्फ्यूले जनजीवनलाई ज्यादै सकसमा पारेको छ। त्यस्तो अवस्थामा पनि ८ भदौमा पहाडीहरूको एउटा उग्र समूहले थारू समुदायको चारवटा घर जलायो। टीकापुर क्षेत्रमा अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गस्ती र गाडीहरू मात्र ओहोरदोहोर गरेको देखिन्छ। “त्यत्रा प्रहरी मारे, घर बाहिर निस्किसक्नु छैन”, टीकापुर–५ की ७१ वर्षीया लता देवकोटा भन्छिन्, “क्यार्नु, बन्दूकसँग डराउनै पर्दोरहेछ।”

टलक्क घाम लागेको ७ भदौको बिहान पनि टीकापुर बजार सुनसान थियो, आमहडतालले। साँझ् यस्तो भयावह भयो कि बजारवासी कति वेला बिहान होला र बाँचेको सास फेरुँला भनेर प्रार्थना गरिरहे। तर, भोलिपल्टको बिहानलाई कर्फ्यूले अर्थहीन बनाइदियो, जुन अझै जारी । टीकापुर र आसपासका बासिन्दा के रात के दिन सन्नाटाभित्र छट्पटाएर बस्न बाध्य छन्।

comments powered by Disqus

रमझम