८ भदौ। महेन्द्रनगरदेखि कैलालीको अत्तरिया पुग्दासम्म त ठीकै थियो, त्यसपछि भने राजमार्गमा फाट्टफुट्ट साइकल र पैदलयात्री मात्रै देखिन्थे। राजमार्ग दुवैतर्फका घरका ढोका समेत बन्द थिए। सडकको यस्तो मौनता अत्यासलाग्दो हुने रहेछ।
दुई घन्टाको मोटरसाइकल यात्रापछि बिहान १० बजे ११० किलोमीटर पूर्वको लम्की पुग्दा एउटा कस्मेटिक पसल आधा खुला देखियो। 'ज्यान जोगाउन गाह्रो छ, दायाँ–बायाँ हेरेर विस्तारै जानुहोला', पसले दिदीले सल्लाह दिइन्।
लम्की–टीकापुर १६ किलोमीटर सडक मात्र होइन, घर पनि सुनसान थिए। घरका ढोका बन्द थिए। झयालबाट कतै–कतै चियाइरहेका लाग्थे। गाडीका सिसा, टायरको धूलोले सडक विचित्रको देखिन्थ्यो।
टीकापुर टेकें। दिउँसै मध्यरातजस्तो, चकमन्न। कर्फ्यू, सुरक्षाफौजको गस्ती। टीकापुर एफएमको कार्यालय पुगें। र, समाचारकर्ममा जुटें। सुरक्षाकर्मी र पीडितसँग टेलिफोनमा मात्रै कुराकानी सम्भव थियो। कर्फ्यूबीच निस्केका स–साना पहाडे समुदायका भनिने समूहले थरूहट आन्दोलन परिचालन समितिका कैलाली क्षेत्र नं. १ का संयोजक रेशम चौधरीको फूलबारी एफएम, फूलबारी रिसोर्ट, सभासद् रामजनम चौधरीको घर र अन्य थारू नेताका चार वटा घरमा आगो लगाइसकेको थियो। फूलबारी एफएफमा लागेको आगो निभाउन सुरक्षाकर्मी आफैं दौडधूप गरिरहेका थिए।
प्रत्येक सुरक्षाकर्मीको अनुहारमा आफ्ना सहकर्मी बचाउन नसकेको पीडा झ्ल्किन्थ्यो। एकैपटक त्रास र आक्रोश पोख्थे। 'सशस्त्रले फायरिङ्ग खोलेको भए यस्तो हुने थिएन', जनपदका सबै यसै भन्थे। जनपदका मात्र होइन सशस्त्रका अधिकृत र जवान आफ्नै हाकीमसँग रुष्ट थिए। आक्रोश कतिसम्म थियो भने घटनापछि सशस्त्र प्रहरी गण पुगेको टोलीले एसपी लक्ष्मण सिंहकै अगाडि हतियार र लुगा फुकालेर फालेका थिए। र 'तपाईंकै कारण बडीगार्डलाई ज्यूँदै जलाइयो' भनेर आक्रोश पोखेका थिए।
९ भदौ बिहान। गाउँ जाने तयारीमा थियौं। तर, 'टीकापुर बजार क्षेत्र भन्दा बाहिर नजानुहोला, जे पनि हुन सक्छ' भन्ने सुरक्षाकर्मीको फोनले रोक्यो।
गोली हानी मारिएका डेढ वर्षीय टेकेन्द्र साउदको घर पुग्नैपर्ने थियो। टीकापुर चोकदेखि करीब २०० मीटरमा साउदको घर, त्यसैको ५० मीटर पश्चिममा पशुहाटबजार, जहाँ हिंसा भड्किएको थियो। घटनामा टेकेन्द्रका बुबा सशस्त्र प्रहरी हबल्दार नेत्र साउद पनि मारिएको हल्ला थियो, तर उनैले हामीलाई आफ्नो घर पुर्याए। त्यतिञ्जेल छिमेकी समेत उनको घर आएका रहेनछन्। पत्रकार देखेपछि छिमेकी पनि आए। घटनास्थल हेर्दा थाहा भयो, पाँच वर्षीया दिदी निकृतिसँग खेलिरहेका १८ महीना दुई दिनका टेकेन्द्रलाई तालीमप्राप्त व्यक्तिले ताकेरै गोली हानेका थिए।
पशुहाटबजार भन्दा २० मीटर उत्तरपूर्व गाउँमा एसएसपी न्यौपाने मारिएको घरमा पुग्दा क्रूरताको हद देखियो। न्यौपानेको टाउको अचानोमा राखेर ढुङ्गाको सिलौटोले हानिएको थियो। अचानो र ढुङ्गामा लतपतिएको रगत तेस्रो दिन पनि उस्तै थियो। त्यसैको १० मीटर उत्तर प्रहरी निरीक्षकद्वय बलराम बिष्ट र केशव बोहरा मारिएको ठाउँमा भाला र घरेलु हतियार छाडिएका थिए। छेउमै जलाइएका सशस्त्र प्रहरी उपरीक्षक सिंहका अंगरक्षक हबल्दार रामविहारी चौधरीका जलेका लुगा र पेट्रोलको जग पनि त्यहीं थियो। त्यतिवेलासम्म प्रहरीले मुचुल्का उठाउनै बाँकी थियो।
गाउँमा कसैका ढोका खुला थिएनन्। युवा र पुरुष दुर्लभ थिए। बाइकको आवाज सुन्नेवित्तिकै महिला र बालबालिका घर पछाडि भाग्थे। उनीहरूकै भाषामा कुरा गरेपछि मात्रै नजिक आउँथे। कति त कुराकानी गर्दागर्दै घटना सम्झेर धर्धरी रोए। आन्दोलनकारीले 'हाम्रो राज्य आउँछ। जागिर मिल्छ, जे पनि गर्न पाउँछौ' भन्ने हौवा फैलाएका रहेछन्। 'सुर्खेतमा मान्छे मरेपछि मात्रै राज्य दियो। यहाँ पनि दुई/चार जना प्रहरी मार्नुपर्छ। अनि मात्रै थरूहट राज्य हुन्छ' कतिपयलाई यसै भनिएको रहेछ।
गाउँ घुमेर टीकापुर फर्किंदा लम्की–टीकापुर सडकका ठाउँ–ठाउँमा सुरक्षाकर्मीले केरकार गरे। हामीले 'धनगढीबाट आएका हौं' भन्ने जवाफ दियौं। पुनः टीकापुर पुग्दा कर्फ्यू यथावत् थियो। मारिएका एसएसपी न्यौपानेका अंगरक्षक मानबहादुर मगरसँग लामो कुराकानी गरें। थाहा भयो, एसएसपी न्यौपानेले चाहेका भए सयौं आन्दोलनकारी मारेर आफू बाँच्न सक्थे। तर, उनले आफू मरेर अरूलाई बचाएछन्।
अहिले म महेन्द्रनगर फर्किएको छु, तर पनि मारिएका प्रहरी र ती अबोध बालकको अनुहारले सपनामा सताउन छाडेको छैन।